Successfully Copied

सुरक्षामुखी मोबाइल एप्लिकेसन

भारतका महिलाले टेल–टेल, बि सेफ, सेफ्टी पिन, ट्याक्सी पिक्सी, स्क्रिम अलार्मजस्ता मोबाइल एप्लिकेसन एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उत्तिकै प्रयोग गरेको पाइएको छ । नेपालमा यस्ता एप्लिकेसन धेरै छैनन् ।

अहिले महिला हिंसाका घटना दिनहँुजसो पत्रपत्रिकाका हेडलाइन बन्ने गरेका छन् । यस्तो अवस्थामा स्मार्टफोनलाई आफ्नो सुरक्षाको माध्यम बनाउन प्रेरित गर्न सफ्टवेयर डेभलपर तथा सामाजिक संस्थाहरू लागिपरेका छन् । भारतकै ट्रेन्ड हेर्ने हो भने पनि आफूलाई असुरक्षित महसुस गरेका महिलाले एक बटन थिचेको भरमा नजिकका तीन व्यक्तिलाई अलर्ट र स्थानको विवरणलगायतको जानकारी दिने दर्जनौं एप्लिकेसन छन् । संसारभर यो ट्रेन्ड बढ्दो छ ।

भारतका महिलाले टेल–टेल, बि सेफ, सेफ्टी पिन, ट्याक्सी पिक्सी, स्क्रिम अलार्मजस्ता मोबाइल एप्लिकेसन एन्ड्रोइड तथा आइओएस दुवै प्लेटफर्ममा उत्तिकै प्रयोग गरेको पाइन्छ । नेपालमा यस्ता एप्लिकेसन त्यति धेरै छैनन् । भएका त्यस्ता एपका सम्बन्धमा पनि धेरैलाई ज्ञान नहँुदा आपत्कालीन अवस्थामा अरूको सहयोग प्राप्त गर्नबाट वञ्चित भएका घटना हाम्रै वरिपरि छन् ।

यहाँ हामी महिला सुरक्षालाई लक्षित गरी उज्यालो फाउन्डेसनले निर्माण गरेको मोबाइल एप्लिकेसन ‘निडर’ का बारेमा चर्चा गर्दैछौं । अंग्रेजी वा नेपाली भाषा प्रयोग गर्न सकिने र अकाउन्ट बनाउन मोबाइल नम्बर वा फेसबुक जे भए पनि हुने निडर एप्लिकेसनको इन्टरफेस सहज छ । एकछिनको प्रयोगमै जोकोही यसमा पोख्त हुन सक्छन् । आफूलाई मन लागेको पूर्वनिर्धारित सन्देश टेम्प्लेटबाट छानी आपत् परेका बेला आफ्ना निकटका दुईदेखि ६ जनासम्मलाई जानकारी दिन यसले सहयोग गर्छ । यसको एसएमएस सेवा नि:शुल्क भने छैन ।

यसका अतिरिक्त एप्लिकेसन नखोली फोन भाइब्रेट नहुन्जेल पावर बटन थिचेर तत्काल उद्धारका लागि आह्वान गर्न पनि यसले मद्दत गर्छ । आफू जोखिमपूर्ण अवस्थामा परेका बेला आफू वरपर भएकाहरूलाई सचेत गराउन यसमा भएको अलार्मजस्तो आइकन थिच्न सकिन्छ ।

यति मात्र नभई यसले आफ्ना स्थानीय अधिकारीलाई सम्पर्क गर्न पनि सघाउँछ । सूचना लिने उद्देश्यले पनि यो फिचर प्रयोग गर्न सकिन्छ । हिंसासम्बन्धी जिज्ञासा वा प्रश्न भए सम्बन्धित निकायसँगको सम्पर्कमा रहन पनि यसले सहयोग गर्छ ।

महिला हिंसा रोकथाम तथा निरुत्साहित गर्न यो एप्लिकेसन फलदायी साबित हुनसक्छ । धेरै अवस्थामा अत्यावश्यकजस्तै पर्न आउने यो एपको उचित प्रचार नहुनु दु:खद् पक्ष हो । अझ धेरै यस्ता एप्लिकेसन निर्माण हुनुपर्ने आवश्यकताबोध भैरहेका बेला भएका केहीका बारेमा पनि आम जनमानस सचेत नभइदिँदा समस्या त आउँछ नै ।

 

 Image