बालबालिकामा ग्याजेटको असर
संचार उपकरण (ग्याजेट) को बढ्दो प्रयोगले सामाजिक सञ्जाल र सञ्चारमाध्यमा आउने कतिपय कुराले बालबालिकामा नकरात्मक असर परिरहेको हुनसक्छ । यसबारे अभिभावक सचेत हुनु जरुरी देखिन्छ ।

स्वस्थ जीवनमा हरियो तरकारीको ठूलो महत्व छ । ताजा र हरियो तरकारीबाट शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज तथा प्रोटिनका साथै कार्बोहाइड्रेट प्राप्त हुन्छ । त्यति मात्र नभै हामीले प्रोटिनका लागि खाने माछा मासु, फुल, दूध आदिबाट शरीरमा उत्पन्न अम्लीय पदार्थ नष्ट गर्न हरियो तरकारीको आवश्यकता पर्छ । ताजा तथा हरियो तरकारी प्राप्त गर्न त्यति गार्हो पनि छैन । हामीले अलिकति मात्र ध्यान दियौं भने आफ्नै करेसाबारीबाट ताजा तरकारी आपूर्ति गर्नसक्छौं ।
करेसाबारी योजना अर्थात् योजनाबद्ध तरकारी खेतीबाट दैनिक उपभोगका लागि आवश्यक ताजा तरकारी आपूर्ति मात्र हुँदैन बढी भएको तरकारी बेचेर अतिरिक्त आम्दानीसमेत गर्न सकिन्छ । त्यसैगरी यो कार्यबाट बिहान–बेलुकाको समय सदुपयोग गर्न, मनोरञ्जन लिन र वातावरण स्वच्छ एवं सुन्दर बनाउन पनि मद्दत पुग्छ । यसका लागि सर्वप्रथम बजारबाट झोलाभरि तरकारी बोकेर ल्याउँदा गर्व तर आफ्नो बारीको तरकारी बेच्न संकोच मान्ने स्वभाव भने त्याग गर्नुपर्छ ।करेसाबारी स्थापना गर्दा करेसाबारी क्षेत्रमा प्लट बनाएर बीचबीचमा आवश्यकतानुसार कुलेसो निर्माण गर्नुपर्छ । यसबाट सिंचाइ, हिँडडुल तथा गोडमेल गर्न सजिलो हुन्छ । त्यस्तै बारको छेउमा झाँगिने र लहरे तरकारी बाली लगाएर बारलाई थाँक्राका रूपमा प्रयोग गर्न सकिन्छ । दुवै छेउतिर खाडल बनाएर झारपात तथा घरधन्धापछि बाँकी रहेका अवशेषहरूलाई हालेर कम्पोस्ट मल तयार गर्न सकिन्छ । भान्साको पानी जम्मा हुने खाल्टो बनाएर पनि त्यसको उपयोग गर्न सकिन्छ । तरकारी लगाउने समय र किसिमका सम्बन्धमा प्राविधिक जानकारी लिई तरकारी रोप्दा बढी फाइदा लिन पाइन्छ ।
करेसाबारी स्थापना गर्दा निम्न कुरामा ध्यान पुर्याउनुपर्छ
- करेसाबारीका लागि सुविधायुक्त क्षेत्र, उपयुक्त माटो र सिंचाइको भरपर्दो स्रोत भएको जमिन छनोट गर्नुपर्छ ।
- के–कस्ता र के–कति तरकारी लगाइने हो त्यसैअनुसार प्लट बनाई हिँडडुल गर्ने बाटो तथा सिंचाइका लागि कुलेसो बनाउनुपर्छ ।
- एउटै मौसममा विभिन्न प्रकारका तरकारी उत्पादन गरी करेसाबारीको आकर्षण बढाउन सकिन्छ ।
- पशु वा जंगली जन्तुबाट सुरक्षित राख्न करेसाबार उपलब्ध कच्चापदार्थ प्रयोग गरी तयार गर्न सकिन्छ ।
- तरकारी खेती गरिने माटो ऊर्वर, प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट हुनुपर्छ । बलौटे माटो भए चिम्ट्याइलो माटो तथा प्रशस्त प्राङ्गारिक वा कम्पोस्ट मल हाल्नुपर्छ ।- तरकारी बालीको जरा मसिना र तलैसम्म फैलने हुँदा माटोको खनजोत राम्रोसँग गरी माटो मसिनो पारी झारपात र अन्य बालीको अवशेषहरू हटाउनुपर्छ ।
- तरकारी बालीको बीउ उन्नत र स्वस्थ हुनुपर्छ । रोप्दा उचित दूरी, मात्रा र गहिराइको ख्याल राख्नुपर्छ । बालीको किसिम तथा आवश्यकताअनुसार नियमित गोडमेल, सिंचाइ, निकास एवं संरक्षण गर्नुपर्छ ।