Successfully Copied

इगो भगाऔं

इगोबाट जोगिन सर्वप्रथम इमान्दारिताका साथ आफ्नो मनलाई नियालेर हेरौं । हरक्षण आफ्नो प्रशंसा सुन्न रुचाउनु तथा आफ्नो गल्तीका लागि माफी माग्न नरुचाउनु राम्रो संकेत होइन । आफूभित्रको अहंकारलाई सचेत ढंगले नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।

इगोको शाब्दिक अर्थ हुन्छ–अहंकार । यसले हाम्रो व्यक्तित्वलाई कमजोर बनाइदिन्छ । त्यसैले हामीमा नकारात्मक भावना हावी हुन्छ भने अरूप्रतिको ईष्र्याले आफैलाई क्षति पुर्‍याउँछ ।

समाजमा यस्ता प्रकृति र स्वभावका मानिसहरू पनि हुन्छन् जसमा अर्कालाई निच, निर्धो वा कमजोर देखाएर आफूलाई बलवान् साबित गर्न खोज्ने प्रवृत्ति हुन्छ । अर्काका बारेमा कुरा गर्नुअघि हामी एकपटक आफ्नै मनभित्र नियालेर हेरौं त ? यस्तो नकारात्मक भावना हामीभित्र कसरी फैलन्छ ? अहंले मानिसलाई झगडालु, जिद्दी, स्वार्थी एवं आत्मकेन्द्रित बनाइदिन्छ । आफ्ना इच्छा पूरा नहुँदा कयौं पटक यस्ता अहंकारी मानिसहरू डिप्रेसनको सिकार भएको पाइन्छ ।

किन हुन्छ यस्तो ?

मनोचिकित्सक डा. शरदमान ताम्राकार भन्छन्–जब मानिसले इमान्दारिता साथ आफ्नो मूल्यांकन गर्न सक्दैन तब उसभित्र स्वयं आफैलाई सर्वश्रेष्ठ मान्ने स्वभाव बढ्दै जान्छ र त्यसैले उसलाई अहंकारी बनाइदिन्छ । बाल्यकालमा जसलाई आमाबुवाको माया प्राप्त हुँदैन उनीहरूमा अहंकारको भावना उत्पन्न हुँदै जान्छ । अथवा आमाबुवाको व्यवहारमा अहंकार झल्कन्छ भने तिनका सन्तान पनि कालान्तरमा घमण्डी हुँदै जान्छन् ।

सुरक्षा अपनाऔं

इगोबाट जोगिन सर्वप्रथम इमान्दारिताका साथ आफ्नो मनलाई नियालेर हेरौं । हरक्षण आफ्नो प्रशंसा सुन्न रुचाउनु तथा आफ्नो गल्तीका लागि माफी माग्न नरुचाउनु राम्रो संकेत होइन । आफूभित्रको अहंकारलाई सचेत ढंगले नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।

-    आफूलाई अरूको नजरबाट पनि हेर्ने बानीको विकास गरौं । आफूमाथि अरूले त्यस्तै व्यवहार गरे सहिन्थ्यो त भन्ने कुरा सम्झौं ।

-    आफ्ना वरिपरि, छरछिमेक तथा कार्यालयमा हुने यस्ता क्रियाकलापमा भाग लिऊँ जहाँ टिमवर्कमा विश्वास गरिन्छ । यस्ता काममा सामेल हुँदा एक–अर्काको भावना बुझ्न सकिन्छ ।

-    आफूभन्दा तल परेका (उमेर, पद, सामाजिक प्रतिष्ठा वा आर्थिक हैसियत)हरूसँग विनम्र भाव राखी प्रस्तुत हुन सिकौं र हेरौं उनीहरूको दिलमा आफ्ना लागि बढ्दै गएको इज्जत ।

-    आत्मविश्वास बढाउने प्रयास गरौं जसले अहंकार घटाउन मद्दत गर्छ ।

-    कमजोर व्यक्तिसँग आफ्नो तुलना गरी रमाउनु ठीक होइन । यसले सफलताको ढोका बन्द गरिदिन्छ । जो आफूभन्दा सबल र शक्तिशाली छन् उनीहरूबाट प्रभावित एवं उत्प्रेरित भएर अघि बढ्दै जानुपर्छ ।

-    अरूको अहित हुने काम गर्न अहिलेदेखि नै बन्द गरौं । यसले पनि व्यक्तिको अहंलाई सन्तुष्टिमा परिवर्तित गरिदिन्छ ।

-    बालबालिकासँग समय बिताऔं । आफूलाई पनि उनीहरूजस्तै सहज बनाउने प्रयास गरौं । हरेक व्यक्तिभित्र बालसुलभता हुन्छ । त्यसलाई कुनै पनि हालतमा जिउँदो राख्ने प्रयास गरौं ।

-    नयाँ मानिससँग मित्रता विकसित गर्ने बानी बसालौं । यसले आफूभित्र कहीँ–कतै लुकेर रहेको अहंकारको भावना क्रमश: कम गर्दै लान्छ ।

-    नियमित रूपमा योग, ध्यान एवं व्यायाम गरौं । धार्मिक पुस्तक अध्ययन गरौं । यसले अहंकारलाई टाढा राख्न सहज बनाउँछ ।

 Image