Successfully Copied

मैनबत्तीको उज्यालोमा एउटा अनुहार

म सुटुक्क उसको ह्दयमा पस्न चाहन्थें र त्यो ‘हजुर’ शब्द उसको ह्दयको ढोका खोल्ने साँचो नभए पनि मलाई त्यस्तै लाग्यो ।

एउटा उज्यालो अनुहारलाई एक झल्को कसले हेर्दैन र ? अनि हेरिसकेपछि बोलूँबोलूँ कसलाई लाग्दैन ?

कसैलाई पर्खिरहेजस्तै ऊ कवि गोष्ठी हुने हलबाहिर उभिरहेकी थिई । उसले मलाई नै पर्खिरहेजस्तो लाग्नु मेरो भ्रम थियो भने भ्रम नै सही तर, सबै जानीजानी उसको आडैमा पुग्नुको आनन्द भने यथार्थ थियो ।

‘कवि गोष्ठीमा आउनुभएको होला ?’, मैले बोल्ने बाटो खोजें ।‘भन्नुपर्‍यो’, उसले खासै बाटो छोडिन ।

‘नभन्नुपर्दा अर्कै उद्देश्यले आउनुभएको हो र ?’, मैले अघि बढ्ने प्रयास गरें । बोल्नु भनेको आफू पोखिनु पनि हो, यहाँनेर बोलेर वा पोखेर मैले आफूलाई कुनै तौल नभएको हल्का बनाएँ कि ? भन्ने पनि लागिरहेको थियो । म जुन उद्देश्यले आए पनि तिमीलाई के चासो भनेर भन्न पनि सक्छे । म उल्टोसुल्टो सोच्दै थिएँ तर ऊ त्यही प्रकारले लजाई जुन पुरुषवादी प्रवृत्तिले अपेक्षा गर्छ । लाज मानिससँग हुने प्राकृतिक तत्व हो । मानिसले कहिलेकाहीँ यस्ता प्राकृतिक कुरालाई स्थान नदिएर अथवा लाज पचाएर अप्राकृतिक अवस्था सिर्जना गर्छ । के ऊ नलजाएको भए मैले उसलाई बेसोमती स्त्री सम्झन्थें ?– त्यतातिर नजाऔं ।

‘तपाईं यहाँ हुने कवि गोष्ठीमा पहिलो पटक हो कि ?’, मैले बोल्ने ढोका खोल्ने प्रयत्न गरें । 

‘हजुर π’, उसले शब्द निकाली । म सुटुक्क उसको ह्दयमा पस्न चाहन्थें र त्यो ‘हजुर’ शब्द उसको ह्दयको ढोका खोल्ने साँचो नभए पनि मलाई त्यस्तै लाग्यो । ‘यहाँसम्म आइपुग्नु साहित्यमा रुचि भएरै होला । के लेख्नुहुन्छ–गीत, कविता, गजल ?’, म अघि बढें ।‘म केही लेख्दिन, अरूले लेखेको अलिअलि पढ्छु ।’, उसले गम्भीर जवाफ दिई, ‘मैले नेपाली साहित्यमा पाठकको खडेरी छ भन्ने सुनेकी छु । सधैं नेपाली साहित्यका पाठक बढून् भनेर पुकारी रहन्छु ।’

‘साँच्ची, यसपटक ‘शब्दशिखा’ साहित्यिक मासिकमा प्रकाशित ‘त्रिशूलीको तरेलीमा’ कथा तपाईंले पढ्नु भो ?’, उसले ह्दयका सबै झ्याल–ढोका खोली । मैले आफू अचम्ममा परेको अवस्थालाई लुकाउँदै भनें–त्यो कथा कस्तो छ र ? उसले झोलाबाट पत्रिका निकाली र सायद आफूलाई मन परेको भाग पढ्न थाली ।

‘...हामीहरू त्रिशूली नदीवरिपरिको गाउँ घुमेर त्रिशूली बजारमा आई पुग्दानपुग्दै साँझ पर्छ । एकरात त्यहीँ बास बस्ने निधो गरेर होटलको बन्दोबस्त गर्‍यौं ।

