Successfully Copied

मोतीबिन्दु कस्तो प्रकारको रोग हो ?

आँखाभित्र रहेको पारदर्शी मणिजस्तै लेन्स क्रमश: अर्ध–पारदर्शक र अपारदर्शक हुँदै गएर दृष्टिमा ह्रास ल्याउने रोगलाई मोतीबिन्दु भनिन्छ । मोतीबिन्दु आँखाको लेन्ससम्बन्धी रोग हो । मोतीबिन्दु कुनै एक वा दुवै आँखामा हुनसक्छ र यो सरुवा रोग होइन । अधिकांश मोतीबिन्दु उमेर बढ्दै जाँदा देखा

डा. प्रज्ञा सिंह बस्नेत, आँखा विशेषज्ञ, किस्ट मेडिकल हस्पिटल, इमाडोल

आँखाभित्र रहेको पारदर्शी मणिजस्तै लेन्स क्रमश: अर्ध–पारदर्शक र अपारदर्शक हुँदै गएर दृष्टिमा ह्रास ल्याउने रोगलाई मोतीबिन्दु भनिन्छ । मोतीबिन्दु आँखाको लेन्ससम्बन्धी रोग हो । मोतीबिन्दु कुनै एक वा दुवै आँखामा हुनसक्छ र यो सरुवा रोग होइन । अधिकांश मोतीबिन्दु उमेर बढ्दै जाँदा देखा पर्छ ।

के हो आँखाको लेन्स ?

आँखाको लेन्स मुख्यत: पानी र प्रोटिनको सिसाजस्तै प्रकाश छिर्ने आँखाको अंग हो जसले हामीले हेर्ने वस्तुहरूलाई आकृति बनाएर प्रस्ट रूपमा रेटिनामा फोकस गर्छ । रेटिनाबाट प्रकाशका आकृतिहरू स्नायु संकेतका रूपमा मस्तिष्कमा जान्छन् । लेन्समा धब्बा छ भने रेटिनामा प्रस्ट प्रतिबिम्ब बन्न सक्दैन । अत: मानिसको दृष्टि क्षमतामा ह्रास आउँछ ।

मोतीबिन्दु उमेर पुगेकाहरूमा मात्र हुने हो ?

मोतीबिन्दु उमेरसँग मात्र होइन आँखाका अन्य रोगहरू, विकिरण, चोटपटक तथा लामो समयसम्म औषधिको प्रयोगबाट पनि उत्पन्न हुन्छ । यो जन्मजात वा मधुमेह रोगसँग पनि सम्बन्धित हुनसक्छ ।

मोतीबिन्दुका लक्षण के–के हुन् ?

दृष्टि धमिलो भएर जानु, उज्यालोमा हेर्दा गार्‍हो हुनु वा तिरमिराउनु, अँध्यारोमा अझ कम देख्नु,सवारी चलाउन कठिन हुनु, चस्माको पावरमा परिवर्तन आइरहनु तथा रंग फरक देखिन थाल्नु आदि यसका लक्षण हुन् ।

यसको उपचार के हुन सक्छ ?

कुनै–कुनै मोतीबिन्दुको तोकेकै समयमा अप्रेसन गर्नुपर्ने हुन्छ, जस्तै: दृष्टिगत रूपमा खतराजन्य, जन्मजात मोतीबिन्दुलाई शिशु तीन महिना पुगेपछि अप्रेसन गरिन्छ किनभने त्योभन्दा अघि शिशुलाई बेहोस पार्दा जोखिम बढी हुनुका साथै आँखाको चाप असन्तुलित हुने खतरा रहन्छ । चोटपटकबाट मोतीबिन्दु भएको छ भने अन्य समस्या आउनुअघि यथाशीघ्र अप्रेसन गरिन्छ ।

पूर्णरूपले पाकेको मोतीबिन्दुको पनि जतिसक्दो चाँडो अप्रेसन गर्नुपर्छ । अन्य अवस्थामा दृष्टिमा उल्लेखनीय ह्रास आई दैनिक क्रियाकलापमा बाधा नपर्दासम्म चस्मा प्रयोग गरी समय–समयमा आँखा जाँच गराइरहनुपर्छ । मोतीबिन्दुको मुख्य उपचार अप्रेसन नै हो ।

यसको अप्रेसन कत्तिको जोखिमपूर्ण छ ?

मोतीबिन्दुको शल्यक्रिया पद्धतिमा क्रमिक सुधार आउँदै गएका कारण जोखिम कम हुँदैछ । यो शल्यक्रियामा आँखाको सेतो भागमा काटेर प्वाल बनाई मोतीबिन्दुयुक्त लेन्स निकालिन्छ तर अहिले फेको प्रविधिले गर्दा घाउ अत्यन्त सानो हुने भएकाले छिटो निको हुन्छ र अप्रेसनपछि आँखाको बाहिरी नानी (कर्निया) को वर्णपटमा खासै परिवर्तन आउँदैन फलस्वरूप टाढाको पावरवाला चस्मा लगाउनुपर्ने सम्भावना पनि कम हुन्छ ।

फेको कस्तो प्रविधि हो ?

यो विशेष उपकरणको माध्यमबाट ३० देखि ६० किलो हर्जको अल्ट्रासोनिक तरंगको मद्दतबाट मोतीबिन्दुयुक्त लेन्सलाई टुक्रा पारी तीन मि. मि. (मिलिमिटर) वा त्यसभन्दा सानो घाउ बनाई टुक्रा निकालिने प्रविधि हो ।

 Image