Successfully Copied

तीज खानपान, व्रत र रोग

अहिले महिनौंअघिदेखि तीजको दर खाने काममा भने परिवर्तन आएको छ । यद्यपि वर्ष दिनमा आउने तीजको रमझममा महिलाहरू निकै रमाउँछन् ।

तीज लाग्नुभन्दा निकै दिनअघिदेखि नै नेपाली महिलाहरू मीठा–मीठा परिकार बनाएर खाने तथा ख्वाउने काम गर्छन् । अहिले महिनौंअघिदेखि तीजको दर खाने काममा भने परिवर्तन आएको छ । यद्यपि वर्ष दिनमा आउने तीजको रमझममा महिलाहरू निकै रमाउँछन् । यो चाडको आगमनसँगै महिलामा अर्कै किसिमको हर्षोल्लास उत्पन्न हुन्छ । यो चाडमा खानपान तथा व्रत बस्दा भने विशेष ध्यान पुर्‍याउनुपर्छ । 

डा. प्रकाश पौडेल, फिजिसियन, पल्मोनोलोजिस्ट, सिटी सेन्टर हस्पिटल, कलंकी

  • तीजको दिन व्रत बस्नुभन्दा अघिल्लो दिन क्यालोरीयुक्त खाना खाएर भोलिपल्ट खाना नखाँदा स्वास्थ्यमा खासै असर पर्दैन । 
  • अघिल्लो दिन खाएको खानाबाट भोलिपल्ट ८ घन्टासम्म शरीरलाई पोषण तत्व प्राप्त भैरहन्छ । त्यसैले एकदिन खाना नखाँदा खासै असर पर्दैन । 
  • यसो भन्दैमा पानी पनि नपिई व्रत बस्नु भने स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छ ।
  • ग्यास्ट्रिकका बिरामीहरूको पेट खाली हुँदा थप समस्या उत्पन्न हुन्छ ।
  • ग्यास्ट्रिकका बिरामीहरू खाली पेट रहँदा एसिड उत्पन्न भएर आन्द्रामा असर पुग्न सक्छ । 
  • व्रत बस्दा पानी, फलफूल तथा केही खानेकुरा खानु उत्तम हुन्छ ।   

मधुमेह

मधुमेहका बिरामीहरू निराहार बस्नु घातक साबित हुनसक्छ । यस्ता महिलाहरू व्रत बस्दा रगतमा चिनीको मात्रा कम भै शरीर शिथिल हुन्छ । पानीको कमीले उनीहरूको समस्या विकराल बनाउन सहयोग पुर्‍याउँछ । सकी–नसकी व्रत बसे धर्म हुन्छ भन्ने कुरा कतै उल्लेख छैन । तीजमा दरका रूपमा बढी गुलियो तथा चिल्लो खानेकुरा खाने चलन छ । यसले मधुमेहमा असर पुर्‍याउँछ । तीज महिला दिदीबहिनीहरू एक ठाउँमा भेला भएर कामबाट केही समय थकाई मार्ने अवसर पनि हो । त्यसैले तीजमा मीठा–मीठा परिकार बनाएर खाने चलन छ । मधुमेह भएकाहरूले त्यस्ता खानेकुरा आँखा चिम्लिएर स्वास्थ्यमा असर पर्छ । 

