Successfully Copied

धर्मले महिलालाई सशक्त बनाउँछ कि कमजोर ?

हाम्रा धर्म–संस्कार एवं संस्कृतिले महिलालाई पछाडि पारेको छ भन्ने कुरा विभिन्न अधिकारवादी संघ–संस्था तथा व्यक्तिहरूबाट बेलाबखत सुन्न पाइँदै आएको छ । हाम्रा धर्म–संस्कृतिलाई नै पितृसत्ताको कारक मान्नेहरू महिला पछाडि पर्नुको मूल कारण पनि यसैलाई मान्छन् ।

हाम्रा धर्म–संस्कार एवं संस्कृतिले महिलालाई पछाडि पारेको छ भन्ने कुरा विभिन्न अधिकारवादी संघ–संस्था तथा व्यक्तिहरूबाट बेलाबखत सुन्न पाइँदै आएको छ । हाम्रा धर्म–संस्कृतिलाई नै पितृसत्ताको कारक मान्नेहरू महिला पछाडि पर्नुको मूल कारण पनि यसैलाई मान्छन् ।  

बुझेर गरियो भने असाध्यै सशक्त बनाउँछ तर नबुझी गरियो भने कमजोर बनाउँछ । हजारौं वर्षको प्रयोगपछि धर्म र संस्कृतिले एउटा बाटो समातेको हुन्छ । त्यो बाटो थाहा पाएर हिँड्ने मानिसका लागि साह्रै सुन्दर छ अनि थाहा नपाई जथाभावी हिँड्नेहरूका कारण त्यसैबाट विकृतिसमेत निम्तिन्छ । त्यसैले संस्कारले दिन खोजेको सांकेतिक उपलब्धिलाई बुझेर हिँड्नुपर्छ । सतही रूपमा बुझेर व्यवहार गर्न खोज्दा दु:ख पाइन्छ । विधवाको सेतो वस्त्र भन्दा पनि भित्री मनको शुद्धता कायम राख भन्न खोजिएको हो त्यसलाई नबुझी व्याख्या गरियो । वेदले महिलामाथि कुनै पनि कोणबाट विभेद गरेको छैन । व्यवहारलाई विकृतिका रूपमा प्रयोग गरी हामीले त्यसैलाई पछ्याउँदै आयौं । धर्म–संस्कृतिले दिएको संकेत एवं सन्देशप्रति ध्यान पुर्‍याइएन ।

 

निर्मला पोखरेल

उप–प्राध्यापक, संस्कृति विभाग त्रि.वि. कीर्तिपुर

धर्मशास्त्र कुनै बेला कानुनसरह थियो । त्यसैको डरमा मानिसहरू के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरा निर्धारण गर्थे । धर्म आफैंमा गलत हुन सक्दैन । यसलाई व्याख्या–अपव्याख्या गर्नेहरूले यसको व्यवहारिक पक्षलाई आफूअनुकूल बनाउँदै लाने क्रममा यस्तो स्थिति उत्पन्न भएको हो । जब नेपाली समाजमा पितृसत्ता सुरु भयो तब शक्ति केन्द्रमा पुरुषको बोलवाला हुन थाल्यो । पढ्न–लेख्न र ती कुरालाई व्यावहारिक रूपमा लागू गर्न–गराउनमा उनीहरूकै निर्णय हावी हुन थाल्यो । महिलाहरू शिक्षाको पहुँचबाट टाढा रहेका कारण शास्त्रमा के छ भन्ने कुरा समेत उनीहरूलाई थाहा नभैरहेको अवस्थामा आफू अनुकूल व्यवहार त परको कुरा भयो । धर्म संस्कृतिमा परिणत हुने क्रममा महिलाहरूलाई विभेद गरिने खालका संस्कार बन्दै गए र सोहीअनुसार सामाजिक व्यवहार चल्दै आयो । आज महिलाहरू आफ्नो अधिकारका बारेमा सजग भैसकेको अवस्थामा अब यस्ता कुरा सहेर बस्न चाहँदैनन् । धर्मभन्दा पनि संस्कार र चलन परिवर्तन गर्नु आजको आवश्यकता हो ।

