Successfully Copied

फूल थरीथरीका

घर वरिपरि फुल्ने विभिन्न प्रकारका फूलले जे कसैलाई हर्षित तुल्याउँछ । घरको वातावरण सुन्दर तथा रमणीय बनाउने फूलको वासना तथा यसको रंगीबिरंगी बनावटले बगैचामा फरक आयाम थप्छ । हिजोआज नेपाली घर–आँगनमा पनि विविध प्रकारका फूल रोप्ने तथा तिनलाई फरक–फरक तरिकाले उमार्ने–सजाउने चलन बढिरहेको

घर वरिपरि फुल्ने विभिन्न प्रकारका फूलले जे कसैलाई हर्षित तुल्याउँछ । घरको वातावरण सुन्दर तथा रमणीय बनाउने फूलको वासना तथा यसको रंगीबिरंगी बनावटले बगैचामा फरक आयाम थप्छ । हिजोआज नेपाली घर–आँगनमा पनि विविध प्रकारका फूल रोप्ने तथा तिनलाई फरक–फरक तरिकाले उमार्ने–सजाउने चलन बढिरहेको छ । मौसमअनुसार बगैंचामा विविध प्रकारका फूल रोपिन्छन् । जाडो तथा गर्मी मौसममा फरक–फरक प्रकारका फूल रोपिन्छ । फूलले मानसिक तनाव पनि कम गर्छन् । अहिले फूल रोप्नु–सजाउनु पनि राम्रो कलाका रूपमा विकास भैरहेको छ । बजारमा विविध प्रकारका फूल उपलब्ध छन् जसलाई रोपेर जीवनलाई फूलमय एवं रंगीचंगी बनाउन सकिन्छ । 

कार्नेसन :

कार्नेसनलाई बगैंचाको शोभा मानिन्छ । यो निकै आकर्षक हुन्छ । त्यसैले यसलाई पुष्प सजावटमा बढी प्रयोग गरिन्छ । कटिङ फूलहरूमा पनि यसको बढी माग छ । यसलाई रोपेर राम्रोसँग हेरचाह गर्न सके  निकै सप्रन्छ । नेपालका फूलप्रेमीहरूले कार्नेसनलाई निकै रुचाएका छन् । यसको फूल २ देखि ३ इन्च चौडा हुन्छ । यसको डाँठ दुई फुटजति लामो हुन्छ । यो विशेषगरी रातो, गुलाबी, प्याजी, पहेंलो, सेतो तथा घिउ रंगमा पाइन्छ । लामो समयसम्म ताजा रहने भएकाले यसलाई गुच्छा तथा बुके बनाउन प्रयोग गरिन्छ । यसलाई बीउको माध्यमले रोप्न सकिन्छ । बीउ रोपेको केही समयपछि यसको बेर्नालाई अन्त सार्नुपर्छ । यो फूलबाट ल्वाङको जस्तो हल्का वासना आउँछ । विश्वभर यसका तीन सयभन्दा बढी प्रजाति पाइन्छन् । कार्नेसनलाई गमला, क्यारी, खाली मैदान तथा रक गार्डेन जतासुकै रोप्न सकिन्छ । कार्नेसन सूर्यको किरणमा निकै मौलाउँछ । यसलाई मलिलो माटोमा हुर्काउन सजिलो हुन्छ । बढी सुख्खाका कारण यसको बिरुवा मर्न सक्छ । त्यसैले समय हेरी पानी दिनुपर्छ । मल तथा

किटनाशक 

औषधि पनि समय–समयमा हाल्नुपर्छ । वसन्त ऋतुमा यो फूल फुल्न थालेपछि लामो समयसम्म टिक्छ । 

बर्ड अफ प्याराडाइज : यो पनि बगैंचाका लागि उत्कृष्ट फूल मानिन्छ । स्वरूपका आधारमा यो फूल निकै पृथक् देखिन्छ । यसलाई क्रेन फूल पनि भनिन्छ । अफ्रिकातिर यस्तै प्रकारको चरा पाइने भएकाले पनि यसलाई बर्डको संज्ञा दिइएको हो । यसको पात निख्खर हरियो तथा त्यसको बीच भागमा रातो धर्सो हुन्छ जुन झट्ट हेर्दा केराको पातजस्तो देखिन्छ । यो फूल सुन्तला रंगको हुन्छ भने यसको बीच भागको जिब्रो हरियो रंगको हुन्छ । एक पटक रोपेपछि यो फूल लामो समयसम्म बगैंचाको शोभा बनेर बस्छ । यो फूल सप्रन पर्याप्त सूर्यको किरण आवश्यक पर्छ । धेरै तातो भयो भने यसलाई केही समय छायाँमा राख्न सकिन्छ । धेरै पानी भएको ठाउँमा पनि यो मौलाउन सक्दैन । यसमा समय–समयमा मल हाल्नुपर्छ भने गर्मी महिनामा नियमित रूपमा पानी दिनुपर्छ । 

हलीहक :