लोडसेडिङसँग अभ्यस्त भैसकेका हामी मैनबत्तीको उज्यालोमा खाना खाँदै थियौं । उसै पनि मलाई मैनबत्तीको उज्यालोमा खाना खान रमाइलो लाग्छ, कारण मलाई आफ्नो बाल्यकाल र गाउँघरको सम्झना हुन्छ । हामी तीनैजना साथीको उमेर जीवनको रजत जयन्तीवरिपरि नै थियो । हामीले रमाइला कुराकानीसँगै खाना खाँदै थियौं । त्यसै बीचमा मैले भनें, ‘चाणक्य नीतिमा लेखिएको छ–मौन बस्नु पनि एक प्रकारको तपस्या नै हो । कुनै व्यक्ति वर्ष दिनसम्म मात्र भए पनि नबोली खाना खान्छ भने उसले करोडौं युगसम्म स्वर्गीय आनन्द प्राप्त गर्छ ।’ 

साथीहरूले करिब–करिब एकै स्वर गरे–कसले सक्छ यार π एउटा साथीले थपे, ‘एक वर्षसम्म खाना खाँदा नबोली खाने ? मेरा लागि त यो भन्दा ठूलो सजाय केही हुन सक्दैन ।’ त्यहाँ हामी खाना खानेहरू करिब बाह्र–पन्ध्र जना थियौं । त्यहाँ जो कोहीले आफ्ना तर्क राख्न सक्थ्यो किनभने आपसमा कुरा हुनका लागि सँगै खाना खाएको नाता थियो । यसै क्रममा पछाडिको टेबलबाट युवतीको आवाज आयो, ‘खाना खाँदा नबोल्ने मात्र कि कुनै पनि कुरा मनमा नखेलाउने ?’ मैले आवाज आएतिर आँखा घुमाएँ । मैनबत्तीको उज्यालोमा एउटा उज्यालो अनुहार थियो । त्यति उज्यालो अनुहारले त्यतिका बेरसम्म धैर्यले हाम्रा कुरा सुनेर बसेको होला भनेर मैले सोचेको पनि थिइन । उसले कुनै जवाफको अपेक्षाकृत आँखाले मलाई हेरी ।

‘मनमा जति कुरा खेलाए पनि हुन्छ, तर सकेसम्म गरिबहरूलाई सम्झेर खाएको राम्रो ।’ मैले भनें ।

किन ?, उसले प्रश्न गरी ।

‘यसको कुनै जवाफ छैन, पहिले गरेर हेर्नुहोस् न ?’, मैले अफ्नो मान्छेलाई जस्तै गरी आदेश दिएँ । ऊ पनि मेरो आदेशलाई मानेजस्तै गरी मौन रही । त्यसपछि उसकी आमा बोल्न थालिन् । मैले ती आमाछोरीका बारेमा अरू बढी बुझ्ने प्रयत्न गरिन ।

खाना खाइसकेपछि म हात धुन गएँ । अँध्यारो–अँध्यारो ठाउँ थियो ।‘खोइ म पानी हालिदिन्छु ।’, उही उज्यालो अनुहारको आवाज थियो । कसैले मैनबत्ती बाल्यो । मैले हात धुँदै उसलाई नियालें । मलाई यस्तो लाग्यो–ऊ मलाई नै माया गर्न जन्मिएकी हो ।...’कथा पढ्दापढ्दै रोकिएर उसले मलाई हेरी । फेरि अन्तै आँखा मोडेर भन्न थाली, ‘त्यसपछि मैले राम्रोसँग खाना खानै सकिन, जब खाना खान बस्छु तब गरिबहरूलाई सम्झन्छु । म निकै दुब्लाएँ नि ?’ ऊ कथासँगै बहकिई । 

म तरङ्गित भएँ । त्यो मैनबत्तीको उज्यालोमा एउटा उज्यालो अनुहार, मेरी कथाकी वास्तविक पात्र, हुन सक्छे केही दुब्लाएकी हो । ‘के भन्नुभएको ? के यो कथाको वास्तविक पात्र तपाईं नै हो र ?’, मैले आफूलाई केही थाहा नभएको नाटक गरें । ‘हो, उहाँलाई मैले त्यो साँझ त्रिशूलीको बजारमा भेटेकी थिएँ । खाना खाइसकेपछि पनि केहीबेर मैले उहाँलाई सुनेकी थिएँ । जब उहाँले बोल्नुुहुन्थ्यो अर्कोले बोल्नुपर्ने केही बाँकी रहँदैनथ्यो । कति रहरलाग्दो बोली ? उहाँलाई सुन्ने मेरो रहर बढ्दै गएको थियो । भोलिपल्ट उहाँलाई भेट्न खोजें तर सकिन ।

