Successfully Copied

बालबालिकाको आत्मविश्वास बढाउन घरको काम

बालबालिकाहरूलाई घरेलु काममा सहभागी गराउनाले उनीहरूमा आत्मविश्वास र आत्मसम्मान बढ्छ । विशेषज्ञहरूका अनुसार घरेलु काममा बालबालिकाहरू रमाउँछन् तर उनीहरूलाई रुचिपूर्वक काम गराउनुपर्छ र कामलाई बोझ बनाउनुहुँदैन ।

बालबालिकाहरूलाई घरेलु काममा सहभागी गराउनाले उनीहरूमा आत्मविश्वास र आत्मसम्मान बढ्छ । विशेषज्ञहरूका अनुसार घरेलु काममा बालबालिकाहरू रमाउँछन् तर उनीहरूलाई रुचिपूर्वक काम गराउनुपर्छ र कामलाई बोझ बनाउनुहुँदैन ।

जिम्मेवारीको भावना बढ्छ

अध्ययनहरूअनुसार कसैलाई सहायता गर्नाले व्यक्तिमा आत्मसम्मानको भावना बढ्छ भने अर्को पटक काम गर्ने इच्छा जागृत हुन्छ र बिस्तारै–बिस्तारै कामप्रति जिम्मेवारीको अनुभूति हुन थाल्छ । त्यसपछि उनीहरू आफू र आफन्तजनप्रति जिम्मेवार बन्न थाल्छन् । संयुक्त परिवारमा रहेका कारण वा घरमा नोकरहरू भएका कारण काम गर्नुपर्ने आवश्यकता छैन भने स्वाभाविक रूपमा काम प्रारम्भ गर्दा राम्रो र आवश्यक लाग्दैन तर रुचिकर तरिकाबाट र कामको महत्त्व बुझाएर गराउने हो भने त्यो बालबालिकाको विकासका लागि लाभदायक हुन्छ ।

शैक्षिक, सामाजिक एवं व्यावहारिक कुशलता बढ्छ

बालबालिकाहरूले कामका साथमा व्यावहारिक एवं सामाजिक कुशलता पनि सिक्छन् । घर एवं घरबाहिरको अन्तरलाई बुझ्न थाल्छन् । उनीहरूको बाल्यावस्था सहजतापूर्वक युवावस्थाको परिधिमा पुग्छ । घरेलु काम सिक्न कुनै स्कुल वा संस्थामा जानु पर्दैन ।

स्ट्रेस लेवल कन्ट्रोल गर्छ

पढाइको बोझका कारण बालबालिका मानसिक रूपबाट पूर्णरूपले थकित हुन्छन् । कहिलेकाहीँ यो स्ट्रेस यति बढ्छ कि उनीहरू कुण्ठित हुनुका साथै अवसादग्रस्तसमेत हुन पुग्छन् । बेड लगाउनु, मन पर्ने खाना बनाउन सहयोग गर्नु, डस्टिङ, क्लिनिङ आदि घरेलु कामले मनलाई रिल्याक्स गर्छ । बालबालिका पुन: उत्साहित र फ्रेस हुन्छन् । उनीहरूको स्ट्रेस लेवल नियन्त्रणमा रहन्छ ।

तर्क गर्ने क्षमताको विकास हुन्छ

घरेलु काम गर्दा उचित–अनुचित, सही–गलत बुझ्ने, तर्क गर्ने क्षमताको विकास हुन्छ भने व्यावहारिक र सामाजिक मूल्य–मान्यतासम्बन्धी समझदारी बढ्छ । उनीहरूले हरेक कामसित किन, के र कसरी भन्ने कुरामा नजर राख्न थाल्छन् । बिस्तारै उनीहरूले नैतिक र अनैतिकको भेद पनि बुझ्न थाल्छन् ।

योजना बनाउन थाल्छन्

बालबालिकालाई जब कुनै कामको जिम्मेवारी सुम्पिइन्छ तब उनीहरू त्यसलाई आफ्नो खेलकुद, टेलिभिजन प्रोग्राम आदिका हिसाबबाट योजना बनाउँछन् । यसले गर्दा उनीहरू आफ्नो रुटिन कार्य र दिइएको कार्य सही तरिकाबाट सम्पन्न गर्न सक्छन् र बाल्यावस्थादेखि नै योजना बनाउन सिक्छन् ।

अनुशासनमा रहन सिक्छन्

अनुशासन सफलताका लागि आवश्यक छ । जब बालबालिकाहरूले काम गर्छन् तब उनीहरूले योजना बनाउनुपर्ने हुन्छ, जसका कारण उनीहरूले खेलकुद र अध्ययनका लागि पनि समय प्राप्त गरून् । बिनाअनुशासन यो सम्भव हुँदैन । बालबालिकाले काम र खेल दुवैमा अनुशासित रहनुपर्ने हुन्छ, अन्यथा सन्तुलन हुन सक्दैन ।

