शेर्पालाई सम्झाइरहने तस्बिर
चुङ्बा शेर्पाले खिचेका चरासहित वन्यजन्तुका मनमोहक तस्बिरले मुलुकभरका विभिन्न कार्यालय एवं संघसंस्थाका भित्ता सजिएका छन्, जसले उनी सधैं सम्झिइरहनेछन् ।

देशका लागि हामी सबै नेपालीले आ–आफ्नो स्थानबाट योगदान दिएका छौं । कसैको योगदान देखिन्छ भने कसैको देखिँदैन । हामी सौन्दर्यकर्मीहरूले पनि देशका लागि केही योगदान दिएका छौं । मैले अहिलेसम्म धेरै दिदीबहिनीको सौन्दर्य तथा छालासम्बन्धी उपचार गरिसकेकी छु । धेरै दिदीबहिनीलाई अनुहारको उक्त समस्याले निकै पिरोलेको थियो । मैले यसको उपचार गरेर उहाँहरूलाई सामाजिक रूपमा पनि सघाएँ । त्यसैगरी मैले आफ्नो कर्मथलोमा तालिम पनि दिने गरेकी छु । उक्त तालिमपछि दिदीबहिनीहरूले आफै पार्लर खोलेका छन् भने कसैले पार्लरमा जागिर खाएका छन् । यसले केही मात्रामा भए पनि उनीहरूको जीवनमा आर्थिक पक्ष बलियो भएको छ । त्यसैगरी म आफै पनि आयआर्जन गरेर श्रीमान्लाई सघाइरहेकी छु । दिनभरि काम गरेर मैले आफ्ना सन्तानलाई राम्रो शिक्षा तथा संस्कार दिएकी छु । उनीहरूलाई सामाजिक रूपमा घुलमिल गराउन म उनीहरूलाई हरेक सामाजिक क्रियाकलापमा संलग्न हुन प्रेरित गर्छु । घर वरिपरि सदैव सफा राख्छु । पानी तथा बिजुलीको सदुपयोग गर्छु । राज्यले बनाएका हरेक नियम–कानुनलाई एक सभ्य तथा जिम्मेवार नागरिकको हैसियतले पालना गर्छु । आफूले भुक्तानी गर्नुपर्ने हरेक दायित्वलाई समयमा पूरा गर्छु । सामाजिक स्वरूप खलल हुने गरी मैले कुनै कार्य गरेकी छैन । लाइसेन्स लिएपछि मात्र मैले बाइक चलाउन थालें । सदैव लाइसेन्स बोकेर सवारी साधन चलाउँछु । आजसम्म मैले ट्राफिक नियम तोडेकी छैन । दु:खी तथा अनाथहरूप्रति सदैव सद्भाव राख्छुु । आफ्नो संस्थाबाट सदैव विभिन्न सामाजिक कार्यक्रममा संलग्न भैरहन्छु । कुनै पनि देश विकास गर्नका लागि सवै देशका जनताले आ–आफ्नो तर्फबाट दिएको सहयोग तथा सद्भाव उपयोगी हुन्छ । सानै भए पनि आफैंबाट विकास सुरु गर्नुपर्छ । पूजा जोशी, सौन्दर्यकर्मी
म विदेशको अध्ययनपछि आफ्नै देशमा केही गरौं भनी नेपाल फर्किएकी हुँ । म छाला तथा यौन रोग विशेषज्ञ हँु । नेपालमा छाला तथा यौन रोगका बिरामी धेरै भएको देखेर मैले यही नेपालमा बस्ने निर्णय गरेकी हुँ । विदेशमा लिएको ज्ञान आफ्नै देशमा ल्याएर देशका लागि केही योगदान गरौं भन्ने मेरो चाहना हो । अहिले म आफ्नै क्लिनिकमा आबद्ध छु । बिहानदेखि बेलुकासम्म सयौं बिरामीको छालाको उपचार गर्छु । विदेशमा हुने सम्पूर्ण उपचार मेरो क्लिनिकमा हुन्छ । म आफू जति व्यस्त भए पनि आफूले सामाजिक रूपमा बहन गर्नुपर्ने जिम्मेवारीबाट