Successfully Copied

अनलाइन सपिङमा सावधानी

आफ्नो सुविधाका लागि मानिसहरू अनलाइन किनमेल गर्छन् । त्यसैले इ–कमर्सको उद्योग तीव्र गतिमा अघि बढिरहेको छ । यद्यपि यो क्षेत्रमा यस्ता समूहको वर्चश्व छ जो कम समयमा बढी पैसा कमाउन लालायित हुन्छन् र उनीहरू ब्रान्डेड सामग्रीका हुबहु नक्कली उत्पादन बेच्न खप्पिस छन् ।

आफ्नो सुविधाका लागि मानिसहरू अनलाइन किनमेल गर्छन् । त्यसैले इ–कमर्सको उद्योग तीव्र गतिमा अघि बढिरहेको छ । यद्यपि यो क्षेत्रमा यस्ता समूहको वर्चश्व छ जो कम समयमा बढी पैसा कमाउन लालायित हुन्छन् र उनीहरू ब्रान्डेड सामग्रीका हुबहु नक्कली उत्पादन बेच्न खप्पिस छन् । यसबाट ग्राहकहरू ठगिइरहेका छन् । यसको प्रभाव ब्रान्डेड सामग्री उत्पादन गर्ने उद्योगहरूलाई पनि परेको छ । यसरी सक्कलीको नाममा नक्कली सामग्री बेचबिखन हुँदा यसले एक त सक्कली सामानको बिक्रीमा प्रभाव पर्छ भने अर्कातर्फ नक्कली सामग्रीको प्रयोगले ग्राहकहरूलाई हानि–नोक्सानी पुर्‍याउँछ । तसर्थ ग्राहकले नक्कलीको फन्दामा पर्नुअघि सावधानी अपनाउनु आवश्यक छ ।

कसरी नक्कली सामान बिक्री भैरहेका छन् ?

कतिपय अनलाइन वेबसाइटले नामी तथा महँगा ब्रान्ड एवं कम्पनीका नक्कली उत्पादन कहिले सेल त कहिले छुटको नाममा बिक्री गरिरहेका छन् । कतिपय वेबसाइटले चोरेका मोबाइल पनि बिक्रीका लागि राखेका हुन्छन् ।

इलेक्ट्रोनिक्स ग्याजेट

राम्रा ब्रान्डका इलेक्ट्रोनिक्स सामानमा कमसल ब्याट्री तथा अन्य सामग्रीहरू राखिन्छ ।

मेकअप प्रोडक्ट

ब्रान्डेड मेकअपका उत्पादन जस्तै प्याकिङ, नाम, लोगो, रंग, आकार तथा शैली लगभग उस्तै देखिने गरी निर्माण गरेर कम दाममा बिक्री गरिन्छ । ब्रान्डेडजस्तै देखिने भएकाले ग्राहकहरू खुसी हुँदै सामान खरिद गर्छन् । किनभने उनीहरू कम दाममा ब्रान्डेड सामग्री प्रयोग गर्न पाउँदा खुसी नहुने त कुरै भएन ।

डियोड्रेन्ड

नक्कली सामान निर्माणकर्तालाई डियोड्रेन्डस्मा निकै फाइदा छ । यसमा ग्यास रिफिल गरेर राम्रो पैसा कमाउन सकिन्छ ।

कपडा

अनलाइनबाट पहिरन खरिद गर्दा निकै विचार पुर्‍याउनुपर्छ । अनलाइनमा देखाइने कपडा प्रत्यक्ष हेर्दा अर्कै देखिन्छ । कहिले वेबसाइटमा देखिएभन्दा भिन्न रंग तथा आकारका कपडा घरमा आइपुग्छन् ।

सावधानी

अनलाइनबाट सामग्री खरिद गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

लोगो

हामी जुन कम्पनीको उत्पादन चाहन्छौं त्यसको डिजाइन तथा रंगमा ध्यान दिनुपर्छ । त्यसमा कुनै भिन्नता महसुस भए सामान खरिद गर्नु हुँदैन ।

स्पेलिङ

असली उत्पादनभन्दा स्पेलिङमा हलुका हेरफेर गरेर सजिलै नक्कली सामानहरू अनलाइनमार्फत बिक्री भैरहेका छन् ।

