Successfully Copied

विष्णु माझीका केही तथ्य

गायिका विष्णु माझी र गायक तथा संगीतकार सुन्दरमणि अधिकारीबीच विवाह भएको पुष्टि भएको छ । २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा उनीहरूले सुटुक्क विवाह गरेका थिए ।

सुन्दरमणिसँग विवाह 

गायिका विष्णु माझी र गायक तथा संगीतकार सुन्दरमणि अधिकारीबीच विवाह भएको पुष्टि भएको छ । २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा उनीहरूले सुटुक्क विवाह गरेका थिए । त्यसका साथै उनीहरूले तत्कालीन लेखनाथ नगरपालिकाको वडा नम्बर–९ हालको पोखरा महानगरपालिका वडा नम्बर–३१ को कार्यालयमा २०६९ मंसिर ५ गते विवाह दर्ता गरेको प्रमाण वडा कार्यालयमा सुरक्षित छ । 

 

सर्वाधिक महँगी गायिका 

गायिका विष्णु माझी गुमनाम छिन् तर उनी लोकदोहोरी क्षेत्रकी सर्वाधिक महँगी गायिका हुन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि ५० हजार रुपैयाँ लिने गरेकी छिन् । यदि कसैले ४९ हजार ९ सय ९९ सय रुपैयाँ दियो भने पनि उनी त्यो रकम बुझ्दिनन् । विष्णु माझीको पारिश्रमिक अत्यधिक भएकाले एकदमै थोरैले मात्र उनीबाट गीत रेकर्ड गराउने सामथ्र्य राख्छन् । स्रोतका अनुसार माझीले महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् । उनी निकट एक व्यक्ति भन्छन्, ‘महिनामा कम्तीमा २ लाख रुपैयाँ कमाउनुहुन्छ, किन मिडिया चाहियो ? किन चाहियो फ्यान ?’

 

जुम्ल्याहा सन्तानकी आमा 

गायिका विष्णु माझीले तीन वर्षअघि जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । उनी सुत्केरी हुँदा झन्डै तीन महिना जति बेगनास गएर बसिन् । त्यतिबेला बच्चा हुर्काउन सजिलो हुने भएकाले उनी गाउँमै लामो समय बसेकी थिइन् । 

ससुराको किरिया बस्न पोखरा 

डेढ वर्षअघि विष्णुका ससुरा तथा सुन्दरमणिका बुवा विष्णुप्रसादको निधन भयो । ससुराको निधन भएपछि विष्णु पनि श्रीमान् सुन्दरमणिसँगै किरिया बसेकी थिइन् । 

 

कामप्रति जिम्मेवार 

विष्णु माझीले आफ्ना समर्थकलाई नभेटेको र सार्वजनिक स्थानमा देखा नपरेकाले उनमा ठूलो घमण्ड छ भन्ने धेरैले अनुमान लगाउन सक्छन् । साथै रेकर्डिङमा पनि पर्याप्त समय दिन्नन् भन्ने लाग्न सक्छ । यद्यपि विष्णु माझी कामप्रति भने निकै जिम्मेवार रहेको संगीतकर्मीहरू बताउँछन् । उनले गीत रेकर्ड गर्ने क्रममा सुन्दरमणि प्राय:जसो सँगै हुन्छन्, जसले गर्दा कतै केही बिग्रियो भने सुन्दरमणिले औंल्याइदिएपछि उनले सच्याएर गाउने एक संगीतकारले बताए । यतिमात्र होइन कहिलेकाहीँ कुनै गीत दोहोर्‍याएर रेकर्ड गराउनुपर्‍यो भने पनि विष्णु सहजै रेकर्डिङ स्टुडियोमा आएर गीत गाउँछिन् । यसका साथै विष्णु माझीले कुनै पनि गीतलाई प्रशस्त समय समेत दिन्छिन् ।

 

कुर्ता सुरुवाल लगाएर रेकर्डिङ स्टुडियो 

विष्णु माझी रेकर्डिङ स्टुडियोमा प्राय:जसो कुर्ता सुरुवालमै आउने एक स्रोतले बताएको छ । यसका साथै उनी बाहिर निस्कँदा अनुहारमा आँखा बाहेक सबै भाग कपडाले छोपेर हिँड्छिन् । 

 

एउटा मात्र फोटो 

विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् । 

साभार: साप्ताहिक

 Image