काम गराउनुहोस् तर ध्यान दिएर

बालबालिकालाई घरको काममा सहभागी गराउँदा धेरै फाइदा हुन्छ, तर साथमा केही त्यस्तो कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ, जसले सम्भवत: बालबालिकामा नकारात्मक प्रभाव पार्छ र बालबालिकाको व्यक्तित्वलाई अलग दिशा प्रदान गर्न सक्छ ।

परफेक्सनको आशा राख्नुहुँदैन

बालबालिकाको काममा परफेक्सनको आशा राख्नु हुँदैन । काम यस्तो हुनुपर्छ, जसलाई बालबालिकाले खेलका रूपमा स्वीकार गरून् साथै आवश्यक तथा महत्त्वपूर्ण कुरालाई पनि बुझून् । जुन काम गर्न कठिनाइ महसुस हुन्छ वा जसलाई लगातार सिकाउनुपर्ने हुन्छ, त्यस्ता कामबाट शिशुले चाँडै दिक्क मान्छन् । उनीहरूले गरेको कामलाई उनीहरूकै अगाडि दोहोर्‍याउनु हुँदैन, न त आलोचना नै गर्नु हुन्छ । यसो गर्नाले उनीहरूको आत्मविश्वासमा ठेस पुग्छ ।

प्रशंसा गर्न ढिलाइ गर्नुहुँदैन

कहिलेकाहीँ अभिभावकहरू काम दिएपछि प्रशंसा गर्नका लागि काम सकिने प्रतीक्षा गर्छन् । स्याबासी दिन लामो प्रतीक्षा गर्नु ठीक होइन । शिशुहरू त आफूलाई दिइएको काम आफूले प्रारम्भ गर्नेबित्तिकै अभिभावकको अनुहारमा प्रोत्साहन, स्याबासी र प्रसन्नताको भाव देख्ने चाहना राख्छन् । अत: प्रारम्भमै प्रशंसा गर्नुपर्छ, जसले उनीहरूको आत्मविश्वास र उत्साह बढ्छ ।

प्रेमपूर्वक काम गराउनुपर्छ

कुनै पनि काम गराउँदा बालबालिकामा रुचि जगाउनुपर्छ । ‘आऊ काममा सहयोग गर’ को साटो हामीलाई तिम्रो सहयोग चाहिन्छ भन्न सकिन्छ । यसरी प्रेमपूर्वक काममा लगाउँदा काम गर्ने रुचि पनि बढ्छ । 

उमेर र क्षमतामा ध्यान दिनुपर्छ

काम दिनुभन्दा पहिले बालबालिकाको उमेर, शक्ति र क्षमतालाई ध्यानमा राख्नु जरुरी छ र त्यहीअनुरूप काम दिनुपर्छ ।

तुलना गर्नुहुँदैन

कहिल्यै बालबालिकाको काम, काम गर्ने तरिका, योग्यता र क्षमताको तुलना गर्नुहुँदैन । हरेक बालबालिका अलग–अलग हुन्छन् । त्यसैले उनीहरूको काम गर्ने शैली, योग्यता एवं क्षमता पनि अलग–अलग हुन्छ ।

निर्देशन दिँदा सही शब्द प्रयोग गर्नुपर्छ 

जुन काम गराउन चाहेको हो त्यस विषयमा उचित शब्दमा स्पष्ट रूपमा भन्नुपर्छ । जस्तै: आफ्नो कोठा सफा गर्नुपर्छ भन्नुको साटो आलमारीमा कपडा, पुस्तकलाई सेल्फमा तथा खेलौनालाई बास्केटमा राख भन्नुपर्छ । त्यसपछि उनीहरूलाई कोठा सफा गर्ने कुरा थाहा हुन्छ ।

उदाहरण दिएर सिकाउनुपर्छ

बालबालिकालाई काम गराउनुभन्दा पहिले स्वयं आफैंले काम गर्नुपर्छ, जसलाई हेरेर उनीहरूले काम सिक्छन् । आफ्ना साथमा बालबालबालिकालाई पनि काम गराउनुपर्छ । त्यसपछि उनीहरूले एक्लै काम गर्न थाल्छन् ।

काम र पैसा

हिजोआज बालबालिकाले कामका साथमा केही लाभको आशा पनि राख्छन् । पुरस्कारका रूपमा पैसा दिनुपर्छ जसले गर्दा परिश्रमप्रति रुचि बढ्न सक्छ । बालबालिकाको बानी विचार गरी अभिभावकले निर्णय गर्नु उचित हुन्छ । पैसाको साटो उनीहरूलाई मनपर्ने कुनै वस्तु प्रदान गर्नु अर्को विकल्प हुन सक्छ । 

 Image