शोभा कार्की

अधिवक्ता  

कुनै पनि धर्म–संस्कारको उद्देश्य मानिसलाई कमजोर बनाउने हुँदैन तर कुनै पनि संस्कारको जरामै पुगेर हेर्दा हाम्रो पितृसत्ता एवं नेतृत्वमा रहनेहरूले सामाजिक रूपमा जो निर्धो छ उनीहरूकै अधिकारलाई हिंसा गर्न पुग्छन् । कतिपय अवस्थामा यही कारणले धर्म र संस्कार पक्षपाती देखिन्छ । धर्म र संस्कारले कुनै पनि अधिकार हनन् हुनु हुँदैन भन्छ । संयुक्त राष्ट्रसंघ, सिडलगायत अन्य अन्तर्राष्ट्रिय कानुनले समेत धर्म र संस्कारद्वारा कसैमाथि पनि हिंसा र विभेद हुनु हुँदैन भनेको छ । धर्म र संस्कारको व्याख्या गर्ने शक्ति संरचनाले महिलाका हकमा काम नगरिदिँदा धर्म–संस्कार र संस्कृतिको प्रतिबिम्ब नकारात्मक देखिएको हो तर कुनै पनि धर्म–संस्कृति आफैंमा खराब होइनन् ।  

वन्दना राणा

युएन सिड कमिटी मेम्बर  

हाम्रो धर्म–संस्कारभित्र विविध कुरा छन् । कतिपय विचार एवं परम्पराले महिलालाई पछाडि पारेकै हो । जस्तो कि रजस्वला हुँदाको संस्कारदेखि परिवारभित्रै पनि महिला र पुरुषले निर्वाह गर्नुपर्ने भूमिकामा अन्तरका कुराले यसलाई प्रस्ट पार्छ तर कतिपय यस्ता नियम पनि छन् जसले नारीलाई उच्चस्थानमा राख्दै सम्मानजनक व्यवहार गर्न अह्राएका छन् । यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता...पनि त हाम्रै धर्मशास्त्रमा उल्लेख भएको कुरा हो । त्यसैले एउटै शब्दमा धर्मले महिलालाई बलियो वा कमजोर बनाउँछ भन्नु भन्दा पनि यसको बुझाइ र व्यवहार कुन ढंगले भैरहेको छ त्यतातर्फ केन्द्रित हुनु उचित होला ।  

अञ्जु तिवारी देवकोटा

 जनस्वास्थ्यकर्मी

धर्म–संस्कृतिले समाज र परिवारलाई ऐक्यबद्ध गर्छ । कुनै पनि कुरालाई सही ढंगले प्रयोग गरियो भने परिणाम राम्रै आउँछ । चुरापोतेकै कुरामा पनि कसैले आफ्नो इच्छा र रुचिले लगाउँछ भने त्यसमा जबर्जस्ती गर्नु हुँदैन । धर्म र संस्कृतिले मानिसलाई अनुशासित बनाउँछ, एकताबद्ध गर्छ तर यसलाई विकृत बाटोमा जान दिनुभएन । संस्कृतिका नामका कसैमाथि अन्याय, अत्याचार र जबर्जस्ती गरिनुभएन । पानी नपिई कसैले खुसी भएर व्रत बस्छ भने बस्न दिनुपर्छ तर जबर्जस्ती गरियो भने त्यही कुरा न्यायसंगत हुँदैन । हाम्रो धर्म–संस्कार एवं संस्कृतिले महिलालाई बलियो हुन सिकाउँछ । यस्ता कुरामा आरोप–प्रत्यारोप होइन चेतनामूलक कार्यक्रम चाहिन्छ । यसलाई क्रमश: परिस्कृत गर्दै जानुपर्छ ।

अनिता बिन्दु

सञ्चारकर्मी 

हिन्दूधर्मको मूल ग्रन्थ वेद हो । वेदका ऋचाहरूमा महिलालाई विभेद गर्ने कुनै पनि कुरा उल्लेख छैनन् । रह्यो कुरा संस्कार–संस्कृतिको, हो हामीकहाँ चल्दै आएका कतिपय चलन महिलाका लागि छुट्टै लाग्छन् तर आज हिजोको समय छैन । अमेरिकामा अहिलेसम्म बाँचिरहेका ९०–१ सय वर्षीया वृद्धासँग सोध्यो भने महिला अधिकार, सशक्तीकरण र भोटिङ राइट्सका लागि मात्र पनि कति संघर्ष गर्नुपरेको थियो थाहा हुन्छ । आज अमेरिकी महिला संसारकै शक्तिशाली देखिएर मात्र भयो र ? त्यसका पछाडिको इतिहास र यथार्थ केलाउने हो भने समय बदलिएसँगै व्यवहारमा परिवर्तन देखिन्छ । चलिआएका संस्कार समयअनुकूल परिवर्तन र परिमार्जन हुँदै जानुपर्छ ।  

