Successfully Copied

पशुपन्छीमा भिटामिन एको कमी

‘भिटामिन ए’ चिल्लोमा घुलनशील भिटामिन हो ।

डा. शरदसिंह यादव

एडभान्स्ड हस्पिटल एण्ड रिसर्च सेन्टर 

‘भिटामिन ए’ चिल्लोमा घुलनशील भिटामिन हो । यो पशुपन्छीको खानासँगै पाचनप्रणालीमा पुग्छ । रगतमा रहेको भिटामिन–एको मात्रालाई नै यसको वास्तविक मात्रा मान्न सकिँदैन । भिटामिन ए दैनिक लगभग १०००००–१५००००० आई.यु.बाच्छाबाच्छीलाई, २५००००–२५००००० आई.यु.गाईभंैसीलाई १५००००–२५०००० आई.यु. भेंडाबाख्रा तथा ५०००० आई.यु. कुकुरलाई दिनुपर्छ । पशुपन्छीमा भिटामिन एको कमी लगातार कायम रह्यो भने शरीरका महत्वपूर्ण प्रणालीमा समस्या उत्पन्न हुन्छ । 

१. अँध्यारोमा दृष्टिमा हुने खराबी

जनावरहरूका लागि अँध्यारोमा हेर्न अनुकूल बनाउने रोडोपसिन नामक प्रोटिन महत्वपूर्ण हुन्छ । भिटामिन एको कमीले जनावरहरूको दृष्टि क्षमता कम गर्दै लान्छ । 

२. केराटिनैजेसन र एट्रोफी

भिटामिन एको कमीले आँखा, मुखभित्रको र्‍याल ग्रन्थि, श्वासनली, आन्द्रा, मूत्र तथा प्रजनन् प्रणालीमा रहेको इपिथेलियम तहमा एक प्रकारको अनावश्यक तह थपिन्छ, फलस्वरूप शरीरका यी विभिन्न प्रणालीमा असर पर्छ र प्रभावित अंगहरूमा विभिन्न प्रकारका ब्याक्टेरियाको संक्रमणको जोखिम उच्च हुनपुग्छ । त्यसैगरी नयाँ कोषहरू बन्ने प्रक्रिया, तिनीहरूको वृद्धि एवं विकास पनि रोकिनुका साथै विभिन्न अंगको आकार सानो (एट्रोफी) हुनसक्छ ।

३. हड्डी बन्ने प्रक्रियामा बाधा र स्नायुतन्तुको समस्या 

भिटामिन एको कमीका कारण हड्डीले वास्तविक आकार र लम्बाइ लिन सक्दैन । यसबाट स्नायुतन्तुमा खराबी आई मस्तिष्कको हर्नियासमेत हुनसक्छ ।

भिटामिन–ए कमी हुँदा देखापर्ने लक्षण

प्राय: पशुपन्छीमा भिटामिन एको कमीले अन्धोपन, मिर्गाैला एवं गर्भ तुहिने समस्या देखा पर्छन् । शारीरिक विकास र वृद्धि रोकिने, मांसपेशीहरूको कमजोरी, दुब्लाउने, हिँड्ने शैली असहज हुने, प्वाँखहरू जिङ्रिङ्ग हुने, मृत्युदर बढ्ने, आँखाबाट आँसु बग्ने वा त्यसमा चिप्रा टाँसिने, मुखको भित्री भागमा पिपजस्तो सेतो पदार्थ जम्मा हुने तथा मिर्गाैलामा युरेट जम्मा हुने समस्या पनि देखा पर्नसक्छ । यसका साथै भिटामिन एको कमीले अण्डा उत्पादन गर्ने क्षमतामा समेत ह्रास ल्याउँछ ।

 Image