कहिल्यै पर सरेकी छैन । समय मिलाएर विभिन्न सामाजिक सेवा गरिरहेकी छु । बिनालाइसेन्स म कहिल्यै गाडी हाँक्दिन । ट्राफिक नियमको सदैव पालना गर्छु । मैले मेडिकल काउन्सिलको लाइसेन्स लिएपछि मात्र सेवा गर्न सुरु गरेकी हुँ । म कतिपय रोगीहरूको नि:शुल्क पनि उपचार गर्छु । नियमित रूपमा कर तिर्छु । कसैलाई परेको अन्यायका विरोधमा सदैव आवाज उठाउँछु । समाज तथा राष्ट्रलाई हानि हुने कुनै काम गर्दिन । आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्छु । आफ्नो संस्कृति एवं परम्परालाई सहर्ष स्वकिार गर्छु ।
डा. सुदेश्ना श्रेष्ठ
लामो समयदेखि सञ्चार माध्यममा आबद्ध वर्षा शाह आफूलाइ देशको सक्षम नागरिक मान्छिन् । शिक्षा तथा स्वास्थ्य नेपालका जल्दाबल्दा मुद्दा हुन् । त्यसका लागि हरेकले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने शाह बताउँछिन् । वर्षा भन्छिन्–अहिले युवाहरू बिदेसिने तथा उतै बस्ने चलन उत्कर्षमा छ । औंलामा गन्न मिल्ने केही युवा मात्र नेपालमा काम गरिरहेका छन् । यसमा उनी आफू पनि एक भएकीले यो पनि देशका लागि आफ्नो योगदान भएको बताउँछिन् । आफूले कलमले धेरै नेपालीलाई सचेत बनाएको बताउँदै वर्षा भन्छिन्–‘मैले आफ्नो बिटका अनेकौं मुद्दामा काम गरिसकेकी छु । शाह बाल्यकादेखि नै राज्यले निर्धारण गरेका नियम–कानुनहरूका विषयमा खुलेर वकालत गर्छिन् । उनी नियमित आफ्नो आयकर तिर्छिन् । लाइसेन्सविना सवारी साधन चलाउँदिनन् । घर–आँगनको सफाइ गर्न र रुख–बिरुवा रोप्न उनी सदैव उत्साहित हुन्छिन् । आफूभन्दा सानालाई माया तथा ठूलालाई आदर गर्न सबैलाई सिकाउँछिन् ।
वर्षा शाह, संचारकर्मी
यो वर्ष भूकम्प तथा नाकाबन्दीले राज्यलाई नै आक्रान्त बनाएको छ । यसको मारमा हामी सबै परेका छौं तर पनि मैले हामी नेपालीहरूको आँट, धैर्य तथा आपसी भाइचाराको सम्बन्धलाई निकै राम्रो मानेकी छु । देशलाई संकटमा पर्दा हामी नेपाली कसरी एकढिक्का भएर अघि बढ्न सक्दारहेछौं र कसरी आपसमा सुख–दु:ख साटासाट गर्दारहेछौं भन्ने कुरा पनि प्रमाणित गरिदिएका छौं । हामीलाई न राज्यको आशा रह्यो न विदेशी सहयोगको नै । म एक विज्ञापन व्यवसायी हुँ । विज्ञापन व्यवसाय हेर्दा जत्तिको सहज देखिन्छ त्यत्तिकै जटिल पनि छ । यसमा विभिन्न चुनौती छन् । नाकाबन्दीले हामी विज्ञापन व्यवसायीलाई निकै आहत बनाएको छ ।
आफ्नो जिम्मेवारीबाट म कहिल्यै भागिन । मैले आफूकहाँ आएका ग्राहकहरूलाई दिनुपर्ने सबै सुविधा तथा सेवा प्रदान गरें । आफू समस्यामा परे पनि उनीहरूबाट बढी मूल्य लिने काम गरिन ।