  • मधुमेहका बिरामी भोकै बस्दा स्वास्थ्यमा असर पर्छ ।
  • मधुमेहका बिरामीले इन्सुलिन लिइरहेको अवस्थामा व्रत बस्नु  हुँदैन । 
  • यस्ता बिरामी व्रत बस्दा रगतमा सुगरको मात्रा कम भै हाइपोग्ल्यासिमिया हुन सक्छ । यस्तो अवस्थामा २–३ चम्चा ग्लुकोज तथा चकलेट खानुपर्छ । बिरामी अचेत भएर कतिपय अवस्थामा कोमामा जान सक्छ । 
  • मधुमेहका बिरामीले व्रत बसे पनि तीन–तीन घन्टाको फरकमा खाइरहनुपर्छ । यतिबेला फलफूल, लस्सी, दूध, सलाद आदि खान सकिन्छ । 
  • यस्ता बिरामीहरू लामो समय भोकै बस्दा स्वास्थ्यमा असर पर्छ र  हातखुट्टा झमझम गर्छन् ।
  • मधुमेह भएका बिरामी जसको शरीरले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हार्मोन–इन्सुलिन बनाउन सक्दैन, त्यस्ताले व्रत बस्नु हँुदैन ।
  • टाइप १ जस्तै टाइप २ मधुमेह भएका बिरामी जसको शरीरले आफूलाई चाहिने इन्सुलिन बनाउन सक्दैन उनीहरूले पनि व्रत बस्नु हुँदैन । 
  • शरीरमा चिनीको मात्रा अनियन्त्रित हुनेहरू निराहार बसे आँखा, मिर्गौला तथा हातखुट्टामा समस्या देखापर्नसक्ने सम्भावना हुन्छ । टाइप २ मधुमेह तथा हालसालै मात्र मधुमेह देखापरेकाहरूले चिकित्सकको सल्लाहमा व्रत बस्नु उपयुक्त हुन्छ ।

मिर्गौला 

मिर्गौलाका बिरामीले औषधि सेवन गरिरहेको अवस्थामा व्रत बस्नु उचित होइन । यस्तोबेला व्रत बस्दा बढी कमजोरी महसुस हुन्छ ।

थाइराइड

  • थाइराडका बिरामीले पनि निराहार व्रत लिनु हुँदैन ।
  • अघिल्लो दिन खाएको खानाले भोलिपल्टसम्म पुग्दैन । यस्ता बिरामीले पनि तीन–तीन घन्टाको अन्तरालमा फलफूल, जुस एवं पानी सेवन गरिरहनुपर्छ ।

रक्तचाप 

  • उच्च रक्तचापको औषधि सेवन गरिरहेका महिलाहरूले पनि केही नखाई व्रत बस्नु हुँदैन । 
  • निराहार व्रत बस्दा रिंगटा लाग्न सक्छ । रक्तचाप तलमाथि हुनसक्छ भने शरीरमा अक्सिजनको मात्रा पनि कम हुने सम्भावना हुन्छ ।
  • त्यस्तै कम रक्तचाप भएका महिलाले पानी नपिई व्रत बस्दा ह्वात्तै रक्तचाप कम भएर हाइपो टेन्सी एट्याक हुनसक्छ । यस्तोमा कमजोरी महसुस भै रिंगटा लागेर बेहोससमेत हुन सकिन्छ ।
  • रक्तचाप भएकाहरूले व्रतका क्रममा पानी, जुस, चिया, कफी एवं झोल खानेकुरा सेवन गर्नुपर्छ ।  

क्यान्सर 

  • क्यान्सरका बिरामीले नियमित औषधि सेवन गरिरहेका हुन्छन् ।  औषधिले रोगप्रतिरोधक क्षमता कम गरिरहेको हुन्छ । त्यसैले क्यान्सरका  बिरामीलाई पौष्टिक आहाराको आवश्यकता हुन्छ ।
  • क्यान्सरका बिरामीले व्रत बस्नु उचित हुँदैन । यस्तो अवस्थामा खाना नखाँदा स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ ।

धेरै खाँदा हुने समस्या

भोलिपल्ट व्रत बस्ने भनेर महिलाहरू अघिल्लो दिन बढी खाना खान्छन्, जुन गलत हो । आवश्यकताभन्दा धेरै खाँदा भोलिपल्ट डायरियाका साथै ग्यास्ट्रिकको समस्या उत्पन्न हुनसक्छ । मधुमेहका बिरामीले धेरै खाँदा बान्ता हुन्छ र सुगरको मात्रा उच्च भएर डायबेटिक किटोएसिडोसिस हुनसक्छ । त्यसैले भोलिपल्ट व्रत बस्ने भन्दैमा आवश्यकताभन्दा बढी खानुहुँदैन । 

