Successfully Copied

गर्मीमा अपनाउनुपर्ने सावधानी

गर्मीमा सजगता अपनाउनु राम्रो हो । अझ घरपरिवार तथा जागिर दुवै सम्हाल्नुपर्ने अवस्थामा व्यक्तिगत सजगता बढी आवश्यक हुन्छ । यो मौसममा छाला पोल्ने, खाना रुचि नहुने तथा असह्य गर्मीका कारण देखा पर्ने अन्य

 गर्मीमा सजगता अपनाउनु राम्रो हो । अझ घरपरिवार तथा जागिर दुवै सम्हाल्नुपर्ने अवस्थामा व्यक्तिगत सजगता बढी आवश्यक हुन्छ । यो मौसममा छाला पोल्ने, खाना रुचि नहुने तथा असह्य गर्मीका कारण देखा पर्ने अन्य विविध समस्याका कारण जीवनशैली कष्टकर हुन्छ । तथापि गर्मी मौसमको विभिन्न प्रभावबाट बच्ने धेरै उपाय छन् जसलाई अपनाएर सुन्दर तथा स्वस्थ रहन सकिन्छ ।

छालाको हेरचाह

सूर्यको अल्ट्राभ्वाइलेट किरणबाट बच्न छाता तथा सनग्लास अत्यन्त आवश्यक मानिन्छ । छालालाई सूर्यको प्रचण्ड रापले डढाएर कालो बनाइदिन्छ । एस.पी.एफ. ३५ भन्दा बढीको सनस्क्रिन लोसनले छालालाई सूर्यको प्रकाशबाट बचाउन सक्छ । मान्यताप्राप्त छाला विशेषज्ञबाट सल्लाह लिएर छालाको प्रकारअनुसार जेल, क्रिम, मोस्चराइजर तथा फेसियल प्रयोग गर्नुपर्छ । घाममा घरबाहिर निस्कनुभन्दा २०–२५ मिनेटअघि नै शरीरका खुल्ला अङ्गमा सनस्क्रिन लगाउनुपर्छ । घामको रापबाट छालालाई सुरक्षित राख्न उमेरअनुसार हप्ता वा महिनामा एकपटक फेसियल र चन्दन प्याक लगाउनु फाइदाजनक हुन्छ ।

खानपानमा ध्यान

 जाडोमा जस्तो गर्मीमा जे पायो त्यही खानु स्वास्थ्यको हिसाबले राम्रो होइन । गर्मीको तापका कारण शारीरिक सन्तुलन डगमगाउन सक्ने सम्भावना हुन्छ । रसिला फलहरू प्रशस्त मात्रामा खानुका साथै चिया, कफी, चिल्लो तथा मसलायुक्त खानाबाट टाढै रहनुपर्छ । ताजा फलफूल, सागसब्जी र पानी सकेसम्म बढी सेवन गर्नुपर्छ । जसले शरीरमा पानीको कमी हुन दिँदैन । फलफूलको रस, दूध, नरिवलको पानी आदिले छालाको चमक कायम राख्न ठूलो भूमिका खेल्छ । समाजसेवी दुर्गामाया वनेमले संघसंस्थाका काममा बढी यात्रा गर्नुपर्ने भएकाले विशेषगरी गर्मीमा आफ्नो खानपान तथा आहारमा ध्यान दिने बताउँछिन् । गर्मीमा फलफूल तथा पानी बढी सेवन गरी मसलायुक्त खानाबाट सकेसम्म टाढै रहने वनेम बताउँछिन् । वनेमका अनुसार गर्मीमा तौल बढाउने मैदा, दाल, चकलेट आदिबाट पनि बच्नुपर्छ ।

सौन्दर्य उपचार

 गर्मी, त्यसमाथि धूलो र धूवाँले छालाका साथै केशलाई समेत हानी पुर्‍याउँछ । शरीरबाट निस्कने पसिनाले केशको जरामा असर पुर्‍याउने भएकाले नियमित उपचार आवश्यक छ । काठमाडौं बुद्धनगरकी कमुना लिम्बू, गर्मीमा छालाका साथै केशको उपचार पनि आवश्यक मान्छिन् । उनी हप्ताको एकपटक आयल मसाज तथा महिना दिनमा हेयर ट्रिटमेन्ट गर्छिन् । जसले केशलाई पोषण दिई घामको प्रभावबाट बचाउँछ । छालाका लागि विशेषगरी हाइड्रो क्लिन्जिङ, फेसियल, फलफूलको फेसप्याक लगाउनु लाभकारी हुन्छ । घरमा बस्दा पनि ह्वाइटनिङ मास्क प्रयोग गर्नुपर्छ । स्तरीय सैलुन तथा पार्लरमा ह्वाइटनिङ ट्रिटमेन्ट गराउन सकिन्छ ।

सागसब्जी लाभकारी

 स्वास्थ्यको हिसाबले गर्मीमा सलाद उपयोगी हुन्छ । सलादमा टमाटरको प्रयोगले फाइदा गर्छ । प्याजबाट सकेसम्म टाढा रहनु राम्रो हुन्छ । प्याजले शरीरमा गर्मी बढाउँछ । ब्रोकाउलीलाई दैनिक आहारमा समावेश गरे त्यसले अनुहारको चमकलाई कायम राख्न मद्दत गर्छ । भेंडेखुर्सानी, बन्दागोभी पनि शरीरमा पानीको स्तर कायम राख्न सहयोगी हुन्छन् । गर्मीमा शरीरलाई आवश्यक भिटामिन तथा प्रोटिन प्राप्त गर्न खरबुजा, लिची तथा अंगुर सेवन गर्नुपर्छ ।

 Image