वृद्धावस्थाको रोग : डिमेन्सिया

वास्तविक स्मरण शक्तिको कमी २० वर्षअघि सुरु भएर ६० वर्षको उमेरमा देखा पर्न थाल्छ ।

उपासना पाण्डे

मंसिर १, २०७२
 

डा. निदेश सापकोटा, विभागीय प्रमुख, मानसिक विभाग, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान 

बानेश्वरकी ७० वर्षीया सीता शर्मा अहिले कुनै पनि काम गर्न सक्दिनन् । उनको हेरविचार गर्ने सहयोगी चाहिन्छ ।   

ज्ञानेश्वरका ७५ वर्षीय रमेश श्रेष्ठ पनि राम्रोसँग हिँडडुल गर्न तथा कुनै पनि कुरा सम्झन सक्दैनन्  । 

सीता र रमेश त उदाहरण मात्र हुन् । मानसिक रोग सबै उमेरका मानिसलाई लाग्नसक्छ । बदलिँदो जीवनशैली एवं वातावरणका कारण अहिले बालकदेखि वृद्धसम्मलाई यो रोगले आक्रमण गरिरहेको छ । 

मानिसको उमेर वृद्धिसँगै रोगले आक्रमण गर्न थाल्छ । यिनै रोगमध्ये मानसिक रोग पनि एक हो । मधुमेह, उच्च रक्तचाप तथा दमका रोगीलाई मानसिक रोग लाग्ने सम्भावना अझ बढी हुन्छ । धेरै मानिसलाई वृद्धावस्थामा पुगेपछि बिर्सने रोग लाग्छ । यसलाई डिमेन्सिया भनिन्छ । सामान्यतया यो रोग ६० वर्षभन्दा माथिका वृद्धवृद्धालाई लाग्छ । 

डिमेन्सिया/अल्जाइमर

डिमेन्सिया, अल्जाइमर एक किसिमको बिर्सने रोग हो । डिमेन्सिया विभिन्न कारणले हुन्छ । अल्जाइमर रोगका कारणले भए त्यसलाई अल्जाइमर डिमेन्सिया भनिन्छ । अर्को प्रकारमा भास्कुलर डिमेन्सिया पनि हुन्छ । स्नायुप्रणालीमा भएका रगतका स–साना नली टुटेर वा कुनै पनि प्रकारले राम्रोसँग रक्तसंचार हुन नसकेर स्नायुप्रणालीमा राम्रो रक्तसंचार  हुन नसक्दा मस्तिष्कले काम गर्न सक्दैन । यसलाई भास्कुलर डिमेन्सिया भनिन्छ । त्यसबाहेक अन्य कारणले पनि डिमेन्सिया हुनसक्छ । कतिपयले अल्जाइमर र डिमेन्सियालाई पर्यायवाचीका रूपमा पनि प्रयोग गरेका छन् । धेरैजसो केसमा अल्जाइमरका कारणले डिमेन्सिया हुन सक्ने भएकाले त्यसो भनिएको हो । 

कुन उमेरकालाई यो रोग लाग्छ ? 

सामान्यतया डिमेन्सिया अर्थात् बिर्सने रोग वृद्धावस्थामा लाग्छ । ६० वर्ष कटेपछि मात्र यो रोग देखापर्छ । कतिपय अवस्थामा कम उमेरका व्यक्तिलाई पनि लागेको पाइन्छ । वास्तविक स्मरण शक्तिको कमी २० वर्षअघि सुरु भएर ६० वर्षको उमेरमा देखा पर्न थाल्छ । 

लक्षणहरू

युवावस्थामै तथा वृद्धहरूले पनि सामान्य कुरा बिर्सन्छन् । कहिलेकाहीँ सामान राखेको बिर्सन्छन् । यसलाई डिमेन्सिया भनिँदैन । खासमा डिमेन्सियामा निम्न लक्षण देखापर्छन् :

–स्मरणशक्तिमा क्रमिक रूपमा ह्रास आउँदै जान्छ । यसले गर्दा मानिसको जीवनयापन नै कठिन हुन्छ र अरु मानिसको सहारामा बस्नुपर्ने हुन्छ । 

–आफूले गरिआएको काम तथा आफूले प्रयोगमा ल्याउने सामान प्रयोग गर्न नसक्नु । जस्तै कपडा लगाउन नसक्नु । 

–बोलीमा बिस्तारै परिवर्तन आउँदै जानु । बोल्ने बेलामा शब्द नपाउनु ।  बोली अड्किनु र रोग धेरै छिप्पिएपछि बोली नै बन्द हुनु । यसलाई अफाजिया भनिन्छ । 

–आफूले चिनिरहेका सामान जस्तै घडी, पेन अथवा प्रयोगमा ल्याएका अन्य सामान चिन्न नसक्नु । 

–योजना बनाउने तथा कुन सही वा कुन गलत हो भन्नेजस्ता मस्तिष्कले गर्न सक्ने काम नगर्नु ।

यो रोग कसलाई हुन्छ  ? 