डा. वृन्देश्वरी काफ्ले भण्डारीे

उप–प्राध्यापक, ग्यास्ट्रोइन्टेरोलोजी विभाग, शिक्षण अस्पताल

  • तीजको अघिल्लो दिन खाइने दर कत्तिको स्वस्थ छ एवं पौष्टिक छ हेर्नुपर्छ । 
  • दर खाने दिन जथाभावी चिल्लो, पिरो तथा मसालेदार खाना खाँदा ग्याष्ट्राइटिस हुने संभावना हुन्छ । 
  • अस्वस्थ खाना खाएमा पाचन प्रणालीमा नै असर गरेर वाकवाकी लाग्ने, बान्ता आउने, पेट दुख्ने, दिसा पातलो हुने, अपच हुने जस्ता लक्षण हुन सक्छन् । 
  • तीजमा दिनभर भोकै बस्दा दैनिक रुपमा खानाबाट प्राप्त गर्ने शक्तिको अभाव हुन्छ । अझ मनोरञ्जनका लागि गरिने नाचगानका क्रियाकलापले पर्याप्त शक्ति खर्च हुन्छ । यस्तो अवस्थामा अझ बढी शक्तिको आवश्यकता पर्ने भएकाले बेलाबेलामा पानी, दूध तथा फलाहार खानाले केही हदसम्म शक्ति प्राप्त हुन्छ । 
  • सामान्यतया हाम्रो पेटमा पुगेको खानेकुरा लगभग ३ देखि ४ घन्टामा हाम्रो पेटबाट सानो आन्द्रामा गएर पेट खाली हुन्छ । त्यसैले जति धेरै खाना खाए पनि लगभग ४ घन्टामा पेट खाली हुन्छ ।
  • पेट खाली भएपछि पनि पेटमा पाचन रस निस्कने प्रक्रिया निरन्तर चलिरहन्छ । खानेकुराको अभावमा पाचन रसमा भएको एसिडले (अम्ल) हाम्रो पेट वा आमाशयको भित्री झिल्लीमा असर गरेर उक्त झिल्ली सुन्निन्छ र ग्याष्ट्राइटिस हुन्छ । कहिलेकाही त पेट वा सानो आन्द्रामा अल्सर नै हुन सक्छ । अझ पहिलेदेखि नै यो समस्या हुने महिलाहरूले व्रत बस्दा बढी असर हुन सक्छ ।  
  • पहिलेदखि नै रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरू व्रत बस्दा संक्रमण हुनसक्छ । 
  • त्यसैगरि मष्तिष्क र नशासम्बन्धी रोग जस्तै माइग्रेन, छारेरोग (मिर्गि) आदिका बिरामीको व्रत बस्नु उपयुक्त हुँदैन किनभने राम्ररी खाना नखाँदा ग्लुकोज, नुन, रक्तचापमा घटबढ भएर रिंगटा लाग्ने, होसमा कमी आउने, मिर्गि वा माइग्रेनको अट्याक आउने हुनसक्छ ।
  • मुटु रोगी जस्तै उच्च रक्तचाप, पहिलेदेखि नै हर्ट एट्याक आदि भएकाहरूले पनि उपवास नबस्नु नै उपयुक्त हुन्छ । धेरै बेर खाना नखाँदा रक्तचापमा घटबढ हुने, मुटुको चालमा घटबढ हुने, मुटुको चालमा अनियमितता आउने र कहिलेकाही त हर्ट एट्याक नै भएर ज्यान सम्म जान सक्छ । 
  • पहिलेदेखि नै मिर्गौलाको समस्या भएका बिरामीले पनि व्रत नबसेकै राम्रो हुन्छ । रक्तचाप र नुनमा घटबढ हुँदा अवस्था झन जटिल हुन सक्छ ।
  • बूढाबूढी तथा लामो समयदेखि बिरामी मानिसले राम्ररी नखाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आएर संक्रमण हुन सक्छ ।  
  • यसैगरि गर्भवती महिलाहरूले पनि व्रत लिनुहुँदैन । गर्भवती महिलाको स्वास्थ्य सिधै गर्भमा रहेको शिशुसँसग जोडिएको हुनाले त्यस्ता महिलाहरूले व्रत बस्दा आफू सँगसँगै गर्भमा रहेको शिशुलाई पनि हानिकारक असर पर्छ । 

