Successfully Copied

सुरुमा क्यामेरा फेस गर्न गाह्रो थियो

कला क्षेत्र छोटो समयमै मानिसहरूलाई चिनाउने क्षेत्र हो । आफूलाई कसरी अगाडि बढाउने भन्ने कुरामा व्यक्ति स्वयंमा पनि भर पर्दोरहेछ ।


पवित्रा साकी (मिस पवि), मोडल

डडेलधुरामा जन्मिएकी पवित्रा साकी टिकटकबाट चर्चित भएकी हुन् । कोरोनाको समयमा मनोरञ्जनका लागि डोटेली भाषामा बनाएको टिकटकले उनलाई चर्चित बनाएको हो । पछिल्लो समय म्युजिक भिडियो र चलचित्रमा व्यस्त रहेकी मिस पविसँग गरिएको कुराकानी ः
मिस पवि नाम कसरी रह्यो ?
मेरो खास नाम पवित्रा साकी हो । पहिलेदेखि नै मलाई यो नाम लामो लाग्थ्यो । तर मलाई घरमा सबैले पवि भनेर बोलाउँथे । एकदिन टिकटक बनाउँदा मैले आफ्नो नामको अगाडि मिस राखिदिएँ । पछि त्यही नाम नै स्थापित भयो ।
टिकटकबाट पाएको यो सफलतालाई कसरी लिनुभएको छ ?
मैले रमाइलोका लागि टिकटक बनाउँथें । बढी टिकटक डोटेली भाषामा बनाएँ । कहिलेकाहीँ देउडा गीतमा सबैले मन पराइदिनुभयो । टिकटकले मलाई छुट्टै पहिचान दियो । यसरी कला क्षेत्रमा आउँछु भन्ने कुरा सोचेकी पनि थिइन । अहिले भने थुप्रै म्युजिक भिडियोदेखि चलचित्रमा अभिनय गरेकी छु । कला क्षेत्रमा मैले नसोचेको उपलब्धि हासिल गरेजस्तो लाग्छ ।


अहिले टिकटक बन्द भयो, केही असर गरेको छ ?

टिकटकका राम्रा नराम्रा दुवै पक्ष छन् । यसका राम्रा नराम्रा पक्षलाई अनुगमन गर्दे निरन्तरता दिनुपर्दथ्यो । टिकटकले काम–दाम दिएका मानिसलाई त गाह्रै भयो । जहा“ गए पनि टिकटक बनाएर पोस्ट गर्ने बानी परिसकेको थियो । टिकटक पूर्णरूपमा बन्द गर्नु उचित होइन जस्तो लाग्छ ।
कला क्षेत्र कस्तो लागिरहेको छ र कसरी बुझ्नुभएको छ ?
यो क्षेत्र छोटो समयमै मानिसहरूलाई चिनाउने क्षेत्र हो । आफूलाई कसरी अगाडि बढाउने भन्ने कुरामा व्यक्ति स्वयंमा पनि भर पर्दोरहेछ । अर्को कुरा धेरैजसो अनुहारमा पनि फोकस हुने भएकाले यो क्षेत्रमा आफूले गर्न सकुन्जेलसम्म मात्र टिक्न सकिने रहेछ ।
क्यामेरा फेस गर्न कत्तिको कठिन थियो ?
सुरुमा निकै कठिन थियो । तपाईंको फेस कुन साइड (राम्रो देखिने) हो भनेर सोध्थे तर मलाई केही थाहा थिएन । नाकमा फुली लगाउँथें । क्यामेरामा म त्यही साइड नै देखाउँथें । तर मलाई पछि मात्र थाहा भयो मेरो फेस साइड दायाँ रहेछ ।
कत्तिको ग्ल्यामर देखिन रुचाउनुहुन्छ ?
म सामान्य परिवेशमा हुर्किएर आएकी हुनाले ग्ल्यामर देखिन त्यति रुचि लाग्दैन । छोटा पहिरन लगाउन लाज लाग्छ । त्यसैले म्युजिक भिडियोमा खेल्नुअघि नै पहिरन हेरेर अभिनय गर्ने गरेकी छु ।
परिवारप्रति तपाईंको चाहना के छ ?
पहिले एउटा पक्की घर बनाउने चाहना थियो । त्यो चाहना बाबा र मेरो कमाइले पूरा भयो । अहिले भाइबहिनीहरूको चाहना पूरा गरिरहेकी छु ।

 Image