म विभिन्न सामाजिक संस्थामा आबद्ध छु । म सामाजिक रूपमा हित हुने कुनै पनि क्रियाकलाप गर्न चुक्दिन । मैले ग्राहकहरूलाई स्वस्थकर खाना ख्वाउँछु । कुनै पनि मिसाबटी सामग्री प्रयोगमा ल्याउँदिन । बजार गएर आफै सामान खरिद गर्छु । आफ्ना कर्मचारीहरूलाई उनीहरूले गरेको मेहनतअनुसार पारिश्रमिक दिएकी छु । हरेक वर्ष समयमा कर चुक्ता गर्छु । निस्किएको फोहोरलाई सही ठाउँमा व्यवस्थापन गर्छु । आफ्ना कर्मचारीहरूलाई पानीको सदुपयोग गर्न निर्देशन दिन्छुृ । जथाभावी बत्ती बालेर शक्ति खेर फाल्दिन । आफ्ना नानीलाई मैले सहयोग गर्ने तथा सामाजिक रूपमा उत्तरदायी बनाउन राम्रो शिक्षा दिएकी छु । अहिले सबै नानी आ–आफ्ना स्थानमा स्थापित छन् । श्रीमान्लाई पनि सदैव सहयोग गरेकी छृु । घरको वातावरण राम्रो बनाउन सदैव सजग हुन्छु । आफ्नो घर वरिपरि हरियालीका लागि रुख–बिरुवा रोपेकी छु । घर राम्रो बने असल समाज बन्छ । त्यसैले राम्रो घर बनाउन म सदैव प्रयत्नशील छु ।
मुना श्रेष्ठ, विज्ञापन व्यवसायी
जबसम्म महिलाहरू आर्थिक रूपमा सम्पन्न हुँदैनन् तबसम्म उनीहरू कहिल्यै माथि पुग्न सक्दैनन् । महिलाहरू आर्थिक रूपमा स्वतन्त्र भए उनीहरूमा निर्णय गर्ने क्षमता वृद्धि हुन्छ । उनीहरूले कसैको दबाब तथा हेपाइमा बस्नुपर्दैन । बस्नेत आफूहरूले धेरै महिलालाई ऋण दिएर आर्थिक रूपमा सम्पन्न बनाउन सहयोग गरेको बताउँछिन् । शर्मा घर–घरमा गएर महिला दिदीबहिनीहरूलाई लगानी, बचत तथा लगानीका विषयमा जानकारी गराउँछिन् । घाम–पानी केही नभनी उनी बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म काममा खटिन्छिन् । बस्नेत कटिबद्ध कर्मचारी मात्र होइनन् एक कर्तव्यनिष्ठ आमा पनि हुन् । अन्ना भन्छिन्–मैले घर तथा कार्यालय दुवैको दोहोरो जिम्मेवारी बहन गरी आफ्नो कर्तव्य पूरा गरेकी छु । महिला भएर मैले गर्न सक्ने त्यत्ति हो । परिवार राम्रो भए उत्कृष्ट समाज तथा देश बनाउन सजिलो हुन्छ । शर्मा पानी, बिजुली तथा ग्यास खेर फाल्दिनन् । घर तथा आफ्नो तलबको कर भुक्तान गर्छिन् । नियमित रूपमा स्कुटरमा बजार भ्रमण गर्ने अन्ना लाइसेन्स नलिई कहिल्यै सवारी साधन चलाउँदिनन् । उनी टोलको सरसफाइ गर्न सदैव तयार हुन्छिन् । उनको संस्थाले समय–समयमा टोल सरसफाइ कार्यक्रमसमेत राख्ने गरेको छ ।
अन्ना बस्नेत, महिला वृत्ति सहकारी संस्था
