Successfully Copied

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा महिला

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । मुलुकभर दुई चरणमा संचालित उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन् । बामगठबन्धनका कारण भारी मत ल्याउन सफल एमाले तथा माओवादीले ठूलो र बलियो प्र जातान्त्रिक दल कांग्रेसलाई निकै पछाडि पारिदिएका छन्

 

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । मुलुकभर दुई चरणमा संचालित उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन् । बामगठबन्धनका कारण भारी मत ल्याउन सफल एमाले तथा माओवादीले ठूलो र बलियो प्रजातान्त्रिक दल कांग्रेसलाई निकै पछाडि पारिदिएका छन् । सोहीअनुरूप प्रत्यक्षतर्फ निर्वाचित भएर आउने महिलाहरूमा एमाले, जनमोर्चा र माओवादी पार्टीका मात्र छन् ।

२४०३६ मत प्राप्त गरी विजयी

                                             पम्फा भुसाल

                          नेकपा (माओवादी केन्द्र), ललितपुर क्षेत्र नम्बर–३

पम्फा भुसालको जन्म २०१९ साल साउनमा अर्घाखाँचीको किमडाँडा–५, आँपखोलामा भएको हो । ‘विद्युत्’ उपनामले चिनिने भुसालका पाँच दिदीबहिनी तथा एक भाइ छन् । तीमध्ये पम्फा साहिँली छोरी हुन् । पहिलो संविधानसभा चुनावमा ललितपुर–३ बाट विजयी संविधानसभा सदस्य पम्फा भुसाल माओवादी केन्द्रीय सदस्यसमेत हुन् । उनी २०७० सालमा भने चुनाव बहिष्कार गर्ने मोहन वैद्य किरण नेतृत्वको दलमा थिइन् । भुसाल विक्रम संवत् २०३३ सालदेखि विद्यार्थी राजनीतिमा हाम फालेकी हुन् ।

पम्फा भुसाल २०५० सालमा संयुक्त जनमोर्चा नेपालकी अध्यक्ष थिइन् । उनी माओवादी केन्द्रकी प्रवक्तासमेत हुन् । भुसाल २०५१ सालमा माओवादीको केन्द्रीय सदस्यसमेत भइन् । फुर्सदका बेला सामाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल सामाजिक असमानताकै कारण आफू राजनीतिमा लागेको बताउँछिन् ।

औसत नेपालीभन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसालले ग्रामीण समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छिन् । पटक–पटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टिबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बन्न सफल भइन् । उनी माओवादी शान्ति प्रक्रियामा आएपछिको अन्तरिम सरकारमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थिइन् ।

१०४३४ मत प्राप्त गरी विजयी

                                         कमला रोका

                                     माओवादी, रुकुम  

संविधानसभामा माओवादीका तर्फबाट समानुपातिक सभासद भएकी कमला रोका प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार भएकी थिइन् । २०३२ सालमा रुकुमको प्वाङमा जन्मिएकी कमला रोका २०४६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छिन् ।

जनयुद्धका क्रममा सुरक्षा दलमा भर्ती भएकी रोका कक्षा १० को परीक्षा नदिँदै भूमिगत भएकी थिइन् । २०५३ सालमा माओवादीको जिल्ला समिति सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य भइन् ।

रुकुमको अति दुर्गम क्षेत्रमा किसान परिवारमा जन्मिएकी कमला रोका लेखिकासमेत हुन् । उनले वृत्तचित्रमा समेत अभिनय गरेकी छिन् । कमला अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र सारी सोल्जरका पात्रहरूमध्ये एक हुन् । रोका रुकुम जिल्लामा खसेको कुल १८,११२ मतमध्ये १०४३४ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उनी माओवादीको युवा संगठन वाइसिएलका पूर्व अध्यक्ष गणेशमान पुनकी श्रीमती हुन् ।

३५१४१ मत प्राप्त गरी विजयी

                                       पद्माकुमारी अर्याल

                           नेकपा (एमाले), स्याङ्जा क्षेत्र नम्बर–२

पद्मा अर्यालको जन्म २०२५ सालको पुसमा स्याङ्जाको वालिङ १४ मा भएको हो । पूर्णामृत भवानी उच्च माविमा एसएलसीसम्म अध्ययन गरेकी अर्यालले भक्तपुर बहुमुखी क्याम्पसबाट बिएड गरेकी छिन् ।

२०३९ सालमा अनेरास्ववियूमार्फत राजनीति सुरु गरेकी अर्याल २०६९ सालदेखि नेकपा एमालेको केन्द्रीय सदस्य रहँदै आएकी छिन् । पद्मा अर्याल २०७० सालको निर्वाचनमा समानुपातिक कोटाबाट सभासद भएकी थिइन् ।

