Successfully Copied

घरमा अफिस बनाउँदा ध्यान दिनुपर्ने कुरा

धेरैजसो मानिस घर तथा कामलाई छुट्टाछुट्टै राख्न चाहन्छन् तर केही वर्षयता घरमा अफिस बनाउने अवधारणाको पनि विकास भएको छ ।

धेरैजसो मानिस घर तथा कामलाई छुट्टाछुट्टै राख्न चाहन्छन् तर केही वर्षयता घरमा अफिस बनाउने अवधारणाको पनि विकास भएको छ । त्यसैले हिजोआज घरमा अफिस बनाउने चलन बढ्दो छ । यो ती महिलाका लागि महत्वपूर्ण छ जो घरमै काम गर्न चाहन्छन् । यो कन्सेप्ट सन् १९९० देखि सुरु भएको हो । यसलाई स्मल अफिस एन्ड होम भनिन्छ । अहिलेका हरेक शिक्षित महिला काम गर्न चाहन्छन् । यसले पनि घरमा अफिस बनाउन सहयोग गर्छ । यद्यपि घरलाई अफिस बनाउन गाह्रो छ । यसमा व्यावहारिक कठिनाइ आउन सक्छ । योजनाबद्ध रूपमा घरमै सुविधाजनक अफिस बनाउन भने सकिने होइन । 

खाली ठाउँको सदुपयोग 

हामी घरमा भएको खाली ठाउँलाई कमै ध्यान दिन्छौं । यदि अफिसको काम धेरै छैन भने पढ्ने कोठा वा बैठक कोठालाई पार्टेसन गरेर कार्यालय बनाउन सकिन्छ । काम गर्न धेरै समय लाग्छ र गम्भीर प्रकृतिको छ भने त्यसका लागि अलग ठाउँ बनाउनुपर्छ । तीन–चार वटा बालकोनी भएको घर छ भने एउटालाई कभर गरेर अफिसका रूपमा उपयोग गर्न सकिन्छ । घरमा ठाउँको कमी छ भने स्टोर कोठालाई पनि अफिसका रूपमा परिणत गर्न सकिन्छ । त्यसैले भरसक आफूलाई काम नलाग्ने ठाउँ रोज्नुपर्छ । त्यसपछि अफिस फेर्नुपर्ने झन्झट हँुदैन । 

हावा लाग्ने कोठा 

हावा आउने खुल्ला कोठाले कार्यक्षमतामा वृद्धि गर्छ । एसी र पंखाबाहेक यदि कोठामा प्राकृतिक हावा आउँछ भने त्यसले काममा ऊर्जा थप्छ । यदि काम कलात्मक छ भने झ्यालबाट बाहिर हेर्दा हरियाली तथा सुन्दर वातावरणले काम गर्न प्रेरणा दिन्छ । त्यसैले अफिस कोठा हावा आउने तथा सुन्दर दृश्य अवलोकन गर्न सक्ने हुनुपर्छ । 

प्रकाशको व्यवस्था 

आफ्नो घरको कुनै पनि कुनामा अफिस बनाउँदा त्यहाँ सूर्यको प्रकाश आउँछ–आउँदैन ख्याल राख्नुपर्छ । कम प्रकाश आउने ठाउँमा काम गर्दा हानि हुन्छ । त्यसैले पूरै वर्ष तथा हरेक मौसम अनुकूल हुने कोठा रोज्नु लाभदायक हुन्छ । यदि गर्मीमा अफिस बनाउने हो भने जाडो एवं वर्षा दुवैलाई ध्यान दिनुपर्छ । कोठामा आउने प्रकाशले कुनै पनि खालको हानि पुर्‍याउनु हुँदैन । 

शान्त वातावरण 

घरमा अफिस बनाउँदा घरको कामकाजबाट मुक्ति पाउन कठिन हुन्छ । कुनै न कुनै रूपमा घरको काममा अल्मलिइरहनुपर्छ । यदि अफिस भान्सा तथा बालबालिकाको कोठाको नजिक छ भने त्यहाँ शान्तिपूर्वक काम गर्न गाह्रो हुन्छ । भान्सा नजिक छ भने समय–समयमा चिया वा कफीको मज्जा लिन सकिन्छ । यदि घरका सबै सदस्यको खाना तयार हुँदैछ भने त्यसले काममा बाधा पुर्‍याउँछ । त्यसैले हल्ला नहुने शान्त ठाउँमा अफिस कोठा बनाउनुपर्छ । 

