Successfully Copied

आरोही दम्पती

उनीहरूको प्रेमका अघि घरपरिवार नरम भयो र अन्तत: उनीहरूले विवाहका लागि स्वीकृति प्राप्त गरे । विवाहभन्दा वर्ष दिनअघि नेपालमा इंगेजमेन्ट गरेको यो जोडीले आपसी भेटको दुई वर्षभित्रै विवाह गर्‍यो । अर्काे पेसामा लागेको जीवनसाथी भयो भने आफ्नो रुचिमा लगाम लगाउनुपर्ने हो कि भन्ने

बौद्धकी माया शेर्पामा सानैदेखि सगरमाथा चढ्ने रहर थियो । घरबाट स्वीकृति नपाए पनि उनी टिनएजदेखि नै हिमाल चढ्न थालिन् । मायालाई विश्वास थियो जसरी पनि यो क्षेत्रमा सफल भइन्छ । २००४ मा तिब्बतमा पर्ने माउन्ट चोयू आरोहण गर्ने क्रममा आर्नोल्डसँग उनको भेट भएको थियो । १० जनाको उक्त टिमको नेतृत्व नेदरल्यान्डका आरोही आर्नाेल्डले नै गरेका थिए । टिम लिडर भएकाले पनि माया अरूसँग भन्दा आर्नोल्डसँग नजिक थिइन् । ४० दिनको यात्रा सकेर आ–आफ्नो ठाउँमा फर्किएपछि उनीहरूलाई त्यही भेटको रमाइलो सम्झनाले सताउन थाल्यो ।

फलस्वरूप उनीहरू दिनहुँजसो इमेल तथा च्याटमा कुराकानी गर्न थाले । हिमाल आरोहण रुचाउने आर्नाेल्ड ६ महिनापछि पुन: नेपाल आए । दुवै जना दुई महिना लगाएर सगरमाथा चढेर फर्किए । त्यो दुई महिने सगरमाथा यात्रामा उनीहरू अझ नजिकिए । दुवैको पहिलो रुचि भन्नु नै हिमालहरू चढ्नु थियो । मायाले घरमा आर्नाेल्डसँगको सम्बन्ध र विवाहका बारेमा कुरा गर्दा सुरुमा सबैले असहमति जनाउँदै विदेशीको भर हुँदैन भनेका थिए । उता आर्नाेल्डलाई पनि नेदरल्यान्डमा बस्ने आमाले टाढा छ हुँदैन भनेकी थिइन् तर उनीहरू दुवैले मनमनै एक–अर्कालाई अपनाइसकेका थिए ।

उनीहरूको प्रेमका अघि घरपरिवार नरम भयो र अन्तत: उनीहरूले विवाहका लागि स्वीकृति प्राप्त गरे । विवाहभन्दा वर्ष दिनअघि नेपालमा इंगेजमेन्ट गरेको यो जोडीले आपसी भेटको दुई वर्षभित्रै विवाह गर्‍यो । अर्काे पेसामा लागेको जीवनसाथी भयो भने आफ्नो रुचिमा लगाम लगाउनुपर्ने हो कि भन्ने डर दुवैमा थियो । विवाहपछि पनि उनीहरू निरन्तर रूपमा ४–५ वर्ष सँगै विभिन्न हिमाल चढ्दै गए । छोरी जन्मिएपछि केही समय आराम गरेकी मायाले एक डेढ वर्षपछि पुन: आफ्नो यात्रालाई निरन्तरता दिइन् । मायाका भन्छिन्– आर्नाेल्डसँग विवाह गरेपछि मलाई अझ सजिलो भएको छ, सपोर्ट मिलेको छ । आफूसँग भएको आरोहणसम्बन्धी टेक्निकदेखि ठाउँ, मौसम आदिका बारेमा श्रीमान्ले थप जानकारी दिएकै कारण आफू सफल हुन सकेको माया बताउँछिन् ।

१२ वर्ष लामो वैवाहिक जीवन बिताइरहेका यी आरोही दम्पती अहिले हिमाल चढ्न र चढाउनमै व्यस्त छन् । विदेशी भए पनि रुचि र काम एउटै भएकाले कुनै पनि बेला अप्ठ्यारो अवस्था नआएको बताउँदै माया भन्छिन्–आर्नोल्डलाई नेपाल र नेपालका हिमाल सारै मन पर्छन् । उनले यहाँको संस्कृति एवं रहन–सहनलाई पनि सजिलै अपनाएका छन् भने उनका मेरो भन्दा बढी नेपाली साथी छन् । आर्नोल्ड र मायाकी छोरी ७ वर्ष लाग्दैछिन् । एकले अर्काेलाई दिने प्रोत्साहन, साथ र सपोर्टले नै यसरी निरन्तर आरोहीका रूपमा आफूहरूलाई चिनाइराख्न सकेको आर्नोल्ड र माया बताउँछन् ।

एउटै क्षेत्र हुनुको बेफाइदा : हिमाल चढ्नु भनेको एउटा रिस्क नै हो । त्यसैले हामी चाहेर पनि छोरी भएपछि एकसाथ हिमाल चढ्न खोज्दैनौं ।

मायाको नजरमा आर्नाेल्ड

पारिवारिक कामदेखि छोरीको हेरचाहसम्म भ्याएको देखेर म आफैं छक्क पर्छु । उनलाई अल्छी मानेर बसिरहन मन लाग्दैन, एक्टिभ हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनलाई हरेक कुरा समयमै र परफेक्ट चाहिन्छ ।

आर्नाेल्डको नजरमा माया :

म सक्छु भन्ने आँट छ । आरोहणको निरन्तरता र त्यसप्रतिको प्रतिबद्धता उनका राम्रा पक्ष हुन् । उनी परिवार र छोरीका लागि पनि उत्तिकै समय दिन्छिन् ।

 Image