मिस युनिभर्स नेपालका अन्तिम प्रतिस्पर्धीहरूबिच प्रश्नोतर सम्पन्न
एसियन पेन्ट्स मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ प्रतिस्पर्धीहरू बिच प्रश्नोतर कार्यक्रम सम्पन्न भयो ।
तीन दशकअघिसम्म पनि नेपाली चलचित्रमा बलिउडका गायक–गायिकाहरूको स्वर सुनिन्थ्यो । भारतमा गएर गीत रेकर्ड गराउनुपर्ने बाध्यताका कारण पनि नेपाली गायक–गायिकाहरूले चलचित्रमा गाउने मौका पाएका थिएनन् तर अहिले नेपालमै पर्याप्त स्टुडियो, संगीतकार, रचनाकार, एरेञ्जर, गायक–गायिकाहरू हुनाले उता गएर गीत रेकर्ड गराउनुपर्ने बाध्यता हटेको छ ।
पहिले पनि अरुणा लामा, तारादेवी, ज्ञानु राना, मिरा रानाजस्ता गायिकाले पाश्र्वगायनमा स्वर दिइरहेका थिए । कान्छी चलचित्रको कलकल–सलसल, केको खानु–केको लाउनु, माइतीघरको सानुमाया मेरो मायालाई, परालको आगोको उडिजाउँ भने, म पन्छी होइन जस्ता सदाबहार गीतमा अरुणा लामाले स्वर दिएकी थिइन् । चलचित्र मनको बाँधको फूलको थुंगा, जीवन रेखाको ए मेरी बिजुली, पलपल चुमेर, लुकूँलुकूँ लाग्यो मलाई, हराएझैं के लाग्छ, आँखाहरूले रुने आदि कर्णप्रिय गीतमा तारा देवीको स्वर सुनिन्छ भने मिरा राणाले आँखैंमा कसैको तस्बिर बसेछ जस्ता गीत गाएकी थिइन् । त्यसपछि धेरै चलचित्रमा बलिउड गायिकाहरूकै स्वर सुनियो तर २२ वर्षअघि चलचित्र कस्तूरीमार्फत आधुनिक गीतमा रमाइरहेकी देविका प्रधानको आगमनपछि भने नेपाली पाश्र्वगायनमा नेपाली स्वर सुनिन थालियो । कस्तूरीपछि अशोक शर्माको चलचित्रमा शम्भुजित बाँस्कोटाको संगीतमा नागबेली नागबेली चुल्ठो गाएपछि देविका चलचित्रका गीतमै बढी सुनिन थालिन् । उनले चलचित्रमा रोमान्टिक, लभ, पप, सेन्टिमेन्टल आदि हरेक किसिमका गीतमा स्वर दिएकी छिन् । त्यो समयमा शम्भुजित बाँस्कोटाको संगीत र देविकाको स्वरले चलचित्रका गीतमा हलचलै मच्चाए । देविका वन्दनाले अच्छा लेकिन लण्डनको चिसोले सताउला, मलाई नेपाली माया चाहिन्छ, यो माया के हो, आगो हो कि पानी, सुन सुन सनम म माया, तल तल तल बेसीमा मैचाङ, मलाई लुकीछुपी माया गर जस्ता सय भन्दा बढी सुपर हिट चलचित्रका गीतमा स्वर भरेकी छिन् । अहिले आफ्नै एल्बम र आधुनिक गीतहरूमा सक्रिय भएकीले देविकाको स्वर चलचित्रमा भने त्यति सुन्न पाइँदैन । आफूलाई भारतमा स्थापित गरिसकेकी गायिका संगीता राना प्रधान विवाहपछि पनि नेपाली संगीत यात्रामा निरन्तरता दिइरहेकी गायिका हुन् । प्रधानले कलेजमा संगीत सिकाउनुका साथै आफै आधुनिक तथा क्लासिकल गायनमा पनि त्यत्तिकै सक्रिय छिन् । उनले पनि धेरै चलचित्रका गीतमा स्वर दिइसकेकी छिन् । रानाले गाएको चलचित्र सीमानाको छिटको गुन्यु निकै लोकप्रिय गीतमध्ये एक हो । उनी अहिले पनि पाश्र्वगायनमा त्यत्तिकै व्यस्त गायिकामध्ये एक हुन् ।
