Successfully Copied

सबैकी प्रिय एलेन डिजेनेरस

एलेनको कार्यक्रममा एकपछि अर्को हृदयविदारक कथा आइरहन्छ । यस्तै अर्का बालक टेइट एन्डर्सनको कथाले पनि सिंगो विश्वलाई नै भावुक बनायो । मुटुको बायाँ भेन्ट्रिकलबिना जन्मिएका एन्डर्सनको बाल्यकाल निकै कष्टपूर्ण थियो । नाजुक आर्थिक अवस्थाका कारण उनको शल्यक्रिया पनि हुन पाइरहेको थिएन ।

 

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले चर्चित अमेरिकी टिभी सिटकम ‘द एलेन सो’ मा कार्यक्रम सञ्चालक एलेनको प्रशंसामा केही शब्द खर्च गरे । अमेरिकी राष्ट्रपतिद्वारा कुनै नागरिकलाई उत्कृष्ट कार्य गरेबापत् दिइने स्वतन्त्रता पदकबाट पनि उनको सम्मान गरियो । उक्त सम्मान कार्यक्रममा ओबामाले मुक्तकण्ठले एलेनको प्रशंसा गरेका थिए जसलाई सुनेर त्यहाँ उपस्थित सबै भावविह्वल भए ।

आखिर को हुन् त एलेन डिजेनेरस ? किन संसारभरका करोडौं मानिस उनलाई रुचाउँछन् ? अंग्रेजी टिभी शोमा चाख राख्नेहरूका लागि एलेन डिजेनेरस पक्कै नौलो नाम होइन । विश्वभर छरिएर रहेका उनका प्रशंसक उनको कार्यक्रम हेरेर पेट मिचिमिची हाँस्छन् अनि आँखा मिचिमिची रुन्छन् पनि ।

‘द एलेन सो’ मा सेलिब्रेटी र आममानिस अतिथिका रूपमा उपस्थित हुन्छन् । उनीहरूसँग विभिन्न विषयमा केन्द्रित भएर कुराकानी गरिन्छ अनि त्यहाँ उनीहरूका सफलताका कथा सुनिन्छ । उनीहरूका दु:ख र संघर्षका दिनका बारेमा छलफल हुन्छ । केही वर्षअघि टालिया क्यास्टिलानो नाम गरेकी १३ वर्षीया मेकअप आर्टिस्टलाई उक्त कार्यक्रममा अतिथिका रूपमा बोलाइएको थियो । ल्युकेमियाको अन्तिम चरणमा रहेकी टालियासँग जीवनका नाममा निकै कम समय बाँकी थियो । त्यति कम उमेरमा उनले जीवनमा भोगिसकेको त्यत्रो चुनौतीलाई संसारसामु चिनाउन एलेनले निर्वाह गरेको भूमिका निकै प्रशंसनीय रह्यो । हामी आफ्नो जीवनलाई गम्भीरतापूर्वक लिँदैनौं तर १३ वर्षकी टालियाको जीवनलाई हेर्ने दृष्टिकोणले सिंगो संसारलाई नै भावविह्वल तुल्याइदियो ।

एलेनको कार्यक्रममा एकपछि अर्को हृदयविदारक कथा आइरहन्छ । यस्तै अर्का बालक टेइट एन्डर्सनको कथाले पनि सिंगो विश्वलाई नै भावुक बनायो । मुटुको बायाँ भेन्ट्रिकलबिना जन्मिएका एन्डर्सनको बाल्यकाल निकै कष्टपूर्ण थियो । नाजुक आर्थिक अवस्थाका कारण उनको शल्यक्रिया पनि हुन पाइरहेको थिएन । एलेनको सोमा आइसकेपछि उनको जीवनले अर्कै मोड लियो । शल्यक्रियाका लागि उनले आवश्यक आर्थिक सहयोग त पाए नै, त्यसका अतिरिक्त थुप्रै सहयोग उनलाई प्राप्त भयो । अहिले उनी स्वस्थ छन् र सामान्य बालकझैँ जीवन गुजारिरहेका छन् ।

एलेन समलिंगी महिला हुन् । यसको खुलासा उनले सन् १९९७ मा गरिन् । उनको लैंगिक अभिविन्यासका बारेमा थुपै्र सञ्चारमाध्यमले आ–आफ्नै शैलीमा आ–आफ्नै कुरा गरे । त्यतिबेला अमेरिकामा अहिलेको जस्तो उदार सोच थिएन । धेरैले एलेनको उक्त कदमको भत्र्सना पनि गरे । त्यसले उनको करियरलाई ठूलै धक्का दियो । एक समय त उनी डिप्रेसनको सिकारसमेत हुन पुगिन् । सन् २००८ सम्म पनि अमेरिकी राज्य क्यालिफोर्नियामा समलिंगी विवाह गैरकानुनी मानिन्थ्यो । यसले कानुनी मान्यता प्राप्त गरेलगत्तै एलेन आफ्नी प्रेमिका पोर्सा डि रोसीसँग विवाह बन्धनमा बाँधिइन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले खुलेर एलेनको साहसको प्रशंसा गरे । पोर्साले २००८ मा पासपोर्टमा आफ्नो नाम पोर्सा ली जेम्स डिजेनेरस राख्न पाऊँ भनी हालेको आवेदनको सुनुवाइ करिब अढाइ वर्षपछि मात्र भयो ।

एलेन संसारकै प्रिय व्यक्ति हुन् । डेढ दशकभन्दा बढी चलिसकेको उनको सोमा उनी मायाको सही परिभाषा दिन्छिन्, सबैलाई एक–अर्काप्रति मायाको दृष्टिले हेर्न सिकाउँछिन् । यो कार्यक्रमका हरेक एपिसोडले केही न केही सकारात्मक सन्देश दिइरहेकै हुन्छन् । प्रत्येक एपिसोडको अन्त्यमा एलेन दोहोर्‍याउँछिन्, ‘बि काइन्ड टु वान अनदर’ ।

 Image