महिलामैत्री छैन महिनावारी

प्राइमरी डिस्मेनोरिया हुँदा महिनावारीका बेला तल्लो पेट, कम्मर तथा ढाड दुख्छ । पीडा बढ्दै गए खुट्टा तथा टाउको दुख्ने तथा वाकवाकी लाग्ने लक्षणसमेत देखा पर्छन् । यसो हुनुको कारण कम उमेरमा महिनावारी हुनु एवं एस्ट्रोजन तथा प्रोजेस्टोरन हार्मोनको असन्तुलन हो ।

उपासना पाण्डे

माघ १७, २०७३ 

चाबहिलकी ३० वर्षीया रश्मि श्रेष्ठले विवाहअघि महिनावारी बार्ने गरेकी थिइनन् । विवाहपछि घरमा चार दिनसम्म छुन नहुने चलन थियो । उनलाई त्यो सब गर्न निकै गाह्रो भयो । सुरुवातका केही समय उनले चुपचाप ती सबै नियम पालना गरिन् । अलग्गै बसेर खाने, भान्सामा नजाने आदि, तर बिस्तारै उनलाई यो सब असहज हुँदै गयो र उनले सासूलाई कन्भिन्स गराएरै छोडिन् । बिस्तारै उनकी सासूमा पनि परिवर्तन देखा पर्‍यो । अहिले उनी महिनावारी हुँदा पनि घरको सबै काम गर्छिन् अनि सासूसँगै एउटै टेबलमा बसेर खाना खान्छिन् ।

 

अनामनगरकी कृपा शर्माको घरमा भने महिनावारीमा अहिले पनि भान्सा तथा अन्य कोठामा प्रवेश गर्नु हुँदैन  । महिनावारी भएको ३ दिन बिताउन उनलाई असाध्यै पीडा हुन्छ । शर्मा यसलाई मान्ने पक्षमा त छैनन् तर छाडिहाल्ने हिम्मत पनि उनमा छैन । अहिले पनि हाम्रो समाजमा एकातिर महिनावारी भएका बेला भान्सा नछुनेदेखि पूजापाठ नगर्नेसम्मका मानिस छन् भने अर्कातिर यो प्राकृतिक कुरा हो, यसलाई मान्नु हुँदैन भन्नेहरू पनि बढ्दै गएका छन् । यो अपवित्र होइन भन्ने मान्यता राख्नेहरू पनि उत्तिकै छन् । कतिपयले यस्तो बेला पूजाआजा तथा चाडपर्व परे छोइन्छ भनेर औषधि खाई महिनावारी पछाडि सार्ने काम पनि गर्दै आएका छन् ।

 

जे भए पनि यसलाई पूर्ण रूपमा अस्वीकार गरी समाज लचिलो भने हुन सकेको छैन । अहिले पनि कतिपय ठाउँमा महिनावारी हुँदा महिलालाई घरबाहिर राख्ने चलन छ । ग्रामीण भेगमा त पहिलोपटक महिनावारी हुँदा गोठमा सुताउने चलन छ । सहरतिर पनि घरका केटा मानिस तथा घाम हेर्न हुँदैन भनेर कोठाभित्रै राख्ने चलन यथावत् छ । यसले महिलालाई मानसिक एवं शारीरिक रूपमा पनि असर पार्न सक्छ । फोहोर ठाउँमा बस्दा, सुत्दा फोहोरका कारण बिरामी हुने सम्भावना पनि उत्तिकै रहन्छ भने विद्यालय जाने किशोरीहरूको पढाइसमेत छुट्ने गरेको छ । महिनावारी हुनु नराम्रो कुरा होइन यो प्रकृतिले दिएको मासिक चक्र हो । 

 

