Successfully Copied

होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक

होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।


काठमाडौं – होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

छालाको सुरक्षाका उपायहरू
डा. भुसालका अनुसार छालालाई जोगाउन होली खेल्नुअघि मोस्चराइजर वा तेल लगाउनुपर्छ। त्यसपछि दोस्रो लेयरको रूपमा सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ। डबल लेयरले छालामा रङ प्रवेश गर्नबाट जोगाउँछ र सफा गर्न पनि सहज बनाउँछ।

केश, नङ र ओठको रक्षा

  • केशमा तेल लगाउँदा रङ गहिरो नबस्ने भएकाले खेल्नुअघि तेल लगाउनु उपयुक्त हुन्छ।

  • नङलाई सुरक्षित राख्न भ्यासलिनको प्रयोग गर्नुपर्छ।

  • ओठ सुख्खा हुन नदिन लिप बाम लगाउन सल्लाह दिइएको छ।


होली खेल्दा ध्यान दिनुपर्ने कुराहरू

  • बाहिर होली खेल्न जाँदा ह्याट र सनग्लास प्रयोग गर्नु राम्रो हुन्छ।

  • फुल स्लिभ भएको कपडा लगाउँदा छालामा रङको प्रत्यक्ष असर कम हुन्छ।

  • कन्ट्याक्ट लेन्स नलगाउनु नै सुरक्षित हुन्छ, किनभने रङको कण आँखा भित्र पर्नसक्छ।

  • प्राकृतिक रङको प्रयोग गर्न सिफारिस गरिएको छ, किनभने रसायन मिसिएको रङले एलर्जी वा छालाको समस्या उत्पन्न गर्न सक्छ।

छालाको हेरचाह कसरी गर्ने ?
रङ छालामा लगातार लागेको अवस्थामा छाला सुख्खा हुनसक्छ। छाला सफा गर्दा धेरै घोटेर मस्काउनु हुँदैन, किनभने यसले र्‍यासेस वा एलर्जी हुनसक्छ। होली खेलेपछि छाला राम्रोसँग धोएर मोस्चराइजर प्रयोग गर्नुपर्छ ताकि छाला हाइड्रेट रहोस्।

(डा. नेपाल मेडिकल कलेजमा कार्यरत छन् ।  साथै उनी चुच्चेपाटी   मिराकल स्किन हेयर र एस्थेस्टिक क्लिनिक मा प्रबन्ध निर्देशक हुन् ।)

 Image