Successfully Copied

बालबालिका

वर्षा मौसममा बालबालिकालाई विशेषगरी टाइफाइड, जण्डिस, झाडापखाला जस्ता रोगले बढी सताउने गर्छ ।

 बालबालिकालाई वर्षा मौसममा कुन रोग बढी लाग्छ ? 

 यो मौसममा बालबालिकालाई विशेषगरी टाइफाइड, जण्डिस, झाडापखाला जस्ता रोगले बढी सताउने गर्छ ।

 यो मौसममा यस्ता रोग लाग्नुको मुख्य कारण होला ? 

 वर्षा मौसममा टाइफाइड तथा जण्डिस रोग लाग्नुका पछाडि दुषित खाना, दुषित पानी तथा भाइरसको संक्रमण हो । 

टाइफाइड तथा जण्डिसले कुन उमेरका बालबालिकालाई बढि सताउँछ ? 

 सामान्यतया: पाँच वर्ष उमेरमाथिका बालबालिकालाई टाइफाइडले बढी सताउने गर्छ भने पाँच वर्ष उमेरभन्दा कमका बालबालिकालाई जण्डिस रोग लाग्ने गर्छ । 

 यस्ता रोगी कस्ता खानेकुरा खुवाउनु उचित हुन्छ ?

 पहिले–पहिले जण्डिस हुँदा मासु, बेसार तथा नुन खानु हुदैन भन्ने चलन थियो । जुन गलत हो । जण्डिस भएकाले यी सब खान हुन्छ । अण्डा पनि खान हुन्छ । चिल्लो खानेकुराहरू भने खानु हुदैन । यसैगरी टाइफाइड रोग आन्द्राको इन्फेक्सनका कारण हुने भएकाले नरम खानेकुरा खानुपर्छ । यस्ता बिरामीले पनि मासुलाई पनि धेरै बेर पकाएर खान मिल्छ । 

यस्ता रोग लागेका बिरामीमा के कस्ता लक्षण देखापर्छन् ? 

 जण्डिस रोग लागेका बिरामीको आँखा तथा पिसाब पहेलो हुन्छ । यसैगरी कम देखि १०४ डिग्री फरेनहाइट सम्म ज्वरो आउनसक्छ । वाकवाकी लाग्ने, पेट दुख्ने हुन्छ । यी सब साधारण जण्डिसका लक्षण हुन् । जण्डिसले जटिल रुप लिएमा भने बिरामी राती नसुत्ने, दिउँसो मात्र सुत्ने गर्छ । बिरामी बेहोस भएर कराउने हुन्छ । बिरामीले मान्छे नचिन्ने, बिरामीको मुखबाट तथा दिसा गर्दा रगत आउने हुन्छ । पेटमा पानी जमेर शरिर सुन्निन्छ । पिसाब कम लाग्छ । यसैगरी टाइफाइड हँुदा ज्वरो आउँछ । टाउको, पेट दुख्ने तथा फुल्ने गर्छ । कसैलाई कब्जियत हुन्छ भने कसैलाई डायरिया हुन्छ । जिब्रो सेतो हुन्छ । 

यी रोग लागेपछि निको हुन कति समय लाग्छ ? 

 जण्डिस तथा टाइफाईड दुवै रोग लाग्दा सुरुको अवस्थामा भए एक हप्तामा निको हुन्छ । रोगले विकराल रुप लिएमा उपचारपछि पनि एक डेढ महिना लाग्न सक्छ । कम्प्लिकेसन भएको अवस्थामा भने अस्पताल भर्ना भएर उपचार गराउनुपर्छ । 

रोकथामका उपाय के होला ? 

बालबालिकालाई सफासुग्घर राख्नुपर्छ । हात धोएर खाने बानीको विकास गराउनुपर्छ । खानेकुरा पनि पोषिलो, सफा तथा स्वास्थ्यवद्र्धक खुवाउनुपर्छ । फलफूल तातो पानीमा पखालेर मात्र खुवाउनुपर्छ । नजिकको स्वास्थ्यसंस्थामा गएर रोग विरुद्धका भ्याक्सिन लगाउनुपर्छ । रोगको समयमा उपचार नगराउँदा रोगले जटिल रुप लिएर बिरामीको मृत्यु समेत हुन्छ । त्यसैले रोग लागेमा तुरुन्त उपचार गराउनुपर्छ ।

डा. दिपेश्वरा नेपाल, कान्ति बाल अस्पताल

तस्बिर: नवराज वाग्ले

 Image