Successfully Copied

इभेन्ट म्यानेजमेन्टमा अब्बल मञ्जु

‘महिलाका लागि यो पेसा त्यति सहज छैन’–मञ्जुले भनिन्– ‘महिलाले पनि यस्तो काम गर्ने भन्ने सोच अझै हराएको छैन तर म यही काममा खुसी छु, किनभने यो मेरो रुचिको विषय हो ।’ इभेन्ट म्यानेजमेन्ट पेसामा समयको निश्चितता हुँदैन, जटिल किसिमका चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ,

१२  वर्षदेखि इभेन्ट म्यानेजमेन्टमा आबद्ध मञ्जु श्रेष्ठले समाजशास्त्रमा स्नातक गरेकी छिन् । अमेरिकामा हालसालै सम्पन्न एञ्जल्स अन द फ्लोरको पाँचौं संस्करण सिध्याएर नेपाल फर्किएकी मञ्जुले भारतका विभिन्न म्यानेजमेन्ट कम्पनीसँग मिलेर थुप्रै म्युजिकल इभेन्ट, फेसन शोज, ब्युटी प्याजेन्ट, मोडल हन्ट आदि अफिसियल इभेन्ट, प्रोडक्ट लन्चिङ तथा टिम बिल्डिङ वर्कसप सम्पन्न गरिसकेकी छिन् । सल्भ एन्ड सलुसनअन्तर्गत आर एन्ड आर  ग्रुपकी संस्थापक अध्यक्ष मञ्जुले नेपालमा करिब ५ सय वटा इभेन्ट म्यानेजमेन्टको काम गरिसकेकी छिन् । आर एन्ड आर  ग्रुपले यही वर्षदेखि अमेरिकामा आधिकारिक कम्पनी दर्ता गरी आफ्नो कामलाई फराकिलो बनाएको छ ।

‘महिलाका लागि यो पेसा त्यति सहज छैन’–मञ्जुले भनिन्– ‘महिलाले पनि यस्तो काम गर्ने भन्ने सोच अझै हराएको छैन तर म यही काममा खुसी छु, किनभने यो मेरो रुचिको विषय हो ।’ इभेन्ट म्यानेजमेन्ट पेसामा समयको निश्चितता हुँदैन, जटिल किसिमका चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ, रातविरात काम गर्नुपर्ने हुन्छ । यिनै कारणले यो पेसा जटिल छ । मोडलिङ हन्ट, ठूला फेसन शोज तथा म्युजिकल शोजमा काम गर्दा मञ्जुलाई बढी आत्मसन्तुष्टि मिल्छ । 

यसमा उनी आफू र आफ्नो कलालाई बढी एक्स्प्लोर गर्न पाउँछिन् । यस्ता इभेन्टको माध्यमबाट नयाँ अनुहारहरूले आफूलाई मार्केटमा स्थापित गर्ने अवसर प्राप्त गर्छन् । नेपालमा यो क्रमश: सम्मानित पेसाका रूपमा स्थापित हुँदैछ । मञ्जुका अनुसार दक्ष इभेन्ट म्यानेजर हुन सिर्जनशील अवधारणालाई कार्यान्वयन गर्न सक्ने क्षमता हुनुका साथै राम्रो जनसम्पर्क र बलियो नेटवर्किङ आवश्यक हुन्छ ।

मञ्जुले भूकम्पको समयमा इभेन्टबाट उठेको पैसाले भूकम्पपीडितहरूलाई सहयोग गरेकी छिन् । त्यति मात्र नभएर उनले दार्चुला, हुम्लालगायतका विकट ठाउँका बालबालिकाहरूको पढाइमा समेत सहयोग गर्दै आएकी छिन् । मञ्जुले केही वर्षअघि ट्रेन्ड फेयर चलाएर त्यसबाट उठेको सम्पूर्ण पैसा दृष्टिविहीनहरूलाई सहयोग गरेकी थिइन् । आगामी योजनाका सम्बन्धमा श्रेष्ठ भन्छिन्–‘अब हामी छिट्टै महिला स्वास्थ्यका क्षेत्रमा काम गर्ने योजनामा छौं । हामी दुर्गम बस्तीका महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि नि:शुल्क स्वास्थ्य शिविर चलाउँदैछौं ।’ मञ्जु प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न इभेन्टलाई कसरी नयाँपन दिने भन्ने कुरामा निकै मेहनत गर्छिन् भने कामको गुणस्तरमा कहिल्यै सम्झौता गर्दिनन् ।

 Image