Successfully Copied

प्याकेजिङ

राम्रो प्याकेजिङ भएका सामानलाई निर्धक्क प्रयोग गर्न सकिन्छ ।

भाटभटेनीमा किनमेल गरिरहेकी सुषमा श्रेष्ठ कुनै पनि सामानको गुणस्तरको वर्णन त्यसको प्याकेजिङले गर्ने बताउँछिन् । कुनै ब्रान्डले सामानको प्याकेजिङ उत्कृष्ट गर्छ भने त्यो उत्पादन उत्कृष्ट हुन्छ । त्यसलाई निर्धक्क प्रयोग गर्न सकिन्छ भन्ने आमधारणा पाइन्छ । बजारमा निरन्तर आफ्नो उत्पादनलाई लामो समयसम्म टिकाउन चाहने ब्रान्डले लामो कसरत, ठूलो रकम तथा शोधका आधारमा प्याकेजिङको विकास गरेका हुन्छन् ।

राम्रो प्याकेजिङ भएका सामानलाई निर्धक्क प्रयोग गर्न सकिन्छ । त्यसैले केही महँगो भए पनि राम्रो प्याकेजिङ गरिएका सामान सबैको आकर्षणमा पर्छन् । राम्रो प्याकेजिङमा रहेका सामान दिइएको अवधिभित्र निर्धक्क प्रयोग गर्न सकिन्छ किनभने यसले वस्तुको प्रभावकारितालाई यथावत् राख्छ । यसले केवल सामानको स्वरूपलाई मात्र राम्रो बनाउने होइन सामानको सुरक्षा पनि गर्छ । प्याकेजिङका कारणले सामानलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ । 

उपभोक्ताहरूले बुझ्नुपर्ने कुरा के हो भने प्याकेजिङ सामानलाई आकर्षक तरिकाले प्रस्तुत गर्ने संयन्त्र मात्र होइन यसले अरु विविध रूपमा सामानलाई प्रभावकारी तुल्याउँछ । प्याकेजिङ तथा लेवलिङ कुनै पनि सामग्रीका लागि निकै आवश्यक छ । जसरी मानिसलाई पहिरनको आवश्यकता छ त्यसैगरी कुनै पनि सामान उत्पादन गरेपछि त्यसलाई प्याकेजिङ गर्नु आवश्यक छ । जसरी पहिरनले बाहिरी प्रभावबाट सुरक्षा दिन्छ त्यसैगरी कुनै पनि उत्पादनलाई प्याकेजिङले सुरक्षा दिन्छ । अहिले जसरी मानिसका पहिरनमा विभिन्न प्रयोग भएका छन् त्यसैगरी प्याकेजिङमा पनि विविधता आएको छ । कुनै पनि ग्राहकको मन जित्ने तत्व भनेकै प्याकेजिङ हो । प्याकेजिङ सामान बिक्री गर्ने सबैभन्दा सशक्त अस्त्र पनि हो । अहिले उत्पादकहरूले यही कुरालाई क्यास गर्छन् । 

ग्राहकहरू पनि आकर्षक प्याकेजिङतिरै आकर्षित हुन्छन् । अहिले प्याकेजिङमा पुन: प्रयोगको अवधारणा निकै चलेको देखिन्छ । जस्तै ग्लुकोभिटा, हर्लिक्स, मिठाईंका प्याकेट, ड्राइफ्रुटका प्याकेजिङलाई पुन: प्रयोगमा ल्याउन सकिन्छ । अहिले विभिन्न सामानलाई बक्स, झोला, ट्रे, क्यान, कार्टुन, वाफर तथा मौलिकता झल्कने विभिन्न हिसाबले तयार गरिन्छ । सामानको प्रकृति तथा उपभोक्ताको सामान खरिद गर्ने ट्ेरन्ड हेरी प्याकेजिङ निर्धारित हुन्छ । अहिले नेपालमा उत्पादित सामग्रीहरूको पनि प्याकेजिङ राम्रो हुन थालेको छ । प्याकेजिङ जति राम्रो हुन्छ त्यसमा रहेको सामानको मूल्य त्यति नै बढी हुन्छ । हुन पनि एकै प्रकारको मिठाईंका दुई प्याकेटमध्ये उपभोक्ताहरूले उत्कृष्ट प्याकेजिङ नै छनोट गर्छन् । अझ कसैलाई दिइने उपहारमा त प्याकेजिङले निकै महत्वपूर्ण भूमिका खेल्छ । यसले एक प्रकारको खुसी तथा सन्तुष्टि दिन्छ । यसले उपभोक्तालाई विविध हिसाबले सजिलो बनाउँछ ।

प्याकेजिङ गरिएका उत्पादन लिएर हिँड्न पनि सजिलो हुन्छ । राम्रो प्याकेजिङले कुनै पनि सामानलाई थप मूल्य प्रदान गर्छ । सामान तयार भएपछि यो ग्राहकहरूलाई दिने अन्तिम अभिव्यक्ति पनि हो । प्याकेजिङ क्रेता तथा बिक्रेता दुवैका लागि महत्वपूर्ण मानिन्छ । प्याकेजिङमा उक्त सामानको हरेक जानकारी पनि उल्लेख हुन्छ । त्यसमा पनि ग्राहकहरूले ध्यान पुर्‍याउनुपर्छ । प्याकेजिङ केवल उत्पादकले आफ्नो सामान बिक्री गर्न प्रयोग गर्ने हतियार मात्र होइन । यसमा ग्राहकहरूले आकर्षक तथा सुरक्षित हिसाबले सामान प्राप्त गर्न सकून् भन्ने उद्देश्यसमेत समाहित हुन्छ ।

 Image