Successfully Copied

मार्शल आर्टका जोडी कुशल र तारा

खेल्न जाँदा सँगै चिया–कफी खाँदै गफ गर्ने, एकले अर्काेलाई सहयोग गर्ने यो जोडीले डेटिङ भनेर छुट्टै कतै जाने अवसर भने पाएन । उनीहरू एकदमै नजिक भएको दुई महिनाभित्रै घरपरिवारसँग नसोधी आफैंले विवाह गरे । कुशलको घरमा असहज नभए पनि ताराको घरमा गुरुङ केटा

 

एउटै क्षेत्रका दम्पती भइयो भने कति सफलता हात पार्न सकिन्छ भन्ने कुरा कराँतेका जोडी तारा गुरुङ तथा कुशल श्रेष्ठलाई हेरे पुग्छ । विवाहपछि दुवै खेलमा निखारिएको र सफलता हासिल गरेको बताउने कुशल र तारा निरन्तर यसैमा लागिपरेका दम्पतीमध्ये एक हुन् । उनीहरूको विवाह भएको १४ वर्ष पूरा भैसकेको छ तर उनीहरूबीच हुने कुराकानी, छलफल, हिँड्ने तरिका तथा एक–अर्काप्रतिको केयर हेर्दा भर्खर बाँधिएका जोडीजस्ता लाग्छन् उनीहरू ।

२० वर्षअघि काठमाडौंमा कराँते खेल्न आउँदा उनीहरूबीच देखादेख भएको थियो । तारा कुशलको लगन एवं मेहनतबाट प्रभावित थिइन् भने ताराको खेलप्रतिको जाँगर, सकारात्मक सोच एवं केयरिङवाट प्रभावित थिए कुशल । धेरैजनाको जीवनमा विवाहपछि महिला खेलाडीहरूमा सुस्तता वा पूर्णविराम लागेको पाइन्छ तर ताराको मामिलामा भने ठीक उल्टो छ ।

विवाहपछि आफूले अझ राम्रो खेल्न थालेको बताउँदै तारा भन्छिन्, कुशलजस्तो राम्रो खेलाडीको जीवनसाथी भएपछि मेरो खेलमा निकै सपोर्ट भएको छ । कुशलबाट धेरै टेक्निक र यसरी खेल्नुपर्छ भनेर निर्देशनसमेत पाएकाले सहयोग मिलेको छ ।’ विवाहपछि चुनौती थपिए पनि दुवैले एक–अर्कालाई सहयोग गरेपछि कठिन दिनहरू पनि सरल हुन थाले ।

शारीरिक, मानसिक एवं आर्थिक समस्याहरूमा एक–अर्कालाई सम्हाल्दै आजको स्थानसम्म आएको यो जोडीको जीवन कुशलले साफमा गोल्ड मेडल जितेपछि सरल हुँदै गयो । दुवैजना खेलेर, सिकाएर थकित भै घर पुग्दा एकले अर्कालाई सहयोग गरी एकले खाना पकाउँदा अर्काेले लुगा धुने, एकले भाँडा माझ्दा अर्कोले सरसफाइ गर्ने वा छोरी हेर्ने काम गर्छन् जसले गर्दा आफूहरूबीचको माया अझ बढ्दै गएको उनीहरू बताउँछन् ।

कुशल र तारा एसियन गेममा खेल्न जाने पहिलो जोडी हो । आफूभन्दा श्रीमतीको राम्रो हुँदा पुरुषमा आउने इगो कुशलमा कहिल्यै आएन । अझ राम्रो गर्नुपर्छ भन्ने प्रोत्साहन मात्र मिलेको ताराले बताइन् । उनीहरू दुवै अहिले राष्ट्रिय खेलकुद परिषद्मा जागिरे छन् । खेलेर पनि राम्रोसँग जीवन निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण पनि हो, यो जोडी ।

भनिन्छ, कुनै पनि काममा औंल्याइदिने व्यक्ति चाहिन्छ अनि जीवन सफल हुन्छ । दुवैको छुट्टाछुट्टै क्षमताले गर्दा दुवैलाई सहयोग पुगेको बताउने यो जोडीले आपसी कमी–कमजोरीहरू हटाउन भरपर्दो साथ मिलेकाले पछाडि फर्केर हेर्नु परेन । कुशल कराँतेको टेक्निकली पार्टमा र तारा म्यानेजमेन्ट तथा संघसंस्थातिर लागेका छन् । उनीहरूको एउटै सपना छ, मार्शल आर्टको एकडेमी बनाउने । विवाहपछि उनीहरू मुस्किलले दैनिक आधा घन्टाजति मात्र अलग हुन्छन् । एउटै काम भएर पनि होला आधा घन्टा सँगै नहुँदा पनि के नभए के नभएजस्तो अनुभव हुने उनीहरू बताउँछन् ।

 

एउटै क्षेत्रमा हुनुको बेफाइदा

कुनै पनि सरप्राइज दिन नसक्नु, एउटै क्षेत्रमा हुँदा क्षमता हुँदाहुँदै पनि कतिपय ठाउँमा बूढाबूढीलाई हुँदैन, एकजनालाई मात्र भनिन्छ ।

एउटै क्षेत्रमा हुनुको फाइदा

दुवैको बेग्लाबेग्लै क्षमताले गर्दा राम्रो रिजल्ट आउँछ । एकले अर्काको गार्‍होसार्‍हो चाँडै बुझिन्छ र मिलेर काम गरिन्छ । त्यसले थप माया बढाउँछ ।

कुशलको नजरमा तारा

जस्तोसुकै परिस्थितिमा कमजोर नहुने, लिडरसिपमा हुनुपर्ने गुणले भरिपूर्ण तथा आँटिलो ।

ताराको नजरमा कुशल

कुनै कुरामा नरिसाउने, इगो नराख्ने । हामीले मिलेर गर्नुपर्छ भन्ने मान्यता । आफ्ना लागि गुरुले जस्तै हरेक कुरा बुझ्ने गरी सिकाउने ।

 Image