कम दाम

अनलाइन साइटमा ब्रान्डेड उत्पादनको मूल्य कम देखाइएको छ भने उक्त उत्पादन नक्कली हो भनेर बुझ्नुपर्छ । जस्तै गुचीको चस्माको मूल्य ९९९ छ भने त्यो चस्मा नक्कली हो भन्ने बुझ्नुपर्छ  किनभने गुचीको सक्कली चस्माको मूल्य १० हजार रुपैंयाँभन्दा बढी पर्छ ।

प्याकेजिङ

सामान खरिद गरेपछि कहिलेकाहीँ सामानको प्याकेजिङ अचम्मको लाग्न सक्छ । ब्रान्डेड उत्पादन तथा ननब्रान्डेडको बाहिरी स्वरूप हेरेर सामान कस्तो हो पत्ता लगाउन सकिन्छ । किनभने ब्रान्डेड कम्पनीहरूले आफ्नो प्याकेजिङमा निकै पैसा खर्च गर्छन् ।

उत्पादनकर्ताको जानकारी हेर्नुपर्छ 

अनलाइन किनमेल गर्दा उत्पादनकर्ताका बारेमा जानकारी लिन बिर्सनु हुँदैन । सम्पर्क ठेगाना तथा उत्पादन युनिट आदिका बारेमा विशेष रूपमा सतर्क हुनुपर्छ । किनभने नक्कली सामान बेच्नेहरूले यस्तो जानकारी उपलब्ध गराउन सक्दैनन् ।

विश्वसनीय वेबसाइटबाट खरिद

अनलाइन साइटमा थुपै्र कम्पनी संलग्न छन् जहाँ उनीहरूले भनेजस्ता उत्पादन बिक्री गरिरहेका हुन्छन् । यस्ता वेबसाइटले विभिन्न अफर दिएर ग्राहकहरूलाई लोभ्याउने प्रयास पनि गरिरहेका हुन्छन् । तैपनि सामान खरिद गर्दा कुनै पनि मोहमा नफसी उत्कृष्ट वेबसाइटबाट खरिद गर्नुपर्छ । ब्रान्डको अफिसियल वेबसाइटमा गएर सामान खरिद गर्नुपर्छ ।

अस्पष्ट नियम तथा सर्तबाट सावधान रहनुपर्छ

नक्कली उत्पादन बिक्री गर्ने वेबसाइटमा कम्पनीको नियम तथा सर्त सानो कोलममा सानो फ्रन्टमा लेखिएको हुन्छ । यसलाई पढ्न सकिँदैन तर विश्वसनीय वेबसाइटमा त्यस्तो हुँदैन ।

कतिपय वेबसाइटबाट बच्नुपर्छ

वेबसाइट क्लिक गर्दा नै यो राम्रो वेबसाइट हो कि होइन पत्ता लगाउन सकिन्छ । यसलाई भरोसा गर्न सकिन्छ कि सकिँदैन सजिलै आँकलन गर्न सकिन्छ । नक्कली सामान बिक्री गर्ने वेबसाइट सजिलै चिन्न सकिन्छ । वेबसाइडमा दिइएका अत्यधिक छुटमा पनि विश्वास गर्नु हुँदैन । यसको कस्टमर सेवा पनि बेकार हुन्छ । उनीहरूले दिने सेवा तथा वेबसाइट पनि सुस्त हुन्छ । यसको प्याकेजिङ तथा डेलिभरी सेवा पनि कमसल हुन्छ ।

अनलाइन सेफ्टीको ख्याल

कुनै पनि वेबसाइटलाई लग इन गर्नुभन्दा पहिले वेबसाइट सुरक्षित छ कि छैन पत्ता लगाउनुपर्छ । जुन वेबसाइटको एड्ेरसका बारेमा एचटीटीपी एस हुन्छ त्यो वेबसाइट सुरक्षित मानिन्छ ।

कुनै अनलाइनले ग्राहकहरूको जन्मदिन, विवाहको एनिभर्सरी तथा अन्य आवश्यक जानकारी साझा गर्ने प्रयास गर्छ भने त्यो वेबसाइट बन्द गर्नुपर्छ ।

आफ्नो कम्प्युटरलाई एन्टी भाइरसबाट सुरक्षित बनाउनुपर्छ ।

आफ्नो पासवर्ड कसैले पत्ता लगाउन नसक्ने किसिमको हुनुपर्छ ।

अनलाइन किनमेलमा प्रयोग गरिने डेबिट कार्ड, क्रेडिट कार्ड, नेट बैंकिङको बैंक एकाउन्ट समय–समयमा जाँच गर्नुपर्छ ।

 

 Image