Successfully Copied

आफ्नो नाम आउँदा पटक्कै विश्वास लागेन

मेरो नाम आउँदा म अचम्मित भएँ । त्यो आँसु खुसी र आश्चर्यको सम्मिश्रण थियो ।

रोशनी खत्री, मिस नेपाल अर्थ

तपाईंको नाम मिस नेपाल अर्थमा घोषणा हुँदा रुनुको कारण ?

साँच्चै भन्ने हो भने मैले फस्ट रनर्सअप हुन्छु भन्ने कल्पनासम्म गरेकी थिइन । अश्मि र सिर्जना मिस नेपाल र मिस अर्थ हुन्छन् भन्ने लागेको थियो । मेरो नाम आउँदा म अचम्मित भएँ । त्यो आँसु खुसी र आश्चर्यको सम्मिश्रण थियो ।

मिस नेपालमा कसरी भाग लिन पुग्नुभयो ?

म ४–५ कक्षामा पढ्दादेखि नै मिस नेपालमा भाग लिन्छु भन्थें । घरमा दाइहरूले पनि बहिनीलाई ठूलो भएपछि मिस नेपालमा भाग लिन लगाउनुपर्छ भन्नुहुन्थ्यो । पारिवारिक सपोर्ट र सल्लाहबाटै भाग लिएकी हुँ । 

मिस नेपाल अर्थको उपाधि पाएपछि के–कस्ता जिम्मेवारी थपिएजस्तो लाग्छ ?

सामाजिक उत्तरदायित्व बढेको छ । अब मिस अर्थमा गएर देशको प्रतिनिधित्व गर्दै राम्रो उपलब्धिका लागि प्रयास गर्नु छ ।

मिस नेपालको प्रशिक्षणले तपाईंमा के–कस्ता सुधार आए ?

ममा आत्मविश्वास त पहिलेदेखि नै थियो । देशका लागि केही गर्नु छ भन्ने सोच पनि पुरानै हो । प्रशिक्षणले ममा अरू धेरै कुरा प्लस गरिदियो । विविध क्षेत्रका जानकारी प्राप्त गर्ने अवसर मिल्यो । ममा मिस नेपालको ऋण लागेको छ जुन मिस अर्थमा राम्रो प्रदर्शन गरेर चुकाउनु छ । 

मिस नेपालले सामान्य युवतीलाई रातारात सेलिब्रेटी बनाउँछ जस्तो लाग्दैन ?

पक्कै पनि यो कुरा सत्य हो, तर एकैछिनमा उत्कृष्ट दिनु चानचुने कुरा पनि होइन । 

तपाईं रुचि के–केमा छ ?

संगीत मेरो अभिन्न अंग हो । मलाई गीत गाउन मन लाग्छ र उपन्यासहरू पढ्छु ।

पछि संगीततिरै लाग्ने त होइन ?

भविष्यको कुरा अहिल्यै भन्न सक्दिनँ । सम्भवत: गायनमा पनि लाग्नसक्छु । 

मिस नेपाल भन्नासाथ कसलाई सम्झनुहुन्छ ?

माल्भिका सुब्बा तथा सुगरिका केसीलाई ।

तपाईं मिस अर्थ भएपछि सबैभन्दा खुसी भएका व्यक्तिहरू को–को हुन् ?

परिवारका साथमा मिस नेपालका प्रतियोगीहरू सजुम कटुवाल, अनिता कार्की तथा प्रेरणा अधिकारी ।

मिस अर्थमा जान के–कस्तो तयारी गर्ने योजना छ ?

आफ्ना कमीकमजोरीहरू हटाउँछु भने वातावरणसम्बन्धी अध्ययन पनि गर्नेछु ।

 Image