Successfully Copied

जाडोमा उपयोगी खानेकुरा

बाहिरी तापक्रम कम भएका कारण शरीरको तापक्रम ठीक राख्न शक्तिको (क्यालोरी) खर्च बढी हुन्छ यसकारण आवश्यकता बढी भएअनुसार माग पनि बढी हुन्छ र खाना बढी खान मन लाग्छ ।

शान्ता अस्थानी डाइटिसियन, ग्रान्डी इन्टरनेसनल हस्पिटल 

ग्रान्डी इन्टरनेसनल हस्पिटलकी डाइटिसियन शान्ता अस्थानीसँग जाडो मौसम र स्वस्थ खानपानका विषयमा गरिएको छोटो कुराकानी :-

जाडो मौसममा कस्तो खाना खानु उपयोगी हुन्छ ?

जाडो मौसममा सन्तुलित खाना (अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध, दही र चिल्लो समावेश भएको खाना) खानु आवश्यक छ । यतिबेला चिसो धेरै हुने भएकाले ताता खानेकुरा खानुपर्छ । तातो खानेकुराले शरीरलाई आवश्यक तापक्रम प्रदान गर्छ । मासु तथा तरकारीको तातो सुप, अमिला फलफूल जस्तै सुन्तला, मौसम, भोगटे, भिटामिन डीयुक्त खाना दूध, दहीका साथै प्रोटिनयुक्त माछा, मासु, अण्डा, गेडागुडी, दाल, भटमास आदिका परिकार खानु वेश हुन्छ । यसैगरी जाडो मौसममा शरीरलाई आवश्यक तागतिला खाना खानुपर्छ । 

जाडो मौसममा बढी भोक लाग्नुको कारण के होला ? 

गर्मीको तुलनामा जाडोमा बढी भोक लाग्छ । शरीरको रगतमा पोषणको मात्रा पर्याप्त हुँदा शरीरले तातो महसुस गर्छ । जाडोमा चिसोका कारण शरीरको तापक्रम कम हुने भएकाले रगतमा पोषणको मात्रा पर्याप्त नहुँदा शरीरले चिसो महसुस गर्छ । त्यसैले भोक धेरै लाग्छ । यसैगरी चिसोका कारण पानीको मात्रा कम हुने भएकाले खानाको मात्रा पनि बढ्छ । 

उमेरअनुसार कस्तो खाना खानुपर्छ ? 

उमेरअनुसार शरीरलाई आवश्यक पौष्टिक तत्वको मात्रा फरक हुने भएकाले खानाको मात्रा फरक पर्छ । जुनसुकै उमेरकाले पनि तातो खाना खानुपर्छ । यसले गर्दा शरीरमा आवश्यक तापक्रम प्राप्त हुन्छ । जाडो महिनामा चिसोले बढी नै सताउने भएकाले आफ्नो भोजनमा तातो तरकारीको सुप, मासुको सुप, गेडागुडीको सुप, तातो दूधका साथै फलफूलहरू समावेश गर्नु उपयुक्त हुन्छ । यसबाट शरीरमा रोगप्रतिरोधात्मक शक्ति प्राप्त हुन्छ ।

जाडोमा बढी खान रुच्ने तथा तौल बढ्ने कारण के होला ? 

बाहिरी तापक्रम कम भएका कारणले शरीरको तापक्रम ठीक राख्न शक्तिको (क्यालोरी) खर्च बढी हुन्छ यसकारण आवश्यकता बढी भएअनुसार माग पनि बढी हुन्छ र खाना बढी खान मन लाग्छ । जाडोमा रगतमा पोषणको मात्रा पर्याप्त नहुँदा शरीरले चिसो महसुस गर्ने भएकाले भोक धेरै लाग्छ । यो मौसममा बस्ने–खाने काम बढी तथा शारीरिक व्यायाम कम हुन्छ । खानाको डोज बढाइए पनि व्यायाम नगर्दा भने तौल बढ्छ । जाडोमा खानाको मात्रा बढ्ने भएकाले दिनहुँ एक घन्टा व्यायाम गर्नुपर्छ । 

 Image