Successfully Copied

बेचबिखन बिरुद्ध सुनीता दनुवार

उतिबेला हामीलाई नेपाल फर्काए एचआईभी संक्रमण फैलिने र समाज दूषित हुने सोच बोकेको सरकार आज प्रभावितहरूको रोकथाम, संरक्षण, पुनस्र्थापना एवं सीप विकासका कामलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।’

विगत २२ वर्षदेखि मानव अधिकारका क्षेत्रमा कार्यरत ४१ वर्षीया सुनीता दनुवार कांशीकात गा.वि.स. दैलेखका गंगा र चन्द्रकला वनका १० सन्तानमध्येकी एक हुन् । दैलेखबाट भारत पसेको परिवारसँगै सुनीताले आफ्नो बाल्यकाल उतै बिताइन् । पटक–पटक भारतका विभिन्न स्थानमा बेचबिखनमा परेकी दनुवार आफ्नै अनुभव तथा आफूमा परेको दर्दनाक घटनाका कारण अरुले यस्तो कष्ट भोग्नु नपरोस् भनेर यो क्षेत्रमा लागेकी हुन् । उतिबेला बेचबिखनमा परेकाहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि नेपाल सरकार सहमत थिएन तर अहिले यस्ता सयौं कार्यक्रम सरकारी तवरबाटै सञ्चालित छन् जुन सुनीता समेतको अथक परिश्रमको परिणाम हो ।

सन् १९९६ मा शक्ति समूह नामक संस्था खोली बेचबिखन भनेको दिल्ली–मुम्बई र कलकत्ताका कोठीमा चेली बेच्ने कृयाकलाप मात्र होइन विभिन्न प्रयोजनका लागि स्वदेश तथा विदेशमै पनि गरिने प्रयोग हो भन्ने नयाँ अभियान सुरु गरेकी दनुवार हालसालै मात्र अमेरिकाबाट ‘ट्राफिकिङ इन सर्पन रिपोर्ट–२०१८’ नामक अवार्ड लिएर स्वदेश फर्किएकी छिन् जुन अवार्डका लागि विश्वका १ सय ८० मुलुकमध्ये १० वटा राष्ट्र मात्र छनोटमा परेका थिए ।

दक्षिण एसियाबाट यो अवार्ड थाप्ने एक्ली महिला सुनीता छनोटमा परेका ४ जना प्रभावितमध्ये एक्ली ‘सेक्सुअल ट्राफिकिङ सर्भाइभर’ हुन् । यसअघि उनले ताइवानको १ लाख अमेरिकी डलरसहितको ‘एसिया डेमोक्रेसी ह्युमेन राइट्स अवार्ड’ प्राप्त गरेकी थिइन् भने त्यसअघि सन् २०१५ मा भारतको ‘वल्र्ड वुमन लिडरसीप अचिभमेन्ट अवार्ड’ तथा सन् २०१४ मा स्वीडेनको सिन्टेन अवार्ड प्राप्त गरेकी थिइन् ।

बेचबिखनका विषयमा सोच परिवर्तन गराउन सक्नु, यससम्बन्धी नीति–नियम र कानुन बन्नु, सानो तहबाट खोलिएको शक्ति समूहले हाल मुलुकभर सेवा पुर्‍याउनु, आफू सरकारी तथा गैरसरकारी संयन्त्रमा आबद्ध भएर प्रभावितहरूको आवाज उठाउन र सुनुवाइ गर्न सक्नु मात्र नभई हाल संस्थामा आबद्ध ६ सयभन्दा बढी प्रभावितलाई कुनै न कुनै रूपमा सबलीकरण र सशक्तीकरण गर्न सक्नु आफ्नो उपलब्धि भएको सुनीता बताउँछिन् । दनुवारकै अवधारणामा सुरु भएको ‘साहसी युवती’ समूहमा आबद्ध दुई जनाले अन्तर्राष्ट्रिय टुर गाइडको लाइसेन्स प्राप्त गरिसकेका छन् भने अरू केही लाइसेन्सको अन्तिम चरणमा पुगेका छन् ।

सुरुदेखि नै बेचबिखन प्रभावितको अधिकार संरक्षण तथा राष्ट्रियकरणकालागि पहल गरें । यससम्बन्धी नीति निर्माणमा लामो संघर्ष गर्नुका साथै प्रभावितहरूको आवाज अन्तर्राष्ट्रिय स्तरसम्म बुलन्द गर्न कुनै कसर बाँकी राखिन’–हाल देखिएको उपलब्धिका पछाडि ठूलो पहाड पार गरेको कथा सुनाउँदै सुनीताले भनिन्–‘अभियान सुरुवाततिर गाउँ–गाउँमा चेतनामूलक सडक नाटक देखाउँदै हिँडियो कलाकार भएर ।

उतिबेला हामीलाई नेपाल फर्काए एचआईभी संक्रमण फैलिने र समाज दूषित हुने सोच बोकेको सरकार आज प्रभावितहरूको रोकथाम, संरक्षण, पुनस्र्थापना एवं सीप विकासका कामलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।’ मानव बेचबिखन न्यूनीकरणका लागि सरकारले महिला, किशोर–किशोरी तथा युवा लक्षित रोजगार एवं आर्थिक सशक्तीकरण नीतिलाई पहिलो नम्बरमा राख्नैपर्ने बताउने सुनीता उनीहरूलाई क्षमतानुसारको रोजगारी तथा आयमूलक काममा लगाउनुको विकल्प देख्दिनन् । जतिसुकै बाधा–व्यवधान आए पनि आफ्नो लक्ष्यलाई पछ्याएर त्यसमै निरन्तर लाग्न सके कुनै पनि महिला सफल हुन्छन् भन्ने सुनीता श्रीमान् नृपकुमार, छोरा सुशान तथा छोरी स्वस्तिकाका साथ काठमाडौंमा बस्दै आएकी छिन् ।

                                  संस्थापक सदस्य तथा कार्यकारी निर्देशक–शक्ति समूह

 Image