‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल
गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।
तपाईंले गाएका प्राय: गीत चल्नुको कारण के होला ?
अहिलेको ट्रेन्डमा एडजस्ट हुन जानेको भन्दा हुन्छ । म मानवीय चाहनालाई मध्यनजर गरी गीत बनाउँछु, त्यही भएर सबैले रुचाउनुभयो ।
तपाईंका प्रशंसक कस्ता छन् ?
बालबालिकाहरू नै बढी छन् । उनीहरू यी गीतमा मज्जाले नाच्छन्, गाउँछन् । यद्यपि युवादेखि वृद्धवृद्धासम्मले मन पराएका छन् मेरा गीत ।
तपाईं पहिले कम्पोजर हुनुहुन्थ्यो होइन ?
हो, विगत १० वर्षदेखि अहिलेसम्म पनि म्युजिक कम्पोज गर्दैछु । मैले मञ्जरी, भिसा गर्ल, मालतीको भट्टी, रेशम फिलिलीजस्ता धेरै गीत कम्पोज गरेको छु ।
क्रेजकै कारण संगीतमा लाग्नुभएको हो ?
गायकको तुलनामा कम्पोजर, वाद्यवादकहरू सधै पछाडि नै हुन्छन् । थोरै क्रेजमा आउने लोभ पनि हो तर मैले पारि त्यो डाँडामा गीतका लागि अरू गायक नजुरेकाले आफै गाएको हुँ । त्यो गीत भाइरल भएपछि ममा गाउने चाहना पनि बढ्यो ।
गायनमा लागेको दुई वर्षमै यत्तिको चर्चा कमाउँदा कस्तो लागिरहेको छ ?
अचम्म मानिरहेको छु । छोटो समयमै ३ वटा गीत भाइरल भए । यद्यपि मैले यत्तिकैमा चित्त बुझाएको छैन ।
कुन–कुन गायिकासँग युगल गीत गाउनुभयो ?
सोमिया बराइली, माण्डवी त्रिपाठी र मीना निरौलासँग ।
अब कोसँग गाउने रहर छ ?
नेपालका सबैजसो गायिकासँग युगल गीत गाउने रहर छ ।