Successfully Copied

समृद्धिका लागि नारी शिक्षा अपरिहार्य

मेडिकल अफिसर, रजिस्टार, सिनियर रजिस्टार, जुनियर तथा सिनियर कन्सल्ट्यान्ट हुँदै वि.सं. २०६४ मा प्रसूति गृहको डेपुटी डाइरेक्टर भएकी लताले ०६६ मा डाइरेक्टरको पदभार सम्हालिन् । ४ वर्षे उनको निर्देशकीय कार्यकालमा प्रसूति गृहले कलेवर फेर्‍यो । ०६९ मा उनी त्यहाँबाट रिटायर्ड भइन् ।

सैकडौंलाई जीवनदान दिइसकें, हजारौं सन्तान जन्माइसके यिनै हातहरूले, हजारौं महिलाको अपरेसन गरें, बाँझोपन भएका कैयौंलाई बच्चा दिलाएँ, सेवामूलक पेसा धर्म निर्वाह गर्न सकेकोमा गौरवान्वित छु । यसैलाई मैले आफ्नो जीवनको उपलब्धि मानेकी छु–कुराकानीको सुरुवातमै लता यसरी खुलिन् । ३५ वर्षे सरकारी सेवामा आफ्नो समय, सीप एवं क्षमता लगानी गरिसकेकी डाक्टर लता बज्राचार्य वि.सं. २०३४ सालमा मेडिकल अफिसरका रूपमा वीर अस्पताल प्रवेश गरेकी थिइन् । वि.सं. २०४१ सालदेखि प्रसूति गृह थापाथलीमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत बज्राचार्य ०४३ मा बढुवा भै वीरगंज सरुवा भइन् ।

मेडिकल अफिसर, रजिस्टार, सिनियर रजिस्टार, जुनियर तथा सिनियर कन्सल्ट्यान्ट हुँदै वि.सं. २०६४ मा प्रसूति गृहको डेपुटी डाइरेक्टर भएकी लताले ०६६ मा डाइरेक्टरको पदभार सम्हालिन् । ४ वर्षे उनको निर्देशकीय कार्यकालमा प्रसूति गृहले कलेवर फेर्‍यो । ०६९ मा उनी त्यहाँबाट रिटायर्ड भइन् । हाल प्रसूति गृह विकास समिति लगायत नेपाल सोसाइटी अफ अप्सेटिस एन्ड गाइनोलोजिस्ट, कम्युनिटी एक्सन सेन्टर (सिएसी) नेपालको अध्यक्ष पद सम्हालिरहेकी डा.लता माइती नेपालको उपाध्यक्षसमेत हुन् ।

नगलका सुनचाँदी व्यवसायी पुष्प तथा मानशोभा शाक्यका ४ सन्तानमध्येकी जेठी छोरी लताले कन्या मन्दिर हाइस्कुलबाट एसएलसी, अमृत साइन्स क्याम्पसबाट आइएस्सी, बनारस हिन्दू विश्वविद्यालयबाट एमबीबीएस, जसलोक हस्पिटल मुम्बईबाट इन्डोस्कोपी सर्जरीमा विशेषज्ञता, थाई कलेज अफ अस्टेटिक्स एन्ड गाइनोकोलोजीबाट विशेष कोर्स, जर्मनीबाट इन्डोस्कोपी सर्जरी इन गाइनोकोलोजीमा थप विशेषज्ञता हासिल गरेकी छिन् । शिक्षालाई महिला सशक्तीकरणको बलियो अस्त्र मान्ने डा.लता आफू बाँचुन्जेल सेवामै समर्पित रहने बताउँछिन् । हड्डी रोग विशेषज्ञ डा. अशोकरत्न बज्राचार्यसँग वैवाहिक जीवनमा बाँधिएकी लताका १ छोरा तथा १ छोरी छन् ।

चण्डोल काठमाडौंकी स्थायी बासिन्दा बज्राचार्य छोरीलाई समान शिक्षा दिन सकेको खण्डमा महिलाहरूको विकास सम्भव छ भन्ने तर्क गर्दै भन्छिन्–शिक्षाले मानिसलाई सचेत मात्र नभई सजगसमेत बनाउँछ । कसरी स्वस्थ हुने, आफ्ना अधिकारका बारेमा कसरी चनाखो भैरहने, आफ्ना लागि कसरी बाँच्ने अनि घरभित्र मात्र होइन समग्र मुलुकलाई कसरी योगदान दिने भन्ने कुरा एउटा शिक्षित नागरिकले गहन ढंगले सोच्न र बुझ्न सक्छन् । एउटी महिला शिक्षित हुनु भनेको परिवार मात्र नभई समग्र मुलुक विकासतर्फ अग्रसर हुनु हो तसर्थ छोरीलाई समान शिक्षा र अवसर प्रदान गर्नु हाम्रो प्राथमिकता हुनुपर्छ–डा. बज्राचार्यले बताइन् ।

 

 Image