Successfully Copied

श्रृंखला खतिवडा

म आफ्नो पहिरन मिलाएर अघि बढ्न ठिक्क परिसकेकी थिएँ । मेरो नाम घोषणा हुँदा खासै अचम्म वा अनौठो लागेन, किनभने मैले त्यो क्षणको कल्पना पहिले नै गरिसकेकी थिएँ । मेरो आत्मविश्वास नै मेरो जितको मुख्य कडी हो ।

मिस नेपाल वल्र्ड शृंखला खतिवडालाई मिस नेपाल भएपछि आफ्ना दिनहरू बेफुर्सदिला लागिरहेका छन् । जितको भोलिपल्टदेखि नै विभिन्न अन्तर्वार्ता, फोटोसुट, सम्मानजस्ता कार्यक्रमहरूमा सहभागिता जनाउनुपर्ने भएकाले उनलाई केही गार्‍हो पनि भएको छ । मिडिया र ग्ल्यामरभन्दा फरक इन्जिनियरिङकी छात्रा खतिवडाको व्यस्तताका साथै जिम्मेवारी पनि उत्तिकै थपिएको छ ।

२२ वर्षअघि हेटौंडामा जन्मिएकी शृंखला एसएलसीपछि काठमाडौं आएकी हुन् । उनी पढाइमा अब्बल थिइन् । स्कुलमा टप फाइभमा पर्ने शृंखलाले एसएलसी र प्लस टुमा डिस्टिङ्सन हासिल गरिन् भने स्नातकमा कलेज नै टप गरिन् । उनले आर्किटेक्टका रूपमा केही प्रोजेक्टमा कामको अनुभवसमेत बटुलेकी छिन् । खतिवडा पहिले नै एउटा सोच तयार पारेकी थिइन्, स्नातकपछिको दुई वर्ष आफूलाई मन परेको क्षेत्रमा सक्रिय हुने । त्यसको सुरुवातका रूपमा उनले मिस नेपाल प्रतिस्पर्धा गरिन् ।

पहिलो प्रयासमै सफलता हासिल गरेपछि अब उनमा भरपूर आत्मविश्वास सिर्जना भएको छ । शृंखलाका लागि यो जीवनकै पहिलो प्रतियोगिता थियो जसमा उनको आत्मविश्वास, लगन र मेहनतले सफल बनायो । २४ जना प्रतिस्पर्धीबीच उत्कृष्ट प्रस्तुति दिएर मिस नेपाल वल्र्ड २०१८ को उपाधि जित्न सफल शृंखलाले भविष्यमा आर्किटेक्चरका रूपमा नेपालमै रही देशको सेवा गर्ने लक्ष्य लिएकी छिन्् ।

मिस नेपाल वल्र्ड–२०१८ को उपाधि जितेपछिको अनुभव कस्तो रह्यो ?

साधारण व्यक्ति एकाएक सबैको नजरमा परेकी छु । अब मैले धेरै कठिन जिम्मेवारी बहन गर्नुपर्छ भन्ने अनुभव भएको छ । म त यो क्षेत्रका लागि बिल्कुल नयाँ व्यक्ति । त्यसैले पनि अलि बढी गार्‍हो भैरहेको छ । आफू पब्लिक फिगर भएको अनुभूति भैरहेको छ भने उत्तिकै जिम्मेवारी बोध पनि भैरहेको छ । अब म घरकी मात्र नभएर देशकै छोरी हुँ भन्ने लागिरहेको छ । म यसलाई मेन्टेन गर्न हरदम प्रयासरत हुनेछु ।

मिस नेपालको प्रशिक्षणले तपाईंलाई के–कस्तो फाइदा पुर्‍यायो ?

पहिलो त आफैंलाई चिन्ने मौका मिल्यो । कतिपय कुरामा आफू नै सही भन्ने सोचलाई कसरी गलत मान्ने तथा आफू जस्तो हो त्यसलाई स्वीकार गर्न सक्नुपर्छ भन्ने शिक्षा त्यही प्रशिक्षणका क्रममा पाएँ । कुनै पनि क्षेत्रमार्फत पछि समाजकै नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास बढ्यो । आफ्नो आत्मविश्वास कसरी बढाउन सकिन्छ भन्ने कुरा पनि सिकेें । मुख्य कुरा त सोच्ने क्षमतामै परिवर्तन आयो ।

उपाधि घोषणा हुनै लाग्दाको क्षण कस्तो थियो ?

मिस नेपाल युनिभर्स, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल घोषणा भएपछि अब मेरै नाम आउँछ भन्ने कुरामा शतप्रतिशत ढुक्क थिएँ । म आफ्नो पहिरन मिलाएर अघि बढ्न ठिक्क परिसकेकी थिएँ । मेरो नाम घोषणा हुँदा खासै अचम्म वा अनौठो लागेन, किनभने मैले त्यो क्षणको कल्पना पहिले नै गरिसकेकी थिएँ । मेरो आत्मविश्वास नै मेरो जितको मुख्य कडी हो ।

मिस वल्र्ड–२०१८ को तयारी कहिलेदेखि थाल्दै हुनुहुन्छ ?

नेपालको प्रतिनिधित्व हुने उक्त महत्वपूर्ण प्रतियोगिताको तयारी थालिसकेकी छु । त्यसका लागि रिसर्च गर्दैछु । ब्युटी विद पर्पसका लागि भूकम्पपछिको पुनर्निर्माणलाई मुख्य विषय बनाएकी छु ।

मिस नेपालको एक वर्षे कार्यकालपछि के गर्नुहुन्छ ?

सबैभन्दा पहिले स्नातकोत्तर पूरा गर्नेछु । त्यसपछि आफ्नो क्षेत्रमा काम गरेर समाजलाई सक्नेजति योगदान पुर्‍याउँछु ।

 Image