अन्तर्मनको शक्ति

नारी संवाददाता

जेष्ठ १३, २०७५

हाम्रो जीवनमा आउने उचार–चढाव पनि त्यति नै स्वाभाविक छ, जति मौसम परिवर्तन हुनु, रुख–बिरुवा मुर्झाउनु र पुन: त्यसमा नयाँ पालुवा पलाउनुलाई प्राकृतिक मानिन्छ । जसले यो प्रक्रियालाई सहजतापूर्वक स्वीकार गर्छन्, उनीहरू सुख–दु:ख दुवै स्थितिमा सन्तुलित र समभावमा रहन्छन् तर कतिपय मानिस भने यस्ता कठिनाइमा चाँडै डराउने अथवा हडबडाउने स्वभावका हुन्छन् । यसले उनीहरूको आत्मबल कमजोर बनाउँछ ।

प्रकृतिले हामी सबैलाई विपरीत परिस्थितिको सामना गर्ने शक्ति समान रूपमा प्रदान गरेको छ, तर कतिपय मानिस आफ्नो अन्तर्मनको यो शक्तिलाई पहिचान गर्न सक्दैनन् र आफूसामु आउने स–साना बाधा–व्यवधानमै पनि चाँडै हडबडाउँछन् । आफ्नो अन्तर्मनको शक्ति पहिचान गर्ने व्यक्ति हरेक परिस्थितिमा शान्त एवं संयमित रहन्छ । आफ्नो मनलाई हरेक अवस्थामा संयमित राख्नु सबैभन्दा ठूलो चुनौती हो । मानव मन चञ्चल हुन्छ । यसको गति बिजुलीभन्दा पनि तेज हुन्छ । त्यसैले त श्रीमद्भगवतगीतामा भनिएको छ–‘इन्द्रियहरू बलवान् छन्, इन्द्रियभन्दा बलवान् मन हुन्छ र मनभन्दा पनि बलवान् हुन्छ बुद्धि ।  

मनमा अलग–अलग भाव उत्पन्न हुन्छन् । कुनै राम्रो त कुनै नराम्रो । भय, क्रोध, चिन्ता आदि नकारात्मक भाव हुन् । प्रेम, सेवा, भक्ति, दान एवं निर्भरता सकारात्मक भाव हुन् । यसमा मनका अवगुणलाई हटाएर राम्रो गुणको विकास गर्नु आवश्यक हुन्छ । घर, गृहस्थी, व्यापार तथा कार्यालयमा कतिपय अवस्थामा मनुष्यको मनोबल कमजोर बन्न पुग्छ । मानिसहरू डरका कारण आफ्नो जीवनको लक्ष्यसम्म पुग्न सक्दैनन् । आफ्नो मनको अवगुणलाई हटाएर सद्गुणको विकास गर्न सबैभन्दा पहिले व्यक्तिको मनमा धैर्य हुनु आवश्यक छ । ज्ञान एउटा साधन हो, जसलाई जीवनभर त्यसरी नै स्वीकार गर्नुपर्ने हुन्छ जसरी स्वस्थ शरीर प्राप्तिका लागि हामी नियमित व्यायाम एवं योग अभ्यास गर्छौं ।

कमजोर मनोबल बाहिरी कठिनाइभन्दा बढी हानिकारक हुन्छ ।

अतीतका कठिनाइबाट निस्केर नै आजको वर्तमानमा बाँच्न सम्भव भएको छ । आजको कठिनाइदेखि डराएर भाग्ने प्रयत्न गर्दा भोलि अझ कठिन हुने सम्भावना हुन्छ । हिजोका आफ्ना गल्तीलाई बिर्सनु गलत कारण हुन्छ, त्यस्ता गल्तीलाई बिर्सदा गल्ती सच्याउने अवसर गुम्छ र गल्तीमै अल्झिने हो भने अघि बढ्न सकिँदैन । कठिन अवस्थाले हरेक पटक व्यक्तिको क्षमता, आत्मविश्वास, साहस, धैर्य एवं सकारात्मकताको परीक्षा लिन्छ । यो परीक्षामा उत्तीर्ण हुन सके अझ बढी प्रभावकारी बन्न सकिन्छ । अनुत्तीर्ण भए आफूलाई सुधार्ने र निखार्ने प्रयासको बाटोमा अग्रसर हुने प्रेरणा प्राप्त हुन्छ ।

आत्मसम्मानका साथमा जिउने कलाले हाम्रो बुद्धिलाई प्रबल बनाउँछ । अरुबाट दया एवं सहानुभूतिको अपेक्षा राख्नु गलत हो । यो आत्मसम्मान र आत्मविश्वास दुवैका लागि विष हो । अत: आफ्नो सम्मान गर्नु आवश्यक छ । हरेक व्यक्ति अरूभन्दा फरक र आफैमा विशेष हुन्छ । आफूमा भएको विशेषतालाई बुझेर, त्यसमा निखार ल्याउनुपर्छ । त्यही विशेषता आफ्नो पहिचान हो र यसैले नै आफूलाई अरूभन्दा फरक बनाउँछ । बाहिरी शत्रुसित लड्न सचेतना एवं सतर्कता आवश्यक परेझैं अन्तर्मनको शत्रु अर्थात् आफ्नो कमजोरीसित लड्न सजगता तथा निरन्तर स्वमूल्यांकन जरुरी हुन्छ ।

आफ्नो कमजोरीलाई बुझेर, त्यसको सुधारका लागि निरन्तरको प्रयास एवं सक्रियता आवश्यक छ । सबल पक्ष सदैव अवसर सिर्जना गर्ने माध्यम हो भने कमजोर पक्ष चुनौती प्रदान गर्ने बाटो । कमजोर पक्षलाई जित्न सके आत्मविश्वास बढ्छ र बाहिरी शत्रुसित लड्ने आँट, क्षमता एवं साहस वृद्धि हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>