महिनावारीमा पेट दुख्ने समस्या 

पेप्सीकोलाकी खुसी थापा महिनावारी हुँदा असाध्यै पेट दुख्ने समस्याले पीडित छिन् । उनी त्यतिबेला पेन किलर खाएर आफ्नो पीडा कम गर्छिन् । यस्तो समस्या धेरै महिलालाई हुन्छ । असाध्यै पेट दुख्दा कतिलाई बान्ता आउने तथा वाकवाकी लाग्नेसम्म हुन्छ । खान मन नलाग्नुका साथै नियमित गर्नुपर्ने काममा पनि ध्यान जाँदैन । यस्तो समस्यालाई ‘डिस्मेनोरिया’ भनिन्छ । यो समस्या विवाहित तथा अविवाहित दुवै महिलामा देखिन्छ । यस्तो अवस्थामा पीडा सहन नसकेर आफूखुसी औषधि सेवन गर्नु गलत भएको चिकित्सकहरू बताउँछन् । पीडा धेरै भए चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ । पछि बिस्तारै पीडा कम हुँदै जान्छ । कतिपय महिलामा विवाहपछि यो समस्या केही हदसम्म कम हुँदै जान्छ । यस्तो पीडा पनि दुई किसिमको हुन्छ– प्राइमरी तथा सेकेन्डरी । प्राइमरी डिस्मेनोरिया अविवाहित तथा युवतीहरूलाई हुन्छ । 

कहिलेकाहीँ खानपान तथा बसाइ सराइका कारण पनि महिनावारी गडबड हुन्छ । पोषण तथा सन्तुलित खानाको अभावमा महिलाहरू कमजोर हुन्छन् साथै धेरै मोटाउँदा तथा दुब्लाउँदा पनि शरीरमा महिनावारी गराउने तत्व घटबढ भै महिनावारी अनियमित हुन्छ । 

डा. उर्मिला कार्की, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, काठमाडौं मेडिकल कलेज 

प्राइमरी डिस्मेनोरिया हुँदा तल्लो पेट, कम्मर तथा ढाड दुख्छ । पीडा बढ्दै गए खुट्टा तथा टाउको दुख्ने तथा वाकवाकी लाग्ने लक्षणसमेत देखा पर्छन् । यसो हुनुको कारण कम उमेरमा महिनावारी हुनु एवं एस्ट्रोजन तथा प्रोजेस्टोरन हार्मोनको असन्तुलन हो । महिनावारीमा पाठेघर खुम्चने तथा तन्कने कारणले पनि तल्लो पेट दुख्छ । यो समयमा यौनाङ्गमा कुनै समस्या भए वा रगत बग्ने नली साँघुरो भए प्राइमरी डिस्मेनोरिया हुन सक्छ । वंशाणुगत कारण तथा अधिक मोटोपन एवं जीवनशैलीका कारण पनि युवतीहरूमा यस्तो समस्या देखापर्छ । 

 

सेकेन्डरी डिस्मेनोरिया खासगरी २० वर्ष माथिकालाई हुन्छ । यो विवाहितहरूमा पनि देखिन्छ । महिनावारी समयमा नहुनु, भए पनि रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा योनि दुख्नु, बाँझोपन तथा अत्यधिक सेतो पानी बग्नु यसका लक्षण हुन् । यो समयमा औषधिको सेवनले मात्र पनि पीडा कम नहुन सक्छ । पाठेघरमा ट्युमर तथा इन्फेक्सन हुँदा पनि यस्तो समस्या आउँछ । प्रजनन् रोग, अण्डाशय तथा अण्डवाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म परिवार नियोजनका साधनको प्रयोग तथा अनियमित औषधिको प्रयोगका कारण पनि यस्तो समस्या आउँछ । यो आफैंमा रोग होइन तर यो अन्य रोगको कारण हुनसक्छ । त्यसैले समयमै उपचारमा लाग्नुपर्छ ।

एथलेट्स (धावक) महिलाको महिनावारी पनि गडबड हुनसक्छ । यस्ता महिलामा खेलका कारण मेल हार्मोनको प्रभाव वृद्धि हुन्छ । कतिपय अवस्थामा महिला खेलाडीहरूले महिनावारी रोक्ने औषधि सेवन गर्छन् ।

डा. स्वराज राजभण्डारी

महिनावारीमा देखा पर्ने समस्या

महिनावारी प्राकृतिक कुरा हो । यससम्बन्धी उचित ज्ञानको अभावमा यो धेरैका लागि समस्या बनिरहेको छ । यसले गर्दा कतिपय महिला शारीरिक तथा मानसिक पीडा खेप्न बाध्य छन् । कतिपयले यसका बारेमा उचित ज्ञानको अभावमा भ्रम पालिरहेका छन् भने कतिपयले लापरबाही गर्ने गरेका छन् । यी दुवै स्थिति स्वास्थ्यका लागि हानिकारक छन् । कतिपय किशोरीमा पहिलो महिनावारी भएपछि २–४ महिनासम्म हुँदैन । यसलाई सामान्य मानिन्छ । हिजोआज धेरै महिलाले हार्मोनजन्य औषधि सेवन गर्न थालेका छन् । यो कारणले पनि महिनावारी केही दिनअघि–पछि हुने गरेको छ ।

