Successfully Copied

फ्युजन स्टाइलको नेपाली घर

घर भनेको आफूलाई मन परेको म्युजियम हो । कामको सिलसिलामा दिनभरिको दौडधूपपछिको थकान लिएर घरमा छिर्दा घरको वातावरणले मेडिटेसनको काम गर्न सक्यो भने जीवन स्वत: स्वस्थ र रमाइलो हुन्छ ।

साकार श्रेष्ठ, आर्किटेक्ट

रेभरी डिजाइन, बालुवाटार

घर भनेको आफूलाई मन परेको म्युजियम हो । कामको सिलसिलामा दिनभरिको दौडधूपपछिको थकान लिएर घरमा छिर्दा घरको वातावरणले मेडिटेसनको काम गर्न सक्यो भने जीवन स्वत: स्वस्थ र रमाइलो हुन्छ । त्यसैले घर बनाउँदा आफूलाई मन परेका कुराहरू समावेश गरी डिजाइन गराउनुपर्छ ।

बाँसबारीस्थित यो घर ८ आना तथा बगैंचा ५ आना गरी जम्मा १३ आनामा बनेको छ । घरको मुख्य गेट छिर्नेबित्तिकै कार पार्किङ तथा गार्डेन छ । प्रवेशद्वार पश्चिममा रहेको यो घरको दक्षिण तथा पश्चिम खुल्ला छ । यहाँ बिहानको घाम मज्जाले घरभित्र छिर्न पाउँछ । दक्षिण भागमै बगैंचा छ भने घर छिर्नेबित्तिकै पोर्टिको छ । पोर्टिकोको बीचमा प्रवेशद्वार छ जसमा टिपिकल नेवारी कार्भिङ गरिएको काठको ढोका छ ।

अगाडि पिल्लरमा डची अपा र चाइनिज इँटा राखी डिजाइनर लुक्स दिइएको छ । घर छिर्नेबित्तिकै लबी आउँछ जसको दाहिनेतिर लिभिङ रुम छ । लिभिङ रुममा ठूला–ठूला झ्याल छन् । लबी र लिभिङ रुममा कलात्मक सेमी वाल खडा गरिएको छ । त्यसले दुईवटा कोठालाई छुट्टाउने काम गरेको छ । सेमी वाल बुट सेपमा डिजाइन गरिएको छ जसमा बसेर पुस्तक पढ्न तथा गितार आदि बजाउन सकिन्छ ।

वालको ओपन भागलाई विभिन्न किसिमले सजाउन सकिन्छ । ढोकाको दाहिने भागमा दुईवटा स्टान्ड छन् । यो घरलाई आकर्षक देखाउन स्टान्डमा बुद्धको ठूलो प्रतिमा राखिएको छ । ती स्टान्ड घर बनाउँदा काम नलाग्ने इँटाका टुक्राहरूले बनाइएको हो ।

यो घरको चौडाइ कम भएकाले ठाउँ खेर नजाने हिसाबले यसको डिजाइन गरिएको छ । यस्तो जग्गामा सेमी वाल र ओपन कन्सेप्टमा घर ठूलो तथा उज्यालो देखिन्छ । लबीको छेउमा बाथरुम छ । बाथरुमको छेउतिरका भित्ताहरूमा आर्ट तथा कलात्मक सजावटी सामग्रीहरू राखिएका छन् । उत्तर–पूर्वमा वास्तुअनुसार भान्सा राख्न नहुने भए पनि यहाँ त्यतै भान्सा बनाइएको छ । उत्तर–पूर्वमा भान्सा राख्दा कोठा आफै तातो भैरहन्छ र माथिको किड्स रुम पनि तातो हुन्छ । लिभिङ रुमसँगै ठूलो डाइनिङ टेबुल छ । त्यसलाई पनि हाफ वालले छुट्याइएको छ । लिभिङ रुममा हाफ वुडन फ्लोर तथा हाफ डची अपा: फ्लोर छ । किचेन र डाइनिङको बीचमा ठूलो काउन्टर छ जहाँ खाना सर्भ गर्न वा त्यहीँ बसेर बारमा जस्तै स्टुल राखी खान सकिन्छ ।

माथिल्लो तल्लामा जाने भर्‍याङ तल स्ल्याबमा बत्ती राखिएको छ । पहिलो तल्लामा मास्डर बेड रुम, चिल्ड्रेन रुम तथा गेस्ट रुम छन् । भर्‍याङको दाहिने भागमा खुल्ला टिभीसहितको फेमिली रुम छ । पहिलो तल्लाको माथिल्लो भागमा खुल्ला पूजा कोठा छ र साइडको भागमा खुल्ला स्पेस छ । जहाँ घरका स–साना पार्टी सम्पन्न गर्न सकिन्छ । यो पूरै घरलाई सेतो प्लास्टर र चाइनिज ब्रिक्सको एक्सपोज गरी बनाइएको छ । घरको दायाँ र बायाँमा ट्रांगुलर विंक्स निकालेर झ्याल राखिएको छ । उक्त विंग्समा ४–४ वटा देवल छन् । दक्षिणतिरको विंग्समा मास्टर बेड रुम छ । उत्तरको विंग्समा भर्‍याङ परेको छ ।

जसले घाम पनि भित्र छिर्छ भने भर्‍याङ चढ्दा डेकोरेटिभ स्पेसको कामसमेत गर्छ । घरको बाहिरी भागमा नेपालीपन दिन टुँडालहरू राखिएका छन् । छानामा तैलीय टाइल राखिएको छ । बाहिरबाट हेर्दा यो छत प्यारापेट माछाजस्तो देखिन्छ । यसले घरको सौन्दर्य अझ बढाएको छ । घरको माथि बरन्डा छ । बरन्डामा अगाडि कर्भ लाइनमा फ्लावर वेस बनाइएको छ । यो कन्टेम्प्ररी सेपमा भर्नाकुलर आर्किटेक्चर मिक्स गरिएको फ्युजन घर हो । यो घरको पूर्व, पश्चिम र दक्षिणतिर कौसीहरू छन् । यो घरका तीन भागका झ्यालहरूले घरमा ताजा हावा प्रदान गर्छन् । यस्तो ओपन कन्सेप्टको घरले दिमागलाई फ्रेस राख्छ ।

 Image