Successfully Copied

दसैं किन सर्वाधिक महत्वको चाड ?

हिन्दू परम्पराअनुसार थुप्रै चाडपर्व मनाइन्छ । हरेक पर्वका आ–आफ्नै महत्व तथा विधिविधान छन् र तिनलाई मनाउने तरिका पनि फरक–फरक छ । जनैपूर्णिमा, तीज, तिहार, होली आदि चाडपर्व पनि कम धुमधामका साथ मनाइँदैन तर दसैंको कुरै फरक छ । पर्वहरूका बीच दसैंलाई नै किन

हिन्दू परम्पराअनुसार थुप्रै चाडपर्व मनाइन्छ । हरेक पर्वका आ–आफ्नै महत्व तथा विधिविधान छन् र तिनलाई मनाउने तरिका पनि फरक–फरक छ । जनैपूर्णिमा, तीज, तिहार, होली आदि चाडपर्व पनि कम धुमधामका साथ मनाइँदैन तर दसैंको कुरै फरक छ । पर्वहरूका बीच दसैंलाई नै किन सर्वाधिक महत्वपूर्ण चाड मानियो त ?

परम्परागत संस्कारअन्तर्गत हामीले मनाउने पर्वमध्ये दसैं विशेष र धेरै कुराको सुन्दर संमिश्रणयुक्त छ । दसैंले बालकदेखि वृद्धवृद्धासम्मलाई आ–आफ्नो भूमिका र आवश्यकतामा समेटेको छ । बालबालिका राम्रो लाउने र मीठो खाने अवसर मानेर दसैंमा रमाउँछन् भने वयस्कहरू वर्षभरिको कामको थकान मेटाउने, पारिवारिक घुमघाममा निस्कने, आफूलाई खुसी तुल्याउने कुरामा सहभागी हुने तथा आफन्त भेटघाट र टीका–आशीर्वाद ग्रहणलगायतका क्रियाकलापमा आफूलाई प्रफुल्ल महसुस गर्छन् । असत्यमाथि सत्यको विजयस्वरूप यो चाड मनाइनुले पनि छुट्टै अर्थ राख्छ । दसैंमा देवीको पूजा गरिने हुनाले नारीशक्ति अपरम्पार छ भन्ने कुरा प्रस्ट हुन्छ र अहिलेको युगमा हामी नारीलाई पनि धेरै हदसम्म प्रेरणा प्रदान गर्छ । यिनै सुन्दर संस्कार र चलनले दसैंलाई अन्य पर्वभन्दा विशेष बनाएको छ ।

                                             -  सुष्मा शर्मा, सामाजिक अभियन्ता तथा पूर्वगभर्नर,

                                                                 लायन्स क्लब, काठमाडौ

हिन्दूहरूले मनाउने पर्वमध्ये विशेष मानिने दसैं आफैंमा पृथक् छ । दसैं मनाउने तरिका पनि निक्कै कलात्मक एवं फरक छ । लामो बिदा, ९ दिनसम्म नारी शक्तिको पूजा, मान्यजनबाट आशीर्वादसँगै टीका ग्रहण, मीठा परिकार अनि नयाँ पहिरन । यी र यस्ता अनेकौं क्रियाकलापले दसैंलाई अन्य चाडभन्दा फरक बनाएको हुनसक्छ । दसैंको अवसरमा संभ्रान्तदेखि विपन्न वर्गसम्ममा एकै प्रकारको खुसी देख्न सकिन्छ । सम्पूर्ण पीडा एवं कष्ट बिर्सदै प्रफुल्ल भएर सुखानुभूति गर्न र भ्रातृत्व प्रगाढ गर्न सहयोगी हुने भएकाले दसैंलाई अन्य चाडभन्दा बढी महत्व दिइएको हो ।

                                                               - धर्ती सिंह गौतम, व्यवसायी

सत्यको विजय भएको दिन, त्यो पनि नारीशक्तिको बलमा । दसैं मात्र यस्तो एउटा चाड हो जहाँ नौ दिन दुर्गा भवानीका रूपमा नारीको पूजा हुन्छ । महिषासुरजस्तो शक्तिशाली राक्षसलाई बध गर्न सक्ने अत्यन्तै शक्तिशाली नारीको महत्वलाई बुझेर दसौं दिनसम्म उनको महिमा गाउनु चानचुने कुरा होइन जसले नारीको अर्थ र महत्वको प्रतिनिधित्व गरेको छ । नारीका विभिन्न रूपको व्याख्यासमेत गरी पूजा गरिने दसैंमा नारीलाई शक्तिस्वरूपा मात्र होइन धनदौलत, विद्या, शक्ति, रूप, मोह, आकर्षण एवं क्रोधजस्ता भावयुक्त तथा अनेक रूप धारण गर्नसक्ने सर्वशक्ति बताइएको छ । नारीका विभिन्न कला, क्षमता तथा शक्तिको सम्मान एवं पहिचान गरी त्यसलाई स्वीकार गरिएको हुनाले यो पर्व विशेष महत्वको छ ।