 

रगत धेरै बग्नु 

धेरै महिलालाई यस्तो समस्या हुन सक्छ । कतिपय महिलामा सामान्यभन्दा बढी रगत बग्छ । त्यसकारण पनि उनीहरू चिन्तित हुन्छन् । यो समयमा धेरै रगत बग्नुका पछाडि विभिन्न कारण हुन्छन् । वंशानुगत (परिवारका आमा तथा दिदिबहिनी) मा यस्तो समस्या भए ती महिलाको पनि बढी रगत बग्न सक्छ । रगतमा खराबी हुँदा पनि धेरै रगत बग्छ । 

 

पाठेघरमा कुनै संक्रमण भए

कतिपय अवस्थामा पाठेघरमा कुनै संक्रमण हुने सम्भावना भए महिनावारीमा बग्ने रगतले त्यसको संकेत दिन्छ । यस्तो भए चिकित्सकको सल्लाह लिनु उचित हुन्छ । महिनावारीमा कतिपयको धेरै रगत बग्छ भने कतिपयको रगत नै नबग्ने हुन्छ, यस्तो अवस्थामा पनि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

 

महिनावारी पर सार्ने औषधिको प्रयोग 

समाज बिस्तारै परिवर्तनतर्फ उन्मुख छ । कतिपय महिलाले त महिनावारी हुँदा खानासमेत बनाउन थालिसकेका छन् तर पूजापाठ भने गरेका छैनन् । दसैं–तिहार वा अन्य पूजाआजामा महिनावारी हुने पालो आए मासिक धर्मलाई पर सार्ने औषधि सेवन गरिन्छ । यो औषधि महिलाको स्वास्थ्यको हिसाबले फाइदाजनक छैन । यद्यपि यस्तो औषधि सेवन गर्नेहरूको संख्या कम भएको छैन । यो हार्मोनको चक्की हो र महिला महिनावारी हुनु भनेको हार्मोनको परिवर्तन हो । त्यसकारण यसले शरीरमा नकारात्मक असर गर्छ । चिकित्सकहरू यसको प्रयोग सकेसम्म नगर्न जोड दिन्छन् । 

 

महिनावारीसम्बन्धी पुरातन मान्यता 

  • गाईको दूध–दही खानु हँुदैन । 
  • पहिलोपटक महिनावारी हुँदा घाम तथा केटा मानिसको अनुहार हेर्नु हुँदैन । 
  • महिनावारीमा प्रयोग गरिएका कपडा सूर्यमा (घाम) देखाउनु हँुदैन । 
  • मेवा, तिल तथा मुला खानु हुँदैन । 
  • खाना पकाउनु हुँदैन । 
  • चरेसको थालमा खानुहुँदैन ।
  • अचार तथा फलफूलको बोट छुनुहुँदैन आदि इत्यादि ।

 

महिनावारीमा खाना

चिकित्सकहरूका अनुसार महिनावारीमा यही खाना खानुपर्छ भन्ने छैन । यद्यपि रगत धेरै बग्ने भएकाले यो समयमा अन्य समयको भन्दा पोषणयुक्त तथा सन्तुलित खाना खानु वेश हुन्छ । चिया–कफीको सेवन कम तथा पानीको सेवन बढी गर्नुपर्छ । फलफूलको मात्रा पनि बढाउनुपर्छ । 

 

कति रगत बग्छ ? 

महिनावारीमा यति नै रगत निस्कन्छ भन्दा पनि महिनावारी भएको ३ देखि ७ दिनसम्म रगत जान्छ । सामान्यतया दिनभरिमा २–३ वटा प्याड परिवर्तन गर्नु सरसफाइको हिसाबले राम्रो हो । यो कुरा सम्बन्धित महिलामा पनि भर पर्छ । कसैले छिनछिनमा परिवर्तन गर्छन् । कसैले बिहानदेखि बेलुकासम्म एउटै लगाइरहन्छन् ।

 

सरसफाइको कमी

अन्य समयको तुलनामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यो समयमा अझ बढी सचेत रहनुपर्छ किनभने यति बेला संक्रमण हुने सम्भावना बढी हुन्छ । महिनावारीमा रगत बाहिर निस्कन्छ । रगतमा जीवाणु छिटो हुर्कने भएकाले विशेष ध्यान पुर्‍याउनुपर्छ । लगातार रगत बगिरहेको छ तर सरसफाइ 

