Successfully Copied

घरलाई नयाँ लुक

हिजोआज हरेक मानिस मेसिनझैं भएका छन् । घर खाने र सुत्ने होटलजस्तै बन्दै गएको परिप्रेक्ष्यमा घरको रूपरंगमा केही परिवर्तन गरी नयाँ देखाउने चाहना सबैजसो महिलामा हुन्छ । घरमा भएका सबै सामग्रीलाई व्यवस्थित रूपमा राख्न सक्नु पनि एउटा कला हो । सीमित ठाउँमा पनि

हिजोआज हरेक मानिस मेसिनझैं भएका छन् । घर खाने र सुत्ने होटलजस्तै बन्दै गएको परिप्रेक्ष्यमा घरको रूपरंगमा केही परिवर्तन गरी नयाँ देखाउने चाहना सबैजसो महिलामा हुन्छ । घरमा भएका सबै सामग्रीलाई व्यवस्थित रूपमा राख्न सक्नु पनि एउटा कला हो । सीमित ठाउँमा पनि थुपै्र सामग्री सम्हालेर राख्न सके घर व्यवस्थित देखिन्छ । घरको भित्तामा वाल पेपर लगाएर, कुसन कभरहरू फेरेर, सोफाको कभर परिवर्तन गरेर, सजावटका नयाँ वस्तुहरू राखेर तथा बत्तीहरू फेरेर पनि घरलाई रूप दिन सकिन्छ ।

लिभिङ रुम  

घरमा आएका हरेक पाहुना सबैभन्दा पहिले लिभिङ रुममै पुग्छन् । त्यसैले यहाँको सजावट सबैभन्दा विशेष हुनुपर्छ । सबैभन्दा पहिले लिभिङ रुममा राखिएका अनावश्यक सामग्री बाहिर निकाल्नुपर्छ । कोठा जति खाली हुन्छ त्यति नै ठूलो देखिन्छ । तुरुन्तै परिवर्तन चाहने हो भने लिभिङ रुमको लाइट बदल्नुपर्छ । लिभिङ रुममा हेलोजिन, डिम वा आफ्नो रोजाइको कुनै ड्रामेटिक लाइट राख्न सकिन्छ । यसैगरी लिभिङ रुमको एउटा भित्तामा वालपेपर प्रयोग गरी त्यसलाई नयाँ लुक दिन सकिन्छ । एउटा भित्तामा फरक–फरक प्रकारको आर्टवर्क वा तस्बिर सजाएर पनि लिभिङ रुममा नयाँ लुक सिर्जना गर्न सकिन्छ । नयाँ फर्निचर खरिद गर्ने चाहना छ भने पुरानाको मेकओभर गरी लिभिङ रुमको सुन्दरता बढाउन सकिन्छ । यसका लागि पुरानो सोफामा नयाँ कभर लगाउन अथवा नयाँ कुसन कभर खरिद गरी सोफालाई नयाँ रूपमा सजाउन सकिन्छ । झ्यालमा नयाँ पर्दा लगाएर लिभिङ रुमको सुन्दरतामा निखार ल्याउन सकिन्छ । पुरानो फ्लोरिङ परिवर्तन गर्नुको साटो त्यसमा नयाँ कार्पेट ओछ्याउन सकिन्छ । यसबाट लिभिङ रुमको लुक परिवर्तन हुन्छ । पुस्तकमा रुचि छ भने ग्लासका बुक सेल्फले लिभिङ रुमको शोभा बढाउनु उपयुक्त हुन्छ । नयाँ–नयाँ प्लान्ट्स राखेर पनि लिभिङ रुमको रौनक बढाउन सकिन्छ ।

बेडरुम

यो घरको त्यस्तो ठाउँ हो जहाँ दिनभरिको थकानपछि साँझ आनन्दपूर्वक आराम गर्न सकिन्छ । बेडरुमको मेकओभरले मुड बदल्न सहयोग गर्छ । सबैभन्दा पहिले बेडसिट, पिलो कभर तथा पर्दा बदल्नुपर्छ । त्यसपछि केही क्षणमै बेडरुमको लुक बदल्न सकिन्छ । आवश्यकतानुसार बेडरुमलाई पनि कुनै थिममा सजाउन सकिन्छ । बेडरुमका लागि फ्लोरल प्रिन्ट छनोट गर्नु उपयुक्त हुन्छ । बेडरुमलाई ताजा फूलले सजाउन सकिन्छ वा अरू कुनै थिम छनोट गर्न पनि सकिन्छ । बेडरुमलाई रोमान्टिक लुक दिन कोठामा क्यान्डल, ल्याम्प वा अलग–अलग प्रकारका सफ्ट लाइट्स राख्नुपर्छ । बेडरुमलाई लग्जरियस लुक प्रदान गर्न सिल्कका पर्दा, बेडसिट, पिलो कभर आदि प्रयोग गर्नुपर्छ । बेडरुमका लागि त्यस्तो साइड टेबल छनोट गर्नुपर्छ, जसको मुनिको भागमा दैनिक आवश्यकताका स–साना सामग्री राख्ने पर्याप्त ठाउँ होस् । 