पाश्र्वगायनमा निकै व्यस्त गायिकाको नाम लिनुपर्दा रजिना रिमालको नाम बिर्सनु हुँदैन । रजिनाले अहिलेसम्म चलचित्रका १ हजारभन्दा बढी गीत गाइसकेकी छिन् । १३ वर्षको उमेरमा चलचित्रको गीतमा स्वर दिएकी रजिनाले अहिलेसम्म निरन्तर चलचित्रमा स्वर दिने मौका पाइरहेकी छिन् । रजिनाले १३ वर्षको उमेरमा चलचित्र सपूतका लागि सुसेली हाल्ने गीत गाएकी थिइन् । संगीत क्षेत्रमा ट्याजिटी क्विन भनिने रजिनाले नाइँ नभन्नु ल, म मर्ने बेला, म तिम्रो भैसकें, पागल भैसकें, मर्ने कसैलाई, तिमी नै मेरो साँझ–बिहानीजस्ता चर्चित चलचित्रका गीत गाएकी छिन् ।
नेपाली ताराको सहभागितापछि संगीत क्षेत्रमा निरन्तरता दिइरहेकी इन्दिरा जोशीले चलचित्र लुटको उध्रेको चोली छ है तैपनि लाइन्छ बाट पाश्र्वगायनमा इन्ट्री मारेकी हुन् । उनले ६० वटाजति चलचित्रका गीतमा स्वर दिइसकेकी छिन् । इन्दिराले गाएको म त मर्छु कि क्या हो ठूली पनि त्यत्तिकै चलेको गीत हो । इन्दिरालाई फास्ट नम्बरका गीत नै बढी दिइए पनि ए मेरो हजुर, नाइँ नभन्नु ल–४ मा उनको सेन्टिमेन्टल गायन पनि सुन्न सकिन्छ । इन्दिराले फन्को चलचित्रका लागि गाएको गीत पनि युट्युबमार्फत धेरैले रुचाएका छन् । त्यसमा उनी आफै नाचेकी छिन् ।
अञ्जु पन्तले पनि धेरै चलचित्रका पाश्र्वगीतमा स्वर दिएकी छिन् । उनले गाएको म तिमीबिना मरिहाल्छु, सागरसरी चोखो मायाजस्ता गीत चर्चित छन् । चलचित्रमा धेरै रुचाइएको महिला स्वरमा गायिका माण्डवी त्रिपाठी पनि एक हुन् । उनले गाएको सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, मात लाग्यो–मात लाग्यो जस्ता गीत सुपर हिट छन् ।
आसामबाट विवाह गरी काठमाडौं आएकी मिलन अमात्य पाश्र्वगायनकी व्यस्त गायिका हुन् । ५ वर्षअघि मनोहर सुनामले स्टुडियोमा उनको स्वर सुनेर सम्झिदिए पुग्छ गीत उनलाई गाउन दिएका थिए । त्यसपछि संगीतकार वसन्त सापकोटाले नोटबुक चलचित्रको गाला रातै गाउन दिए । जुन धेरैले रुचाए र मिलनले पाश्र्वगायनमा पछाडि फर्कन नपर्ने गरी निरन्तरता दिन पाइन् । स्लोली स्लोली, घन्टी बज्यो, बाउबज्यैजस्ता हिट गीतमा उनको स्वर सुन्न सकिन्छ । मिलन अचेल हरेक दिनजसो पाश्र्वगायनकै लागि स्टुडियोमा व्यस्त देखिन्छिन् । उनलाई संगीतकारहरू डान्सिङ नम्बर तथा रोमान्टिक गीतहरू नै बढी दिन्छन् । मिलनका आधुनिक गीत भने सेन्टिमेन्टल गीत रुचाउने श्रोताहरूले बढी मन पराएका छन् ।
पिरतीको छाता ओढौंलाबाट पाश्र्वगायनमा उदाएकी सोमिया बराइली पनि चलचित्रमा स्वर दिइरहेकी छिन् भने क्लासिकल गायनमा रमाइरहेकी जेनीशा पौडेल अधकट्टीको फिगर कोकाकोलामार्फत पाश्र्वगायनमा कदम राखेपछि चलचित्रमै सक्रिय हुन थालेकी छिन् । अहिले रीमा गुरुङ होडा, निशा देसार, जुना प्रसाईं, जुनु रिजाल, प्राश्ना शाक्य, मौसमी गुरुङ, मल्लिका कार्की, सुवानी मोक्तान, श्रेया सोताङ, दुर्गा खरेल, एनी श्रेष्ठ, नित्या शिवा, एन्जिला रेग्मी, जलजला परियार आदि पनि पाश्र्वगायनमा व्यस्त छन् ।