Successfully Copied

# Me Too अभियानको रन्को

मिटु ह्यासट्याग राखी आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जालमा भाइरल गराउँदै दोषीलाई कठघरामा उभ्याउने यो अभियान ९० भन्दा बढी देशमा सशक्त रूपमा देखापरेको छ ।

महिलामाथि यौनहिंसा महिलाले नै गुपचुप राख्नुपर्ने बाध्यता एउटा विश्वव्यापी अभियानले उदाङ्गो पारिदिएको छ । जसको प्रभाव अमेरिका, भारत हुँदै नेपाली समाजमा समेत देखापर्न थालेको छ । सामाजिक संजालबाट सुरु भएको #Me Too अर्थात् ‘मिटु’ (म पनि) अभियानले अहिले विश्वभर तहल्का पिटिरहेको छ । विशेषगरी महिला कलाकार तथा पत्रकारहरूले आफूमाथि वर्षौंअघि भएको यौन दुव्र्यवहारका घटनाहरू सार्वजनिक गर्दै यो अभियानलाई सशक्त बनाउन मद्दत पुर्‍याइरहेका छन् ।

हलिउड फिल्म उद्योगबाट सुरु भएको यो अभियानले बलिउडमा ठूलो सनसनी मच्चाइरहेको छ । मिटु ह्यासट्याग राखी आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जालमा भाइरल गराउँदै दोषीलाई कठघरामा उभ्याउने यो अभियान ९० भन्दा बढी देशमा सशक्त रूपमा देखापरेको छ । ‘जस्टिस फर निर्मला’ अभियानले नेपालमा प्रभाव जमाउन नसकिरहेका बेला आएको मिटु नेपाली कलाकार, व्यवसायी एवं राजनीतिज्ञहरूका लागि टाउको दुखाइ बनिरहेको छ । कांग्रेस नेतृ डा. डिला संग्रौलाले यो अभियानलाई नेपालमा सशक्त बनाउन आह्वान गरिसकेकी छिन् । उनले भनेकी छिन्–‘यो अभियानलाई नेपालमा पनि पछ्याउँदै आफूमाथि भएका यौनहिंसाको उजागर गरौं, दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन आजैदेखि दबाब बढाऔं ।’

यो अभियानसँगै कस्तो व्यवहारलाई मिटु मान्ने र कस्तो घटनालाई नमान्ने भन्ने बहससमेत चलिरहेको छ । यो अभियान इगो साँध्ने माध्यम बनिरहेको भनेर आलोचना पनि भैरहेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको एक तथ्यांकअनुसार यो अभियान सुरु भएको एक वर्षको बीचमा अमेरिकामा २ सयभन्दा बढी मानिसको रोजगारी गुमेको छ । तथ्यांकअनुसार २ सय १ पुरुषको विषयमा सार्वजनिक भएको यौन दुव्र्यवहारको घटनासँगै उनीहरूको रोजगारी गुमेको हो । बलिउडमा अभिनेतृ तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएपछि अन्य अभिनेतृहरूले समेत आफूसँग भएका घटना सार्वजनिक गर्न थाले ।

चर्चितहरू विवादमा 

मिटु अभियानले विश्वव्यापी रूप लिँदै गएपछि अनेकन सेलिब्रेटी तथा भीआइपीहरू विवादमा तानिन थालेका छन् । बलिउड अभिनेता नाना पाटेकर र आलोकनाथ भारतमा यसको पहिलो सिकार भए । बलिउड गायिका चिन्मयी श्रीपदाले गरेको ट्विटका कारण श्रीलंकाका तीव्र गतिका बलर अर्थात् क्रिकेटर लसिथ मलिङ्गासमेत विवादमा तानिए ।

यौन उत्पीडनको आरोप लागेका भारतका केन्द्रीय विदेश राज्यमन्त्री तथा पूर्वपत्रकार एमजे अकबरले पदबाटै राजीनामा दिनुपर्‍यो । अकबरमाथि सञ्चार माध्यममा सँगै काम गर्ने महिलाहरूलाई यौन उत्पीडित गरेको आरोप थियो । उनलाई आठजना महिलाले त्यस्तो आरोप लगाएका छन् । 

पूर्वशिक्षिका क्याथरिन मायोर्गाले विश्वचर्चित फुटबल स्टार क्रिस्चियानो रोनाल्डोमाथि बलात्कारको आरोप मिटुबाटै प्रभावित भएर लगाएको रहस्य सार्वजनिक भयो । यौन उत्पीडनको आरोप लागेपछि बलिउडको सेलिब्रेटी व्यवस्थापन एजेन्सी क्वान इन्टरटेनमेन्टका सह–संस्थापक अनिर्बन दास ब्लाहले आत्महत्या नै गर्ने प्रयास गरे । 

चर्चित लेखक चेतन भगतमाथि दुई महिला पत्रकारले यौन शोषणको आरोप लगाए । पछि भगतले माफी माग्नुपर्‍यो । अभिनेता रजत कपूरमाथि एक महिला पत्रकारले गलत व्यवहार गरेको आरोप लगाएपछि उनले तत्कालै माफी मागे । पत्रकार नताशा हेमरजानीले ट्विटरमार्फत गायक कैलाश खेरविरुद्ध पनि यौन उत्पीडनको आरोप लगाइन् ।

टाइम म्यागजिनले द साइलेन्स ब्रेकर्स अर्थात् मौनता तोड्नेहरूलाई वर्ष व्यक्ति बनाएर १० जनाको नाम नै सार्वजनिक गरिसकेको छ । यो अभियानले विश्वभरका चर्चित राजनीतिज्ञ, पत्रकार, कलाकार तथा व्यवसायीहरूलाई अप्ठ्यारो स्थितिमा पुर्‍याइरहेको छ । 

नेपालमा मिटुको हलचल 

विश्वव्यापी रूपमा तहल्का मच्चाइरहेको मिटु अभियान नेपालमा प्रभावकारी हुन नसके पनि केही व्यक्ति विवादमा तानिएका छन् । नायिका बेनिसा हमालले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै एउटा बैंकका सिइओलाई विवादमा तानिन् । आठ वर्षअघिको अनुभव सुनाउँदै हमालले एउटा बैंकका लागि फोटो सुट गराउने क्रममा बैंकका सिइओले नगरकोट जाने प्रस्ताव राखेको रहस्योद्घाटन गरेकी थिइन् ।

बेनिसाको घटनाभन्दा पनि पत्रकार रश्मिला प्रजापतिको प्रसंगले नेपालमा हलचल नै मच्चाइरहेको छ ।

१५ वर्षअघिको घटना 

कोट्याउँदै उनले प्रदेश नम्बर ३ का पूर्वमन्त्री तथा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितले यौनहिंसा गरेको अभियोग लगाइन् । त्यस्तै पूर्वपत्रकार उज्जला महर्जनले पनि स्थापितबाट यौन उत्पीडनको सिकार भएको खुलाइन् । 

                                                (एजेन्सीहरूको सहयोगमा)

 Image