Successfully Copied

जाडो मौसममा मुटु रोगीले स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ !

जाडो मौसममा मुटु रोगीले स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ ।

डा. सुजीव राजभण्डारी 

सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट तथा इलेक्ट्रोफिजियोलोजिस्ट 

सहिद गंगालाल राष्ट्रिय अस्पताल, बाँसबारी

जाडो मौसममा मुटु रोगीले स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । चिसोका कारण प्रेसर बढ्ने तथा मुटुलाई बढी भार पर्ने हुनाले हर्टएट्याकको सम्भावना वृद्धि हुन्छ । रुघाखोकीजस्ता संक्रमणका कारण फोक्सो हुँदै मुटुमा समेत असर पर्छ । 

क्यानडाको एउटा चिसो सहरमा गरिएको अध्ययनअनुसार १० प्रतिशत तापमान घट्दा हर्टएट्याकको घटना ७ प्रतिशतले बढेको पाइयो । यसैगरी हालसालै बेलायतमा गरिएको अध्ययनअनुसार तापक्रम १ दशमलव ८ डिग्री फरेनहाइट घट्दा २ सय जनामा हर्टएट्याक भएको पाइयो । ७५ देखि ८४ वर्षका वृद्धवृद्धामा जाडोमा हर्टएट्याक हुने सम्भावना केही बढी हुने कुरा पनि अध्ययनबाट पत्ता लाग्यो । 

मुटु रोगको कारण 

मधुमेह तथा रक्तचाप नियन्त्रण नभए । 

रगतमा चिल्लोको मात्रा अधिक भए । 

वंशानुगत ।

मुटु रोगका लक्षण 

छाती दुख्ने, कतिपय अवस्थामा ग्यास्ट्रिकका कारण पनि छाती दुख्छ । मुटु रोग हुँदा भने छाती दुख्दा औंलाले देखाउन सकिँदैन । पूरै हत्केलाभरि दुख्छ, देब्रे तथा दाहिने दुवैतिरको छाती दुख्छ भने सँगै ढाड पनि दुख्छ । पीडासँगै चिटचिट पसिना आउने तथा वाकवाकी लाग्ने हुन्छ । १–२ महिनाअघिदेखि हिँड्दा छाती दुखे ध्यान दिनुपर्छ । छिटो–छिटो हिँड्दा, उकालो–ओरालो गर्दा छाती गह्रुंगो हुनु पनि मुटु रोगको लक्षण हुन सक्छ । यसैगरी मधुमेह तथा उच्चरक्तचापका बिरामीलाई पनि मुटु रोग हुने सम्भावना हुन्छ । सबै मधुमेहका रोगीलाई छाती नदुख्नसक्छ । अत्यधिक थकाइ लाग्ने तथा अचानक बेहोस हुने लक्षण पनि देखिनसक्छ । 

के खाने ?

ताजा तरकारी, फलफूल, बदाम, काजी बदाम, ओखर, पेस्ता आदि । 

कसरी जोगिने ?

मुटु रोगीलाई हर्टएट्याक हुने सम्भावना उत्तिकै रहन्छ । उमेर वृद्धिसँगै पुरुषमा हर्टएट्याकको जोखिम बढ्छ । महिलामा भने मेनोपज (नछुने सुकेपछि) मुटु रोगको सम्भावना वृद्धि हुन्छ । मधुमेह तथा रक्तचाप नियन्त्रणमा राखे मुटु रोगबाट जोगिन सकिन्छ । यसैगरी कोलस्ट्रोल पनि नियन्त्रणमा राख्नुपर्छ । स्याचुरेटेड फ्याटयुक्त नौनी, घिउ, बटर, चीज आदि सेवन गर्नुहुँदैन ।

अण्डाको पहेंलो भाग हप्तामा २–३ पटक मात्र खानुपर्छ । तारेका खानेकुरा तथा जंकफुड आदि सेवन नगरे मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । धूम्रपान गर्नुहुँदैन भने नियमित हल्का व्यायाम तथा ४५ मिनेटदेखि १ घन्टासम्म हिँडडुल गर्नुपर्छ । तौल नियन्त्रणमा राखे पक्षाघात तथा हृदयाघात दुवैबाट जोगिन सकिन्छ । 

 Image