Successfully Copied

युरोपमा मायाको प्रस्तुती

बेल्जियममा युरोप नेपाल कलाकार संघ र मगर समाज बेल्जियमले छुट्टाछुट्टै कार्यक्रममा मायालाई उभ्याए । बेल्जियमको चिसो मौसमलाई तताउन उनको गीतले सघाएको थियो । उनले मोना स्पेनले बार्सिलोनामा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा समेत गीत सुनाइन् ।

 

पोखरेली गायिका माया पुनले युरोपका विभिन्न देशमा सांगीतिक प्रस्तुति राखेकी छन् । लोकपप शैलीको गीतबाट पहिचान बनाएकी पुनले म्याग्दी प्रवासी नेपाली संघ (मोना) को संयोजनमा नेदरल्यान्ड्स, स्पेन र बेल्जियममा भएका कार्यक्रममा नयाँ पुराना गीत प्रस्तुत गर्दै दर्शकलाई झुमाएकी हुन् । 

गत हप्ता गैरआवासीय नेपाली संघ र मोनाले नेदरल्यान्ड्समा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे । सांगीतिक कार्यक्रममा गायिका पुनले आफ्ना गीत ‘झ्याउँ किरी’, ‘पोखरेली ठिटी’, ‘सालको पात’ गाएर दर्शक नचाइन् । पञ्चेबाजाको धुनमा पप गीत फ्युजन गरिएको ‘सालको पात’ दर्शकले रुचाए । मोना नेदरल्यान्ड्सका अध्यक्ष जंग पुनले मायाको गीतमा म्याग्दीकै स्वाद भेटिने बताए । मोना अन्तर्राष्ट्रिय समितिका सांस्कृतिक संयोजक समेत रहेका उनले युरोपमा भएका कार्यक्रमको संयोजन गरेका थिए । 

बेल्जियममा युरोप नेपाल कलाकार संघ र मगर समाज बेल्जियमले छुट्टाछुट्टै कार्यक्रममा मायालाई उभ्याए । बेल्जियमको चिसो मौसमलाई तताउन उनको गीतले सघाएको थियो । उनले मोना स्पेनले बार्सिलोनामा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा समेत गीत सुनाइन् । ‘युरोपका नेपालीको संगीतप्रतिको मोह देखेर अचम्म लाग्यो,’ युरोपबाट पोखरा फर्किएकी उनले भनिन । म्याग्दीमा जन्मिएर पोखरालाई कर्मथलो बनाएकी उनी समाजसेवामा समेत सक्रिय छिन् । 

 Image