उहाँहरू एउटा संस्थाको कामले आउनुभएको रहेछ र बिहानै काममा लाग्नुभएछ । मैले उहाँको अनुहार पनि बिर्सिएँ । तर फेरि मैनबत्तीको उज्यालोमा देख्न पाएँ भने चिन्न सक्छु होला । मलाई उहाँको नाम पनि थाहा थिएन, सौभाग्यले यो कथा पढ्न पाएँ र उहाँलाई भेट्न यहाँसम्म आइपुगें ।’ मैले चासो दिएर सुन्दै गएँ ऊ भन्दै गई । ‘आज उहाँ यो कवि गोष्ठीमा आउनुहुन्छ रे, हगि ?’, उसले मलाई हेरी । उसको आँखाले मसँग जवाफ मागिरहेथ्यो । म केही बोलिन । ऊ बोल्दै गई । ‘उहाँका आँखा पनि तपाईंकै जस्ता चम्किला थिए, अनि आवाज पनि तपाईंकै जस्तै । के सबै कवि–लेखक उस्तै–उस्तै हुन्छन् र ?’ उसले फेरि मबाट जवाफ खोजी । मसँग उसलाई भन्नका लागि खास शब्द थिएन । अब मेरो तर्फबाट उसका लागि भाव मात्र बाँकी थियो । 

‘म छिट्टै फरदर स्टडीका लागि अमेरिका जाँदैछु, आज उहाँलाई भेट्न पाइन भने जानुपूर्व भेट गर्न नपाउन पनि सक्छु । अँ, तपाईंसँग उहाँको फोन नम्बर होला ?’, उसले फेरि मलाई झस्काई । मैले टाउको मात्र हल्लाएँ । म थोरै खुसी भएँ किनभने ऊ मदेखि धेरै टाढा जाँदै छे । अब उसले छिट्टै मलाई भेट्ने छैन । म सोच्दै थिएँ–तिमीले खोजेको कथाकार म नै हुँ भनेर चिनिनु पनि उसलाई अरू बढी दु:खमा फसाउनु नै हो । हो, म सर्वहारा छु र सर्वहाराको सुखमै आफ्नो सुख देख्छु । मैले आफ्नो परिवर्तन चाहन्छु र दुनियाँमा क्रान्तिबाहेक अरू केही पनि देख्दिन । मैले संघर्षमै सुख पाउँछु । यस्तो वैचारिक स्पष्टतामा उसले मलाई भेट्नु ऊ मेरो विचारसँग सहमत वा असहमत हुनु हो र ऊ मसँग सहमत वा असहमत हुनु उसको त्यो निर्दोष अवस्थाका लागि कष्टकर कुरा हो । बरु उसले मलाई बिर्सोस् र पहिलेकै सुखमा फर्कियोस् । म अरू बढी उसको संवेदना शोषण गर्न चाहन्न । यही विचार गरेर त्यहाँबाट उठें । 

म नबोली हिँड्न लागेको देखेर उसले उही भ्रम छरेर मलाई हेरी, ऊ मलाई नै माया गर्न जन्मिएकी हो ।

भरे यसो चिया पसलतिर निस्किएँ । लोडसेडिङ थियो । साथीहरू मैनबत्तीको उज्यालोमा चिया पिइरहेका थिए । परैबाट मैले मैनबत्तीको उज्यालोमा उही उज्यालो अनुहार देखें । जुन अनुहार सायद मेरो प्रेमको दियोजस्तै चम्किरहेको थियो । तर त्यो अनुहार मेरी प्रेमिकाको हुन्छ भने त्यति धेरै चम्किलो नहुन पनि सक्छ ।

म त्यहाँबाट पनि भागें । मलाई थाहा भयो–मैनबत्तीको उज्यालोमा अब हामीले एक–अर्कालाई छल्न सक्दैनौं ।

 Image