संकल्प र भिजन भए सफलता टाढा छैन्

सिर्जना दुवाल श्रेष्ठ

पुस १४, २०७५

शर्मिला शाक्य

कलाकार

सफलताका लागि चाहना, कामप्रति भिजन र धैर्य हुनुपर्छ । यी तीन गुण नभई कोही पनि सफल हुन सक्दैन । यी तीनै गुण भएकै कारण दुई छोरा जन्मिएपछि मात्र धातु मूर्तिकला विधाको फेस पेन्टिङमा लागेकी हुन्–शर्मिला शाक्य । उनी जन्मिएर हुर्किएको घर, परिवार तथा समाज कला नै कलाले भरिएको थलो हो । पाटनको वकुबहाल धातुकलाको सुरुवाती समयदेखि अहिलेसम्म पनि उत्कृष्ट कला सर्जकको स्थलका रूपमा परिचित छ । शर्मिलाका बुवाको धातुका मूर्तिको पसल थियो भने उनका बाजे पनि मूर्ति नै बनाउँथे । शर्मिला स्कुल पढ्दादेखि कलाप्रति रुचि राख्थिन् तर यसरी कलाकारितामै लागिन्छ भन्ने सोच भने पटक्कै थिएन । एक त त्यतिबेला छोरी–बुहारीले घरबाहिर गएर काम गर्ने चलन थिएन ।

शर्मिला अक्षेश्वर महाविहारमा थान्का पेन्टिङ सिक्न पुगेकी थिइन् । त्यहाँ उनले अग्रज कलाकारहरूसँग संगत गर्ने अवसर पाइन् । कलामा रमाउने शर्मिलाको विवाह यस्तो घरमा भयो कि जुन घर धातुको मूर्ति कलाका लागि देश–विदेशमा चर्चित थियो । बोधिराज र सिद्धिराजको परिवारमा बुहारी भएर गएकी शर्मिला ससुराका मूर्ति, श्रीमान् र दाजुहरूको काम देखेर दंग पर्थिन् । श्रीमान्कै पहलमा उनी सुमेरु कला ग्रुपमा फेस पेन्टिङ सिक्न पुगिन् । कोर्स सकेर पनि यसैलाई कामका रूपमा अघि बढाउने सोच थिएन । कलाप्रतिको रुचिले गर्दा शर्मिलाले घर नजिकै नेपालमा बडी पेन्टिङ सुरु गर्ने कलाकार भीम शाक्यको घरमा कोठा लिएर काम सुरु गरिन् जहाँ उनीसँग सिकेका अन्य ३ जनाले पनि सँगै काम गर्न थाले । उनी आफ्नो काम घरमा ल्याएर श्रीमान् र उनका कलाकार साथीहरूलाई देखाएर फिडब्याक लिन्थिन् ।

बाहिरबाट धेरै अर्डर आए पनि घरका मूर्तिमा फेस पेन्टिङका लागि उनले ५ वर्ष कुर्नुपर्‍यो । उनलाई थाहा थियो, घरको मूर्तिमा काम गर्न सक्नु भनेको उनको काममा उत्कृष्टता आउनु हो । बाजे, बुवाहरूले धातुको मूर्तिमा कमाइरहेको नाम बिग्रन्छ भन्ने डरले नै शर्मिलालाई काम दिन हिचकिचाउँथे । अहिले उनको काममा १३ जना सहयोगी छन् । अहिले उनकोमा थुप्रै काम आइरहेका छन् तर उनी संख्यात्मक भन्दा गुणात्मक काममा विश्वास राख्छिन् । कमान्डिङ र कन्भिन्सिङ पावर भएकी शर्मिलाले आफ्नो ग्रुपको नाम नै टिम राखेकी छिन् ।

फेस पेन्टिङमा काम गरेर नाम र दाम कमाउन थालेपछि धेरैजसो यो काम सजिलो मानेर आइरहेका छन् । यद्यपि जसको आर्टमा दख्खल छैन, आर्ट हेर्नै सक्दैन । उसले यसमा राम्रो काम दिनै सक्दैन भन्दै शर्मिला भन्छिन्, सुरुमा मैले आर्थिकस्थिति कमजोर भएका वा आर्टमा दख्खल भएकाहरू छानेर सिकाउँदै काम गराउन थालें । यसमध्ये जोसँग भिजन छ उसलाई प्लस प्वाइन्ट भएको छ । उनले उनीहरूको काम हेरेर कसैलाई बडीमा सुन लेपन, कसैले लिप, कसैलाई आई, कसैलाई बडी पेन्टिङको जिम्मा दिंँदै काम गर्ने वातावरण बनाइदिएकी छिन् ।

सुनको काम भएकाले राम्रो काम गर्नेहरूलाई फाइदा पनि राम्रैधेरै हुने उनले बताइन् । उनको सबैभन्दा गौरवको क्षण भनेको आफ्ना श्रीमान् विजयरत्न शाक्यको मास्टर पिसमा फेस पेन्टिङ गर्न पाउनु हो । उनले गोल्डेन टेम्पलको बुद्धको मूर्तिमा पनि रिनोभेसन गरी पेन्टिङ गरेकी छिन् । सयौं फेस पेन्टिङ गरिसकेकी शर्मिलाको काम अमेरिका, यूरोप तथा चीनसम्म पुगिसकेको छ । फेस पेन्टिङप्रतिको धैर्य कै कारण अहिले उनी धातुको मूर्तिमा फेस पेन्टिङ गर्ने राम्रो कलाकारका रूपमा परिचित छिन् ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्