वसन्त ऋतुमा फुल्ने हलीहक मन नपराउने मानिस कमै होलान् । यो फूल निकै राम्रो हुन्छ । यसको फूलको आकार चार इन्च हुन्छ । यो गमलामा भन्दा जमिनमा रोप्दा राम्रोसँग फस्टाउँछ । यो फूलको बिरुवा वयस्क भएपछि नौ फिटसम्म अग्लो हुन्छ । हलीहकलाई पनि सूर्यको किरण तथा मलिलो माटो आवश्यक हुन्छ । बीउ रोपेको केही समयमा बेर्ना उम्रन थाल्छ । यसलाई माटो भित्र चार इन्चको गहिराइमा दुई फिटको फरकमा रोप्न सकिन्छ । रोप्दा सबै कुरा मिलाउन सकियो भने यो लामो समयसम्म फुल्छ । विरुवा सुकेपछि यसको बीउलाई नयाँ बिरुवा उमार्न प्रयोग गर्न सकिन्छ । यसमा किटपतंग लाग्न सक्छ त्यसैले किटनाशक औषधि प्रयोग गर्नुपर्छ । यो फूल सेतो, रातो, गुलाबी, मजेन्टा, बरगन्डी आदि रंगमा फुल्छ । 

एजेलिया :

यो फूललाई रोयल्टी अफ गार्डेन पनि भनिन्छ । एकसाथ धेरै फुल्ने भएकाले पनि यो फूल फुलेपछि बगैंचाको रौनक नै बेग्लै हुन्छ । चाँडै हुर्काउन सकिने एजेलियालाई सजिलै सबैतिर उमार्न सकिन्छ तर राम्रो फूलका लागि बिरुवा रोप्ने स्थान सही हुनुपर्छ । बिरुवाहरू बीचमा केही ग्याप राखी रोप्नुपर्छ । यसलाई माघ–फागुन महिनामा रोप्नुपर्छ । यो फूल अम्लीय माटो, उपयुक्त प्रकाश तथा उज्यालो स्थानमा राम्रोसँग हुर्कन्छ । यसमा कम्पोस्ट मल प्रयोग गर्न सकिन्छ । यसलाई पुष्पविन्यासमा समेत प्रयोग गरिन्छ । यसको बिरुवाको लम्बाइ दुईदेखि आठ फिट अग्लो हुन्छ । एजेलिया सेतो, लेबेन्डर, प्याजी, सुन्तला, गुलाबी तथा सुनौलो रंगमा फुल्छ । यसलाई दिउँसोको चर्को घामबाट जोगाउनुपर्छ । 

ड्याफोडिल :

बगैंचामा फुल्ने पहेंलो फूलले वसन्त ऋतुको आगमनको संकेत दिन्छ । वसन्त ऋतुमा फुल्ने यो फूलले बगैंचालाई सुन्दर बनाउँछ । यो फूललाई शुभ मानिन्छ । नयाँ वर्षमा यो फुल्यो भने यसले घरमा सुख–समृद्धि ल्याउने विश्वास गरिन्छ । विश्वभरि यसका दुई सय प्रजाति पाइन्छन् । यो फूल जाडोको अन्त्य तथा वसन्त ऋतुमा फुल्छ । यसको फूल विविध आकारको हुन्छ । यो सुन्दर फूल पाँच पत्रदल भएको सेतो तथा पहेंलो रंगमा पाइन्छ । यसको पात फरक शैलीको लामो हुन्छ । पातरहित काण्डमा १ देखि २० वटा फूल फुल्छन् । धेरै फूल फुल्दा यसको बोटलाई सपोर्ट पनि दिनुपर्छ । यसलाई जतासुकै रोप्न सकिन्छ । यो घरभित्र पनि राम्रोसँग मौलाउँछ । यसको बीउलाई सूर्यको राम्रो प्रकाश आउने ठाउँमा उमार्नुपर्छ । यसका लागि अम्लीय माटो उपयुक्त मानिन्छ । बीउ राम्रो तथा स्वस्थकर छान्नुपर्छ । बीउको दूरी ३ देखि ६ इन्च हुनुपर्छ । यसमा समय–समयमा मल तथा किटनाशक औषधि छर्नुपर्छ । पानी तथा प्रकाश यसका लागि निकै लाभदायक मानिन्छन् ।

जर्बरा :

यो पनि आकर्षक फूलहरूमध्ये एक हो । सुन्दरताका कारणले पुष्पविन्यासमा यसको प्रयोग बढी गरिन्छ । यद्यपि घरको फूलदानीमा पनि यसले राम्रो स्थान पाउने गरेको छ । यो फूल उज्यालो भएकाले यसले वातावरण नै उज्यालो बनाउँछ । दक्षिण एसियाबाट आएको यो फूलका विविध प्रकार, आकार तथा रंग छन् । फूलको आकार दुईदेखि पाँच इन्च हुन्छ । यसलाई भुइँ तथा गमलामा रोप्न सकिन्छ । यसको बीउ एक पटक रोपेपछि पटक–पटक उम्रेर फुल्छ । यसलाई सूर्यको किरण पर्ने ठाउँ तथा बलौटे माटोमा हुर्काउनुपर्छ । राम्रो फूलका लागि कम्पोस्ट मल प्रयोग गर्नुपर्छ । यसको पातभन्दा जराको भागमा पानी प्रसारण गर्नुपर्छ । यसका पहेंलो, सुन्तला, रातो तथा गुलाबी रंग बढी रुचाइएको छ । यसलाई ल्यान्डस्केपमा किनारा बनाउन पनि प्रयोग गरिन्छ । जर्बरा जति सुन्दर देखिन्छ त्यति नै यसलाई हुर्काउन पनि सजिलो हुन्छ । यो फूल चिसो ठाउँमा हुर्कन सक्दैन । यसका लागि सूर्यको पर्याप्त प्रकाश आवश्यक हुन्छ । यसको बीउलाई आधा इन्चको गहिराइमा रोप्नुपर्छ । 

 Image