देशका सबै नागरिकले आफ्नो पहलमा केही न केही गरिरहेका हुन्छन् र गर्नु पनि पर्छ किनभने हरेक नागरिक देशका ऋणी हुन् । यस्तो ऋणबाट मुक्त हुन सकिँदैन तर केही योगदान भने दिन सकिन्छ । तसर्थ हामीले सदैव एक सभ्य नागरिकको जिम्मेवारी पूरा गर्नुपर्छ । मैले सौन्दर्य क्षेत्रमा काम गर्न थालेको करिब एकदशक भैसकेको छ । अहिले मैले ४० जना दिदीबहिनीलाई रोजगारी दिइरहेकी छु । म भन्सार कर सबै भुक्तानी गरेर सही तरिकाले सामान ल्याउँछु । म नियमित कर तिर्छु र सही मूल्यमा सामान बजारसम्म पुर्याउँछु । घरायसी वातावरण राम्रो बनाउन स–साना कुरालाई वास्ता गर्दिन । समाजमा अराजकता उत्पन्न हुने काम गर्दिन । म आफ्नो घर तथा समाजलाई सफा बनाउन सदैव तत्पर हुन्छु । अनावश्यक रूपमा इन्धन खेर फाल्दिन । मैले बिनालाइसेन्स तथा कागजात कहिल्यै गाडी चलाएकी छैन । ट्राफिक नियमलाई कहिल्यै बेवास्ता गर्दिन । आफूले पनि राम्रो संस्कार पाएकाले जीवन अघि बढाउन सजिलो भएको छ भने छोरीलाई पनि म राम्रो संस्कार दिन्छु । म कसैको दु:ख देख्न सक्दिन, सक्दो सहयोग गर्छु । म सानो प्रयासले नै परिवर्तन सम्भव छ भन्ने कुरामा विश्वास गर्छु ।
सविना खड्का, सिइओ, वादी कस्मेटिक
सबै मानिस फेसनेबल भएर हिँड्न मन पराउँछन् । फेसन व्यक्तित्व तथा आत्मविश्वासको पर्याय भएको छ । यही परिप्रेक्ष्यमा विभिन्न फेसन शो आयोजना गर्ने काजलका डिजाइन नौला तथा आकर्षक हुन्छन् । काजल हक्की स्वभावकी छिन् । उनी राजनीतिमा पनि चाख राख्छिन् । काजल परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताउँछिन् । फेसन जगत्मा काम गरेर देशको आर्थिक क्रान्तिमा सहयोग पुर्याउने उद्देश्य लिएकी काजल अनुशासन तथा इमान्दारितामा ध्यान दिन्छिन् । समयको सदुपयोग गर्नु उनको विशेषता हो । विकासका लागि देशका महिलाहरूको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने उनको ठम्याइ छ । उनी काम गर्नुअघि त्यसले देशलाई कत्तिको फाइदा गर्छ भनेर मूल्यांकन गर्छिन् । उनले आफ्नो घर वरिपरि हरिया बोट–बिरुवा लगाएकी छिन् । आफ्नो संस्कृतिलाई माया गर्ने काजल फेसनकै माध्यमबाट आफ्नो देशको गौरव उच्च बनाउन चाहन्छिन् । काजल थापा, डिजाइनर
पाटनमा जन्मिएकीले होला त्यहाँको परिवेशले मलाई प्रभाव पारेको छ । पाटनमा गाउँ तथा टोल विकासका लागि सबै एकजुट भएर काम गर्छन् । यसले मलाई पनि अछुतो राखेन । बाल्यकालदेखि नै म यस्ता सामूहिक काममा सक्रिय हुन्थें । त्यसैले म अहिले विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध छु । मलाई आफ्नो धर्म–संस्कृतिप्रति ठूलो आस्था छ । म छुवाछूत तथा रुढिवादी परम्परामा त्यति विश्वास गर्दिन । कसैको चित्त दुखाउने तथा कसैलाई दु:ख दिने कुरा म सोच्न पनि सक्दिन । कसैमाथि अन्याय गर्दिन र सहँदिन पनि । मैले नृत्यबाट नेपाली संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्याएकी छु । आफ्ना सन्तानलाई मेहनत गर्न सिकाएकी छु । ६ जना अनाथलाई स्कुलमा पढाइरहेकी छु । आर्थिक रूपमा पनि घरलाई सहयोग गरेकीले घरमा कहिल्यै अशान्ति छाएको छैन । घर वरिपरि रुख–बिरुवा रोपेकी छु । गाडी चलाउँदा लाइसेन्स तथा अन्य कागजात साथमै राख्छु । सभ्य परिवारबाट सभ्य समाज तथा सभ्य समाजबाट सभ्य देश निर्माण हुन्छ भन्ने कुरामा मेरो दृढ विश्वास छ । देशका लागि केही गर्न पदमै हुनुपर्छ भन्ने छैन ।