                                                     - मोमिला जोशी, साहित्यकार

सदियौंदेिख चलिआएका हाम्रा सांस्कृतिक धरोहर धान्ने सबै पर्व उत्तिकै प्रिय छन् तर दसैं मात्र एउटा यस्तो पर्व हो जुन विविधताले भरिपूर्ण छ । दसैंमा फरक–फरक किसिमका क्रियाकलापमा सहभागी भएर विविध कार्य गर्नुपर्ने हुँदा हामीमा छुट्टै सामथ्र्य पैदा हुन्छ । दसैं सम्बन्धित धार्मिक ग्रन्थले मात्र नभएर व्यवहारले नै पनि नारीको स्थान उच्च छ । नारी शक्तिको पूजा गरिने, टीका–आशीर्वाद ग्रहण गरिने, काम, व्यवहार, तनाव सबै बिर्सिएर लामो समयसम्म खुसीमा मस्त रहन पाइने भएकाले पनि दसैं विशेष छ । दसैंमा हुने लामो बिदाले विद्यार्थीहरूमा छुट्टै किसिमको तरङ्ग पैदा गर्छ । जागिरे तथा व्यवसायीहरूका लागि पनि यही बेला हो आफूलाई सुस्ताउने अवसर प्राप्त हुने जुन अहिलेको व्यस्त जमानाका मानिसको आवश्यकता पनि हो । हिजोदेखि आजको परिवेशसम्म सुहाउँदो र व्यावहारिक भएकाले पनि दसैं अरू चाडको तुलनामा महत्वपूर्ण भएको हो ।

                                   - कुमुद भट्ट छत्कुली, प्रिन्सिपल, हाइड एन्ड सिक प्रि–स्कुल

दसैंमा टाढा–टाढाका आफन्तजन पनि समय निकालेर भेट्न आउँछन् । लामो समयदेखि रिस–ईष्र्या, द्वेष भए पनि यतिबेला सबै कुरा बिर्सिएर टीका–आशीर्वाद आदान–प्रदान गरिन्छ । यो मात्र यस्तो पर्व हो जुन लामो समयसम्म लगातार मनाइन्छ । यसभित्र विभिन्न विधि छन् जसका छुट्टाछुट्टै धार्मिक एवं सामाजिक महत्व र अर्थ छन् । दसैंका नौ दिनसम्म नारी शक्तिको पूजा हुन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मले हर्षोल्लासपूर्वक मनाउने दसैं हाम्रा अन्य चाडभन्दा नितान्त पृथक् भएकाले पनि यसको महत्व बढी भएको हो ।

                                                                - प्रतिभा भण्डारी, गृहिणी

दसैं भन्नेबित्तिकै पिङ, टीका, जमरा, आशीर्वाद, नयाँ लुगा, मासुजस्ता थुप्रै कुरा हाम्रा मस्तिष्कमा आइहाल्छन् । दसैं एउटा यस्तो चाड हो जुन विविधताले भरिपूर्ण छ । अन्य चाडमा एउटा विधि, एकै किसिमको चलन अनि परम्परा छ भने दसैंभित्र थुप्रै संस्कृति छन् । खानपानदेखि लवाइसम्म अनि पूजादेखि ठूलाबडाको हातबाट आशीर्वाद लिनेसम्मका कार्यले हामीमा छुट्टै ऊर्जा पैदा गर्छन् । हामीलाई पूर्णरूपमा तरोताजा बनाउँछन् । जसरी धेरै चलाइरहेको कम्प्युटरलाई बेलाबेला रिफ्रेस गर्नुपर्ने हुन्छ दसैंले पनि हामीलाई हरेक कोणबाट रिजुभेन्ट गर्न मद्दत पुर्‍याउँछ तसर्थ यो हामी हिन्दूहरूमाझ सबैभन्दा विशेष चाड हुनपुगेको हो ।

                                                     - शर्मिला सुब्बा,

                                  सञ्चालक, आम्स्ट्रड्याम क्याफे तथा मार्केटिङ हेड निक

दसैं असत्यमाथि सत्यको विजयको पर्व हो । दुर्गा भवानीले महिषासुरलाई बध गरेको अवसर भएकाले यो पर्व महिलाहरूका लागि थप विशेष छ । दसैंमा नौ दिनसम्म चल्ने दुर्गापूजा तथा दसौं दिन गरिने टीका ग्रहण सर्वोत्कृष्ट छ । नारीशक्तिको विजयले यो पर्वलाई सुन्दर र महत्वपूर्ण बनाएको छ । यस्तो अन्य चाडमा पाइँदैन । दसैंमा विभिन्न मन्दिरको दर्शन गरी पूजाआजा गर्दा आत्मशुद्ध रहन्छ र शान्ति मिल्छ जुन यसको सुन्दर पक्ष हो । यस्तै विविध कुराको सम्मिश्रणले दसैंलाई अन्य पर्वभन्दा विशेष बनाएको छ ।

                                                      - डा.प्रभा क्षेत्री, बालरोग विशेषज्ञ, अल्का अस्पताल

हाम्रा अन्य चाडपर्व जाति र स्थान विशेषद्वारा मनाइन्छ तर दसैं सम्पूर्ण नेपालीले एकै किसिमले एकै समयमा मनाउँछन् । नेपालको पूर्वदेखि पश्चिमसम्म बस्ने प्रत्येक नेपालीले समान हिसाबले मनाउने भएकाले यो विशेष पर्व भएको हो । असत्यमाथि सत्यको विजय, न जाडो न गर्मी उपयुक्त मौसम भएकाले दसैं हरेकका लागि सुहाउँदो छ । असत्यमाथि सत्यको विजयमा दुर्गाको मुख्य भूमिका भएकाले महिलालाई बढी सम्मान र स्थान दिन थालियो भन्ने भनाइ पनि छ । सत्यको विजयोत्सवमा मान्यजनबाट टीका ग्रहण गर्न नबोलाई आफैं जाने संस्कार निक्कै पृथक् र बलियो छ । यिनै विविध पक्ष र कारणले गर्दा दसैं नेपालीहरूमाझ महत्वपूर्ण चाडका रूपमा स्थापित हुँदै आएको हो ।

                                                   - कमला कायस्थ, शिक्षाविद्

 Image