सुविधाजनक फर्निचर 

सानो ठाउँमा व्यवस्थित रूपमा धेरै फाइल तथा सामान राख्न मिल्ने फर्निचर राख्नुपर्छ । यदि कम्प्युटरमा काम गर्नुपर्छ भने त्यहाँ किबोर्ड, माउस, चेयर र डेक्सटप कम्प्युटरका लागि राम्रो खालको फर्निचर छान्नुपर्छ । आलमारी तथा क्याबिनेट डिजाइन गर्दा सबै सामान आफ्नो पहुँचमा हुनुपर्छ र व्यवस्थित पनि देखिनुपर्छ । भारी तथा धेरै ठूला फर्निचरले कोठा भरिएको देखाउँछ । त्यसैले थोरै भए पनि खाली ठाउँ छोड्नुपर्छ । 

अनावश्यक कुरा नराख्ने 

अफिस डिजाइन गर्दा अनावश्यक कुराको संग्रहबाट बच्नुपर्छ । नचाहिने कागजात डस्टबिनमा फाल्नुपर्छ र तत्काल प्रयोगमा नआउने सामानलाई स्टोर वा अर्को कोठामा राख्न सकिन्छ । आफूलाई चाहिने सामानलाई एक ठाउँमा राख्दा काम गर्न सुविधा हुन्छ । आफ्नो सानो अफिसलाई सफा राख्ने कुरामा सम्झौता गर्नु हुँदैन । 

मुड फ्रेस राख्न 

शान्त तथा एकाग्र भएर काम गर्न अफिसमा आफ्नो मुड फ्रेस राख्न सहयोग गर्ने सामान राख्नुपर्छ । भित्तामा आफूलाई मन पर्ने रंग लगाउन सकिन्छ । इन्डोर प्लान्ट तथा डेक्स प्लान्ट राख्नुपर्छ । पारिवारिक तस्बिरका साथमा कुनै ल्याडस्केप पनि राख्न सकिन्छ । म्युजिकप्रति रुचि छ भने आफूलाई मन पर्ने सिडी पनि राख्न सकिन्छ तर कुनै पनि सामान राख्नु पहिले त्यो आफूले काम गर्ने कोठा हो भन्ने कुरामा पनि विचार पुर्‍याउनुपर्छ । 

वास्तुमा ध्यान दिने 

हिजोआज घरबाट टाढा काम गर्न जानुपर्ने झन्झटबाट बच्न धेरै महिला घरमै बसेर काम गर्न रुचाउँछन् । यसले केही सजिलो पनि भएको छ । घरमै अफिस बनाएर काम गर्न वास्तुमा ध्यान दिनुपर्छ । 

–अफिस सधंै घरको दक्षिण–पश्चिम दिशामा नैऋत्य कोणमा हुनुपर्छ । 

–दक्षिण दिशामा बनेको कुनै पनि कोठालाई अफिस बनाउन सकिन्छ ।

–विकल्पका रूपमा पश्चिम दिशामा बनेका कोठालाई पनि अफिस बनाउन सकिन्छ । 

–अफिसमा बस्दा पछाडिको भागमा कुनै झ्याल अथवा ढोका हुनु हुँदैन ।

–यदि अफिस समाज सेवा गर्ने उद्देश्यले बनाउने हो भने पूर्व तथा उत्तर दिशामा बनेका कुनै पनि कोठालाई व्यवस्थित गरी अफिसको स्वरूप दिन सकिन्छ । 

–यदि घरमै अफिस संचालन भएको छ भने फाइल, कम्प्युटर आदि सरसामान बेडरुममा राख्नु हुँदैन । यसको नकारात्मक प्रभावले निद्रामा असर पर्छ ।

–घरको अफिस कोठामा लाफिङ बुद्धको मूर्ति राख्नुपर्छ । यो अफिसमा प्रवेश गर्ने आगन्तुकले सीधा देख्ने ठाउँमा हुनुपर्छ । यसले गर्दा आगन्तुकमा सकारात्मक प्रभाव पर्छ । 

–टेबुलमा धातुले बनेको पेपर वेट प्रयोग गर्नु हुँदैन । त्यसको ठाउँमा सिसा तथा काठको पेपर वेट प्रयोग गर्न सकिन्छ । धातुले हाम्रो शरीरको ऊर्जालाई सोस्छ । 

–अफिसको पूर्व दिशामा लक्ष्मी र गणेशको सानो प्रतिमा वा मूर्ति राख्न सकिन्छ । 

–अफिसको ढोका भित्रतिर खुल्ने हुनुपर्छ । यसले गर्दा सकारात्मक सोचको विकास हुन्छ । 

–अफिसको भित्ता तथा पर्दाको रंग हल्का एवं सुन्दर हुनुपर्छ । धेरै चम्किलो रंगले नकारात्मक प्रभाव पार्छ । 

 Image