 

४७५१४ मत प्राप्त गरी विजयी

                                                   दुर्गा पौडेल

                                             प्यूठान क्षेत्र नम्बर–१

दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाकी नेतृ हुन् । पौडेलको जन्म २०२८ साल असोज ६ गते कपिलवस्तुको निग्लिहवा–२ मा भएको हो । विष्णुप्रसाद पौडेल तथा बुद्धदेवी पौडेलकी छोरी दुर्गा सानैदेखि हक्की तथा विद्रोही स्वभावकी थिइन् ।

स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी पौडेलले २०४१ सालदेखि कम्युनिष्ट राजनीति सुरु गरेकी हुन् । उनी राष्ट्रिय जनमोर्चाको चौथो महाधिवेशनबाट अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वार्िचत भइन् । दुर्गा पौडेल अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता समेत छिन् ।

उनले २०५७ सालमा तत्कालीन नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंहसँग विवाह गरिन् । ६० वर्ष पार गरेका नेतासँग विवाह गरेको भनेर उनीहरूको विवाहको आलोचनासमेत भएको थियो ।

दुर्गा पौडेल २०५६ सालको चुनावमा कपिलवस्तुबाट पराजित भएकी थिइन् । पुन: अर्को पटक २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं–१० बाट पराजित भएकी पौडेल २०७० सालको चुनावमा समानुपातिकबाट सभासद भएकी थिइन् । अहिले उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी थिइन् ।

 

३८४६७ मत प्राप्त गरी विजयी

                                                                  बिना मगर

                                          नेकपा (माओवादी केन्द्र), कञ्चनपुर क्षेत्र नम्बर–१

बिना मगर नेकपा माओवादी केन्द्रकी युवा नेतृ हुन् । २०४० सालको मंसिरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा जन्मिएकी मगरले पुनर्वास जनता माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । बिनाले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट मानविकी संकायमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी सरस्वती क्याम्पसबाट स्नातकतहसम्मको अध्ययन पूरा गरेकी छिन् । २०५१ सालमा बाल जनकलाकार संगठनबाट माओवादी पार्टीमा आबद्ध भएकी मगर माओवादीको सशस्त्र युद्धमा लडाकु थिइन् । काठमाडौंमा क्याम्पस पढ्दापढ्दै माओवादीको सशस्त्र युद्धमा लागेकी बिना युद्धकालताका विभिन्न आक्रमणमा सहभागी भइन् ।

भैरवनाथ गणमा तत्कालीन शाही नेपाली सेनाको यातना भोगेकी बिना २०७० सालको चुनावमा कञ्चनपुर–१ बाटै पराजित भएकी थिइन् । प्रचण्डपुत्र स्व. प्रकाश दाहालसँग वैवाहिक सम्बन्ध गाँसेकी बिनाका १ छोरा छन् ।

 

४५१८७ मत प्राप्त गरी विजयी

                                  पवित्रा निरौला (खरेल)

                           नेकपा (एमाले), झापा, क्षेत्र नम्बर–२

एमाले नेतृ पवित्रा निरौला खरेलको जन्म २०२० साल माघ २० गते झापाको दमकमा भएको हो । छविलाल र खड्गमाया निरौलाकी छोरी पवित्राका दुई छोरी छन् । उनले आईएसम्म अध्ययन गरेकी छिन् ।

अध्ययनकै क्रममा राजनीतिक सिलसिलामा गर्दा जेल परेकीले पवित्राले अध्ययनलाई अघि बढाउन सकिनन् । २०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा अनेरास्ववियुबाट राजनीतिमा लागेकी निरौला अखिल नेपाल महिला संघको प्रथम राष्ट्रिय सम्मेलनको केन्द्रीय कमिटीको सदस्य निर्वार्िचत भइन् । हाल उनी नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन् ।

निरौलाले नेकपा एमाले झापा जिल्ला कमिटीको सचिव तथा झापा जिल्ला विकास समितिको मनोनीत सदस्य भएर लामो समय काम गरिन् ।

२०५४ सालमा जिल्ला विकास समिति झापाको मनोनीत सदस्य भएकी निरौला २०६६ सालमा एमाले झापाको जिल्ला सचिवको कार्यभार सम्हाल्न पुगिन् । २०७० सालको चुनावमा झापा–२ बाट उम्मेदवार भएकी पवित्रा त्यतिबेला कांग्रेसका सुधीर शिवाकोटीसँग पराजित भएकी थिइन् ।

 

 Image