 

छैन भने जीवाणु योनिमार्ग हुँदै पाठेघरसम्म पुग्छ । जीवाणु योनिमा प्रवेश गर्दा गन्हाउने सेतो पानी बग्छ । यसको प्रवेश पाठेघरसम्म भए पाठेघरको मुखमा घाउ हुन, पाठेघर सुन्निन तथा डिम्बवाहिनी नली समेत बन्द हुनसक्छ । यस्ता समस्याबाट छुटकारा प्राप्त गर्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ । 

 

सफाइमा विशेष ध्यान

नेपालका कतिपय महिला अहिले पनि महिनावारीमा फोहोर कपडा प्रयोग गर्छन् । यसले संक्रमणको समस्या वृद्धि गर्छ । अझै पनि कतिपय महिलाले महिनावारी भएको कपडा घाममा सुकाउनु हँुदैन भनेर अँध्यारोमा सुकाउँछन् अनि पुन: त्यही कपडा प्रयोग गर्छन् । अहिले कटन राखी कपडाले बेरेर प्याड बनाउने चलन छ । यस्ता प्याड एकपटक प्रयोग गरेपछि राम्रोसँग धोएर घाममा सुकाएपछि पुन: प्रयोग गर्न मिल्छ । महिनावारीमा प्रयोग गरिने प्याड जथाभावी नफाली पेपरमा र्‍याप गरेर फाल्नुपर्छ । 

 

महिनावारी हुनुअघि देखा पर्ने लक्षण 

कतिपय महिलालाई महिनावारी हुनुभन्दा २–४ दिनअघिदेखि रिस उठ्ने, चिडचिडेपन, स्तन भारी हुने, तनावजस्ता समस्या देखापर्छन् । यसलाई सामान्य मान्न सकिने डा. राजभण्डारीको धारणा छ । यो समयमा कामप्रति त्यति ध्यान जाँदैन भने कसैलाई बढी नुनिलो तथा कसैलाई गुलियो खान मन लाग्छ । महिनावारीपछि यो समस्या आफैं कम हुँदै जान्छ । 

 

पहिलोपटक महिनावारी हुनुअघि दिनुपर्ने शिक्षा

पहिलोपटक महिनावारी हुनुअघि किशोरीमा स्तन बढ्ने, काखीमा रौं पलाउने, अनुहारमा चमक बढ्ने जस्ता परिवर्तन देखा पर्छन् । किशोरावस्थामा प्रवेश गर्न लागेका किशोरीलाई महिनावारीसम्बन्धी जानकारी दिनु आवश्यक छ । किशोरीहरूलाई मानसिक तथा शारीरिक दुवै हिसाबले परिपक्व बनाउनुपर्छ । घरका महिला अभिभावकले प्याड प्रयोग गर्न सिकाउनुपर्छ । किशोरावस्थामा जुनसुकै समयमा पनि महिनावारी हुन सक्ने भएकाले स्कुलबाट पनि त्यसका बारेमा जानकारी दिनु आवश्यक छ।

 

अन्त्यमा

महिनावारी भएका बेला अछूत मान्ने चलन हाम्रो समाजमा अझै पनि विद्यमान छ । यो महिलामा हुने नियमित शारीरिक प्रक्रिया हो । यो हार्मोनको उतारचढावका कारण उनीहरूमा केही शारीरिक तथा मानसिक परिवर्तन देखिने, रगत बाहिर निस्कँदा पाठेघर खुम्चने कारणले पेट दुख्ने, ढाड दुख्ने, कमजोरी महसुस हुने आदि हुन्छ । यस्तो बेला छि–छि गरेर अलग्गै राख्ने, पर राख्ने, छाउपडीमा राख्ने भन्दा पनि सरसफाइमा ध्यान दिन लगाउने, माया एवं सहयोग गर्ने, पौष्टिक खानेकुरा ख्वाउने आदि काम गर्नुपर्छ । महिनावारीलाई अछूत नमानी महिलामा हुने शारीरिक तथा नितान्त नियमित प्रक्रिया मान्नुपर्छ । समाजका राम्रा कुरालाई निरन्तरता दिँदै नराम्रा कुरा छोड्दै जानु आजको आवश्यकता पनि हो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>