Successfully Copied

जाडो यामका समस्या र समाधान

जाडोमा पनि नियमित रूपमा सर्ट सावर लिनुपर्छ । जाडो भनेर लामो समयसम्म ननुहाउँदा शरीर चिलाउँछ । जाडोमा धेरैले तातोपानीले नुहाउँछन् । तातोपानीले गर्दा छाला सुख्खा हुन्छ । त्यसैले नियमित रूपमा मनतातो पानीले नुहाउनुपर्छ ।

डा.शिरपा बज्राचार्य

कन्सल्टेन्ट तथा एस्थेटिक लेजर सर्जन,

नर्भिक इन्टरनेसनल हस्पिटल

जाडोमा छालासम्बन्धी के–कस्ता समस्या देखा पर्छन् ?

जाडोमा छाला कोमल हुने भएकाले घाम तथा वातावरणका कारण छाला सुख्खा हुने, शरीर चिलाउने, फुस्रो हुने समस्या सिर्जना हुन्छन् । छाला सुख्खा भएपछि एलर्जी र इरिटेसन हुने समस्या पनि देखिन्छ । यसैगरी बढी चिसोका कारण हातखुट्टाका आंैला सुन्निनुका साथै राता पनि हुन्छन् जसलाई चिल ब्लेन भनिन्छ भने कतिपयको अनुहारमा सेतो–फुस्रो दाग समेत देखापर्छ । ओठ तथा हातखट्टा फुट्ने समस्या पनि जाडो मौसममै उत्पन्न हुन्छ ।

जाडोमा नुहाउनु कत्तिको उचित छ ?

जाडोमा पनि नियमित रूपमा सर्ट सावर लिनुपर्छ । जाडो भनेर लामो समयसम्म ननुहाउँदा शरीर चिलाउँछ । जाडोमा धेरैले तातोपानीले नुहाउँछन् । तातोपानीले गर्दा छाला सुख्खा हुन्छ । त्यसैले नियमित रूपमा मनतातो पानीले नुहाउनुपर्छ ।

जाडोमा शरीर चिलाउने समस्याबाट छुटकारा प्राप्त गर्न के गर्नुपर्ला ?

नुहाउनुअघि शरीरमा एक्स्ट्रा भर्जिन कोकोनट आयलले मालिस गर्नुपर्छ भने बडी स्क्रब गरेर नुहाउँदा पनि हुन्छ । नुहाउँदा मोस्चराइजर सोप तथा सावर जेल प्रयोग गर्न सकिन्छ । नुहाइसकेपछि ५ मिनेटभित्र मोस्चराइजर लगाउँदा शरीर चिलाउँदैन ।

ओठलाई फुट्नबाट कसरी जोगाउने ?

एसपीएफयुक्त लिप बाम लगाउनुपर्छ । कतिपयको ओठ चाट्ने बानी हुन्छ जसले गर्दा लिप लिकिङ चिलाइटिसको समस्या उत्पन्न हुनसक्छ । ओठ चाट्ने बानी छ भने पेट्रोलियम जेलीयुक्त भ्यासलिन लगाउन सकिन्छ ।  

 

सुझाव  

-    जाडोमा धेरैको अनुहारमा सेतो दाग देखिन्छ । यस्तो समस्या सिर्जना हुन नदिन गुणस्तरीय मोस्चराइजर लगाउनुपर्छ ।

-    हातखुट्टाका औंला सुन्निने समस्या भए न्यानो भएर बस्नुपर्छ । पन्जा तथा मोजा अनिवार्य रूपमा लगाउनुपर्छ ।

-    ऊनीको एलर्जी भएकाहरूले भित्र कटनको पहिरन तथा थर्मल वेयर लगाउनुपर्छ ।

-    तरल पदार्थको सेवन बढाउनुपर्छ । प्रशस्त मात्रामा पानी, झोल कुरा तथा ग्रिन टी सेवन गर्नुपर्छ ।

-    घाममा निस्कनुअघि एसपीएफयुक्त सन ब्लक लगाउनुपर्छ ।

-    जाडोमा धेरै समय घाममा बस्दा पोतोको समस्याले सताउनसक्छ त्यसैले यस्ता समस्या भएकाहरूले घाममा बस्दा अनुहार छोपेर बस्नु उपयुक्त हुन्छ ।

-    जाडोमा टाउकोमा चायाँ पर्छ । यसका लागि डम्र्याटोलोजिस्टको सल्लाहमा एन्टिफंगल स्याम्पु प्रयोग गर्न सकिन्छ ।

 Image