नेपाली कानुनअनुसार विवाहको उमेर कति हो ?
नेपाली कानुनअनुसार विवाह गर्न २० वर्ष पुग्नु अनिवार्य हुन्छ ।
उमेर नपुगी विवाह गर्दा कस्तो सजायको व्यवस्था छ ?
हाल मौजुदा मुलुकी ऐनमा रहेको व्यवस्थाअनुसार उमेर नपुगी विवाह गर्दा निम्नबमोजिम सजाय हुनसक्छ :
दस वर्ष नपुगेकी बालिकाको विवाह गरे–गराएको रहेछ भने छ महिनादेखि तीन वर्षसम्म कैद तथा एक हजार रूपैंयाँदेखि दस हजार रूपैंयाँसम्म जरिवाना । दस वर्षदेखि माथि चौध वर्ष नपुगेकी बालिकाको विवाह गरे–गराएको हो भने तीन महिनादेखि एक वर्षसम्म कैद तथा पाँच हजार रूपैंयाँसम्म जरिवाना । बीस वर्ष उमेर नपुगेकी स्वास्नी मानिस वा लोग्ने मानिसको विवाह गरे–गराए छ महिनासम्म कैद वा दस हजार रूपैंयाँसम्म जरिवाना वा दुवै सजाय ।
विवाहलाई वैधानिकता प्रदान गर्ने प्रक्रिया के हो ?
विवाहलाई वैधानिकता प्रदान गर्न सामाजिक, सांस्कृतिक एवं धार्मिक रूपमा सम्पन्न विवाह नै भए पनि विवाह दर्ता भने अनिवार्य रूपमा गराउनुपर्छ ।
विवाहपछि कानुनी रूपमा आफूलाई बलियो तुल्याउन महिलाले के गर्नुपर्छ ?
अनिवार्य रूपमा विवाह दर्ता गराउनुपर्छ । सन्तान जन्मिएपछि उसको जन्म दर्ता पनि अनिवार्य रूपमा गराउनुपर्छ ।
कस्तो विवाहलाई पूर्णरूपमा कानुनी वैधता प्राप्त विवाह मानिन्छ ?
आफनो धर्म–संस्कृतिअनुसार गरिएको विवाह तथा विवाह दर्ता ऐनअनुसार गरिएको विवाहलाई ।