विनीता पन्त, डाइटिसियन, अल्का हस्पिटल

दर 

  • दरका रूपमा सन्तुलित खाना खानुपर्छ । खानामा अन्न, दाल, गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध तथा फलफूल आदिलाई समावेश गर्नुपर्छ । यस्ता खानेकुरा सन्तुलित मात्रामा खानुपर्छ ।
  • एउटी सामान्य महिलालाई दिनभरिमा १ हजार ९ सयदेखि २ हजार २ सय क्यालोरी आवश्यक हुन्छ । क्यालोरीको मात्र महिलाको उचाइ तथा वजनमा भर पर्छ ।
  • दरका रूपमा धेरै खानेकुरा खाँदा अपच भएर डायरिया हुन सक्छ । त्यसैले सीमित मात्रामा सन्तुलिन खाना खानु उपयुक्त हुन्छ । 
  • रेसायुक्त खानेकुरा, फलफूल तथा रिफाइन्ड नगरिएका खानेकुरा खानुपर्छ । मैदाको साटो गहुँको सेवन लाभदायक हुन्छ । 

तीजका दिन 

  • तीजका दिन पानी नपिई भोकै बस्नु गलत हो । 
  • गर्मी मौसममा दिनभरिमा ३–४ लिटर पानीको आवश्यकता पर्छ । त्यसैले पानी पनि नपिई व्रत बस्दा शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुन सक्छ । 
  • शरीर स्वस्थ राख्न चोखा खानेकुरा, साबुदानाको खीर, फलफूल, दूध, ग्लुकोज वा मिस्री पानी खान सकिन्छ ।
  • भौकै नबसी फलफूलको जुस तथा लस्सी पनि सेवन गर्न सकिन्छ ।
  • चिया पनि उचित मात्रामा सेवन गर्न सकिन्छ ।

तीजको भोलिपल्ट 

  • २४ घन्टासम्म खाना नखाँदा शरीर कमजोर भएर खाना राम्रोसँग पच्दैन ।
  • सुरुमा कालो चिया तथा पानी सेवन गर्नुपर्छ ।
  • त्यसपछि थोरै नरम खानेकुरा खानुपर्छ । 
  • तारेको, मसालेदार, अमिलो तथा पिरो खानेकुरा खानु हुँदैन । 

बक्समा

व्रतका प्रकार 

हिजोआजका धेरै मानिस स्वास्थ्यप्रति सचेत छन् । त्यसैले उनीहरू हप्ताको एकपटक व्रत बस्छन् ।  यसो गर्दा स्वास्थ्यमा फाइदा पुगेको कुरा पनि अध्ययनबाट पत्ता लागेको छ ।

क्यालोरी रिडक्सन– खानेकुरा खानुपर्छ । यसका लागि थोरै क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । जसले गर्दा शरिरमा नराम्रा चिल्ला पदार्थ बढ्न दिदैन । जस्तो कि चीज, फास्टफूड तथा जंक फूड खानुहुँदैन । प्रोटिनयुक्त आवश्यक खानेुकरा खानुपर्छ । 

अल्टरनेटिभ डे फास्टिङ– फलफूल तथा उच्च क्यालोरीयुक्त थोरै खाना खानुपर्छ । यसले गर्दा शरिरमा कोलस्ट्रोलको मात्रा घट्छ । फलस्वरुप नराम्रो चिल्लो पदार्थ (लो डेन्सिटी लाइपो प्रोटिन) घट्छ । यसले गर्दा रगतको नलीमा गएर टाँसिएर बस्ने चिल्लो पदार्थ कम हुने गर्छ । फलस्वरुप मुटुको समस्या हुने संभावना कम हुन्छ । डाइटरी रिडक्सन– खानेकुराको मात्रा घटाउनुपर्छ । कार्बोहाइड्रेडयुक्त खानेकुरा कम खानुपर्छ । 

 Image