रोमी घिमिरे

रजिस्टार नर्स

धर्मको परिभाषा फरक छ–परोपकार गरे पुण्य, अरूलाई पीडा दिए पाप । यसैलाई संस्कृतिमा ढालेपछि फरक हुनपुग्छ । धर्मले महिलाको अपमान गरेको छैन तर नेपालमा पितृसत्ता हावी भएपछि धर्मशास्त्रको सही व्याख्या समाजले बुझ्न पाएन किनभने यसको प्रयोग र व्यवहार ठ्याक्कै उल्टो हुँदै गयो । कारण शिक्षामा महिलाहरूको पहुँच पुगेन, शास्त्रका कुरा महिला स्वयं पढ्न सकेनन् । शक्तिशाली वर्ग पुरुषले सकारात्मक कुरालाई व्यवहारमा उतार्ने आवश्यकता देखेनन् अर्थात् जरुरी मानेनन् । अहिलेका महिलाले धर्मशास्त्रमा हाम्रो स्थान उच्च थियो अहिले त्यो किन सोहीअनुरूप लागू भएन भन्ने प्रश्न उठाइरहेका छन् । यो परम्परा खारेज गर्नु र सम्मानजनक स्थानलाई फिर्ता ल्याउनु, तिनको पुनव्र्याख्या गर्नु हामीजस्ता बहस गर्न सक्ने महिलाहरूको जिम्मेवारी हो ।  

सावित्री गौतम

लेखक  

धर्म–संस्कृतिले महिलालाई शक्ति दिएझैं गरेर बेफाइदा पुर्‍याइरहेको छ । संस्कृतिअनुसार व्रत बस्ने कुरा महिलाका लागि मात्र त्यो पनि पुरुषप्रति समर्पित भएर ? श्रीमान्को खुट्टा ढोग्ने, गोडाको जल खाने जस्ता कुरा महिलालाई मात्र किन ? धर्मले डर पैदा गर्छ, केही भैहाल्ने हो कि भन्ने डर । हाम्रो जस्तो शिक्षित र बुझ्ने पुस्ता बढ्दै गयो भने यस्ता समस्या कम हुँदै जान्छन् । म एक्लैले यसको प्रतिकार गर्न सक्दिन । यो तिमीहरूकै लागि त हो नि भनेर, यति गर्दियो भने यिनीहरू बोल्दैनन्, डराउँछन्, चुप लागेर बस्छन् भनेर महिलाप्रति भिन्न व्यवहार गरिन्छ । धर्मको मूल सारले महिलालाई उच्चस्थानमा राखेको होला तर त्यसअनुरूप व्यवहार देखिँदैन ।  

केकी अधिकारी

नायिका

धर्म–संस्कार भनेको कानुनसरह हुन्छ । यसले मानिसलाई अनुशासन र नियमभित्र राख्छ । हाम्रा कतिपय धार्मिक ग्रन्थमा महिलालाई उच्चस्थानमा राखेर पूजा गरिने कुरासमेत उल्लेख छ । हरेक कुरामा सकारात्मक र नकारात्मक पक्ष हुन्छन् तीमध्ये कुन कुरामा बढी केन्द्रित हुने सम्बन्धित व्यक्तिमा भर पर्छ । हाम्रो धर्मले हामीलाई संस्कारी हुन पनि सिकाएको छ अन्यथा हामी लगामबिनाको घोडाजस्तै छाडा पो हुन्थ्यौं कि ? यद्यपि कतिपय संस्कारले महिलालाई दबाएका छैनन् भन्दिन म, तिनलाई बिस्तारै परिमार्जन गर्दै लानुपर्छ । धर्म–संस्कारलाई सही ढंगले मान्दै जाने हो भने हामी अझ बलिया हुन्छौं ।  

पुष्पा श्रेष्ठ

व्यवसायी

 Image