रविना श्रेष्ठ, नृत्यांगना
‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भन्ने आदर्शबाट प्रेरित भएर कर्ममा लागिपरेकी रिया राइ शिक्षामा लागेको लामो समय भैसकेको छ । राम्रो तथा उत्कृष्ट शिक्षा प्रदान गरी देशका लागि योग्य नागरिक तथा जनशक्ति निर्माण गर्ने उनको उद्देश्य छ । राइ भन्छिन्–म त देश बनाउने कुराभन्दा पनि देशका बालबालिका बनाउने कुरामा केन्द्रित छु । बालबालिकाहरूलाई राम्रो शिक्षा प्रदान गर्न कटिबद्ध छु । मोन्टेश्वरी शिक्षा प्रणालीले बालबालिकाहरूलाई राष्ट्रको जिम्मेवार तथा सामथ्र्यवान् जनशक्ति बनाउने जग बसाल्छ । रिया शिक्षाका साथ नानीहरूलाई राम्रो संस्कार दिन पनि प्रयासरत छिन् । राइ भन्छिन्–शिक्षामा लाग्नेहरूले देशका लागि दिने भनेको राम्रा विद्यार्थी हुन् जसले भविष्यमा देश हाँक्न सकून् ।’ उनी गलत काम कहिल्यै गर्दिनन् । नेपाली संस्कारलाई निरन्तता दिनुपर्नेमा जोड दिन्छिन् । रिया सेभ दि वाटर सेभ दि इनर्जीकी पक्षधर हुन् ।
रिया राइ, प्रि प्राइमरी हेड,
सिद्धार्थ बिद्यापिठ
सजितालाइ बाल्यकालदेखि नै बजारप्रति निकै चाख थियो । उनी पत्रपत्रिकामा बजार गतिविधि अध्ययन गर्न निकै रुचि राख्थिन् । उनमा सानैदेखि आफ्नो राष्ट्रका लागि केही गरौं भन्ने सोच आउँथ्यो । सजिता बाबुआमा पनि उनको देशप्रतिको माया देखेर छक्क पर्थे । उनीहरू आफ्नी छोरीप्रति गर्व पनि गर्थे । हक्की स्वभावकी पराजुली कुनै पनि निर्णय गर्न हिच्किचाउँदिनन् । आफ्नो निर्णयमा अटल रहन सक्ने खुबीका कारण उनी सानै उमेरमा उच्च पदमा कार्य गर्न सफल छिन् । कहिल्यै झूटो नबोल्ने, आफ्नो जिम्मेवारीबाट पछि नहट्ने तथा सबैलाई सहयोग गर्ने भावनाका कारण
पराजुली साथीभाइमाझ लोकप्रिय छिन् । आफ्नो कारणले कसैलाई दु:ख हुने किसिमका क्रियाकलाप गर्दिनन् । संजिता भन्छिन्–देशले बनाएको नियम–कानुन पालन गर्ने प्रयास पनि आफ्नो देशप्रतिको सम्मान हो । अन्यायविरुद्ध सदैव आवाज उठाउने थापा कसैको दु:ख देख्न सक्दिनन् । आफ्नो घर वरिपरि रुख–बिरुवा रोपेर उनले घरलाई निकै रमणीय बनाएकी छन् । संजिता घरमा भएको फोहोरलाई उचित ठाउँमा व्यवस्थापन गर्छिन् भने सम्पदाहरूको रक्षामा सदैव लागिपर्छिन् ।
सजिता पराजुली,
बजार व्यवस्थापक फेमीलीयर ब्राण्ड