Successfully Copied

विवाहपछिको पहिलो दसैं नौलो र जिम्मवारीयुक्त

दसैं भन्नासाथ डा. ज्योति रायमाझीको दिमागमा लामो बिदा तथा वर्षौं भेटघाट नभएका आफन्तसँग भेटघाट भन्ने कुरा क्लिक हुन्छ । वरपरको रमाइलो वातावरणले पनि उनलाई दसैं आउन लागेको महसुस गराउँछ ।

दसैं भन्नासाथ डा. ज्योति रायमाझीको दिमागमा लामो बिदा तथा वर्षौं भेटघाट नभएका आफन्तसँग भेटघाट भन्ने कुरा क्लिक हुन्छ । वरपरको रमाइलो वातावरणले पनि उनलाई दसैं आउन लागेको महसुस गराउँछ । काठमाडौंको बालुवाटारमा पुख्र्यौली घर भएकी डा. ज्योतिको बाल्यकालको दसैं पनि त्यही सेरोफेरोमा बित्यो । बाल्यकालमा बिनाकर्तव्य, बिनाजिम्मेवारी दसैं मनाउने डा. ज्योतिले ठूलो भएपछिको दसैं जिम्मेवारीयुक्त भएको अनुभव गरिन् । 

स्कूले शिक्षा भारतमा पूरा गरेकी डा.ज्योतिले धेरैवटा दसैं उतै बिताइन्  । उता दसैं मनाउँदा साथीभाइसँग घुमेर तथा मीठा–मीठा परिकार बनाएर रमाइलो गर्दै मनाएको उनले बताइन् । त्यो समयमा साथीहरू मिलेर आपसमा टीका लगाइए पनि दक्षिणा भने दिँदैनथे । स्कुले जीवनपछि कलेज जीवनमा पनि उनले धेरै दसैं बाहिरै मनाइन् । जहाँ भए पनि दसैं आउन लाग्नासाथ मनमा अर्कै खाले रमाइलो हुन्थ्यो । विवाहपछिको पहिलो दसैं पनि उनका लागि नौलो र जिम्मवारीयुक्त रह्यो । 

डा. रायमाझी आर्मी अस्पतालमा कार्यरत भएकीले केही वर्षको दसैं उनले उपत्यकाबाहिर आर्मी क्याम्पमा मनाएकी छिन् । त्यो समयमा उनले अभिभावकको भूमिका निर्वाह गर्दै भिन्दै खालको अनुभव बटुलेकी छिन् । कुनै पनि कुराको सकारात्मक एवं नकारात्मक पक्ष भएजस्तै दसैंको पूजाआजा, नवरात्रिमा दुर्गा मन्दिर जाने तथा लामो समय भेटघाट नभएका आफन्त भेटघाट हुनु दसैंको रमाइलो पक्ष हो भने मारकाट गर्नु, देखासिकीमा आफ्नो गच्छेभन्दा माथि गएर चाडपर्व मनाउनु नकारात्मक पक्ष भएको डा. ज्योति बताउँछिन् । आफूसँग जे छ त्यसमै खुसी हुनुपर्छ भन्ने डा. रायमाझीको व्यस्तता दसैं सुरु भएपछि अझ बढ्न थाल्छ । दसैंमा घरको सरसफाइ, सपिङ, हस्पिटलमा बिरामीको उपचार आदिमै उनको दिनचर्या बित्छ । उनी दसैंमा परिवारका साथै आफ्ना लागि पनि नयाँ पहिरन खरिद गर्छिन् । ज्योतिको घरमा जमरा राख्ने चलन छ । उनी समयले भ्याएसम्म मन्दिर पनि जान्छिन् । दसैंको सेरोफेरोमा उनको घरमा आफन्तलाई खान बोलाउने तथा उनीहरूकहाँ पनि खान जाने चलन छ । त्यसैले त दसैंलाई उनी फेमिली गेट टु गेदरको पर्व पनि भन्न रुचाउँछिन् । 

तस्बिर: श्रुति श्रेष्ठ

चिकित्सा पेसामा आबद्ध भएकीले उनको बिदा सप्तमीदेखि एकादशीसम्म मात्र हुन्छ । यद्यपि हस्पिटलबाट इमर्जेन्सी फोन आए उनी जुनसुकै समयमा पनि बिरामीको उपचार गर्न तयार हुन्छिन् । त्यसैले धेरैवटा दसैंमा टीका लगाउँदा–लगाउँदै, आफन्तहरूसँग बसेर रमाइलो गर्दागर्दै हस्पिटलमा बिरामीको सेवा गर्न गएको अनुभव पनि छ उनीसँग । दसैंमा चंगा उडाइने भएकाले धेरैजसो छतबाट लड्ने वा एक्सिडेन्ट केसमा सर्जरी गर्नुपर्ने अवस्थामा बिरामीको तत्काल उपचार गर्नुपर्छ ।

कामको बीच समय मिलाएर टीका लगाउन जाने भएकाले उनी टीका लगाउन पूर्णिमासम्मै व्यस्त हुन्छिन् । महान् पर्व दसैंलाई हर्षोल्लासका साथ मनाउनुपर्ने धारणा डा. रायमाझीको छ । यसपटकको दसैंमा भारत पढ्न गएको छोरा पनि नेपाल आउने भएकाले उनलाई बेग्लै रमाइलो लागिरहेको छ । दसैंको समय पारेर घुम्न जाने योजना पनि उनको छ ।   

 Image