अहिले नेपालीको औसत आयुमा वृद्धि भएको छ । सन् २०११ मा कुल जनसंख्याको झन्डै ९ प्रतिशत मानिस ६० वर्षभन्दा माथिका थिए । यही संख्या सन् २००१ को जनगणनामा आधा मात्र थियो । वृद्धवृद्धाहरूको संख्या जति वृद्धि भयो अल्जाइमर रोग लाग्ने सम्भावना उति नै वृद्धि हुन्छ । ६० वर्षमाथिका मानिसमा यो रोग लाग्ने भएकाले आयु वृद्धिसँगै रोगीको संख्या पनि बढेको पाइन्छ । तथ्यांकको कुरा गर्ने हो भने ६५ वर्षदेखि ७५ वर्षबीचका ५ देखि १० प्रतिशतलाई, ७५ वर्षदेखि ८५ वर्ष सम्मकालाई झन्डै २० प्रतिशतलाई तथा ८५ वर्ष माथिका झन्डै ५० प्रतिशतलाई डिमेन्सिया लाग्ने सम्भावना छ । 

विश्व स्वास्थ्य संगठन तथा अल्जाइमर डिजिज इन्टरनेसनलले संयुक्त रूपमा तयार पारेको रिपोर्टअनुसार नेपालमा कम्तीमा पनि ७८ हजार डिमेन्सियाका बिरामी हुनसक्ने सम्भावना छ । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको अध्ययनमा मानसिक ओपिडीमा आएका ६० वर्षभन्दा माथिका झन्डै ११ प्रतिशत मानिसमा डिमेन्सिया पाइएको थियो । यद्यपि समाजमा गएर भने यसको अध्ययन भएको छैन । अल्जाइमर इन्टरनेसनलको रिपोर्टअनुसार प्रत्येक ७ सेकेन्डमा १ जना मानिसमा डिमेन्सिया देखा पर्छ । 

अल्जाइमर डिमेन्सिया 

वास्तवमा अल्जाइमर एक जर्मन व्यक्तिको नाम हो जसले आजभन्दा झन्डै १ सय ९ वर्षअघि यो बिर्सने रोग एउटा महिला (अगस्टी डी) मा पत्ता लगाएका थिए । त्यसपछि नै यो रोग अल्जाइमर नामले प्रख्यात छ  । यो रोग लागेपछि स्नायु प्रणालीको कोशिकामा खराब प्रोटिन जम्मा भएर अन्ततोगत्वा स्नायु प्रणाली ध्वस्त हुन्छ । 

रोकथाम

अन्य रोगको रोकथाम भएजस्तै डिमेन्सियाको पनि रोकथाम हुन्छ । कुनै पनि रोगको उपचारभन्दा पहिले त्यसको पहिचान गर्नुपर्छ । न्यूरोलोजिस्टले (नसा रोग विशेषज्ञ) यसको निदान गर्न सक्छन् । डिमेन्सिया पूर्णत: निको हुँदैन । यद्यपि यो रोगमा प्रयोग गरिने औषधिले जुन गतिबाट स्नायु प्रणाली ध्वस्त हुने हो त्यसको गति कम गर्छ । यसले गर्दा मानिसको आयु लम्बिन्छ भने रोगीले गुणात्मक जीवन बाँच्न सक्ने अवस्था बढाउन सकिन्छ ।  

बच्नका लागि 

–आफ्नो मुटु स्वस्थ राख्ने । उच्च रक्तचापका बिरामीले चिकित्सकले दिएको औषधि नियमित सेवन गरेर रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ । 

–शरीर स्वस्थ हुने खानेकुरा जस्तै फलफूल, सागसब्जी तथा हाडे बदामको नियमित सेवन गर्नुपर्छ ।

–नियमित रूपमा व्यायाम गर्नुपर्छ । हिँडडुल गर्नुपर्छ । हिँडडुल गर्न नसके हातखुट्टा चलाएर भए पनि सक्रिय बनाउनुपर्छ । 

–सामाजिक कार्यमा पर्याप्त समय दिनुपर्छ । 

–दिमागलाई सक्रिय बनाउने खेलहरू बाघचाल, क्यारेमबोर्ड, चेसजस्ता खेल खेल्नुपर्छ । यसका लागि  विदेशमा ब्रेन एप्स पनि प्रयोगमा आएको छ । नेपालमा भने यसको प्रयोग प्रारम्भ भैसकेको छैन । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>