भान्सा

भान्साको भित्री भित्ता मोटो छ भने यसलाई काटेर क्रकरी राख्ने क्याबिनेट बनाउन सकिन्छ । भान्साको सफाइसँग जोडिएका डस्टर, क्लिनिङ ब्रस तथा लिक्विड सोप आदि राख्न सिन्क तल सानो खालको कबर्ड एरिया हुनुपर्छ । सरसामान व्यवस्थित राख्न मोड्युलर किचेन धेरै राम्रो विकल्प हो । 

चिल्ड्रेन रुम

बालबालिकाहरूको कोठामा स्टोरेजको व्यवस्थाका साथै पढ्न र इन्डोर गेम्स खेल्न पर्याप्त खुला ठाउँ हुनुपर्छ । बालबालिकाहरूको बेडमुनि दराज हुनुपर्छ जसले गर्दा बालबालिकालाई आफ्ना सरसामान निकाल्न असुविधा हुँदैन । स्टडी टेबलका साथमा एउटा क्लिप बोर्ड हुनुपर्छ, जहाँ बोर्ड पिनको सहायताले आवश्यक कागजात राख्न सकियोस् । बालबालिका साना भए कोठामा आकर्षक डिजाइनयुक्त प्लास्टिक कन्टेनर राख्नुपर्छ, यसमा उनीहरूका खेलौना सम्हालेर राख्न सकिन्छ । बालबालिकाहरूको कोठालाई आकर्षक बनाउन भित्तामा फ्लावरी वा कार्टुन क्यारेक्टरयुक्त वालपेपर लगाउनुपर्छ । भित्तामा थ्रिडी स्टिकर्स, कार्टुन पोस्टर्स टाँगेर पनि कोठालाई नयाँ लुक दिन सकिन्छ । बालबालिकाहरूको कोठाका लागि पर्दा, बेडसिट, पिलो कभर आदि छनोट गर्दा उनीहरूको रोजाइअनुसार कार्टुन क्यारेक्टर, फूल, पुतली आदि प्रिन्ट्सलाई प्राथमिकता दिनुपर्छ ।

बाथरुम  

बाथरुमलाई नयाँ लुक प्रदान गर्दा त्यो घरको अन्य कोठासित मिल्दोजुल्दो होस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । एक्रेलिक बाथटब वा वास वेसिनको स्थान परिवर्तन गरी बाथरुमलाई नयाँ लुक प्रदान गर्न सकिन्छ । नयाँ सावर लगाएर बाथरुममा नयाँ लुक दिन सकिन्छ । बाथरुमको लाइट बदल्नुपर्छ । बाथरुममा ह्वाइट लाइट छ भने त्यसलाई परिवर्तन गरी एल्लो लाइट प्रयोग गर्नुपर्छ, यसबाट बाथरुममा परिवर्तन आएजस्तो लाग्छ । नयाँ टाबेल, सावर, बाथमेट आदि प्रयोग गरी बाथरुमलाई नयाँ लुक दिन सकिन्छ । ठूलो ऐना राख्दा बाथरुम नै ठूलो देखिन्छ । ठूलो टाइल्स लगाउँदा पनि बाथरुम ठूलो देखिन्छ । बाथरुमका लागि एसेसरिज छनोट गर्दा एलो, ओरेन्ज ओलिभ ग्रिन, रोयल ब्लुजस्ता फ्रेस कलरलाई प्राथमिकतामा राख्नुपर्छ ।

पर्दा

कोठाको भित्ता सेतो, क्रिम, लाइट वा एउटै रंगको छ भने रंगीन तथा चम्किलो पर्दा लगाउनुपर्छ । घरलाई कन्टेम्पोररी लुक दिन भित्ताको रंग ह्वाइट वा अफ ह्वाइट नै राख्नुपर्छ भने पर्दा ब्राइट, बोल्ड र भाइब्रेन्ट हुनुपर्छ । घरलाई क्लासी वा रोयल लुक दिन गोल्ड तथा सिल्भर सेड्सको पर्दा छनोट गर्न सकिन्छ । यसमा हल्का वर्क गराउनु उपयुक्त हुन्छ । 

कुसन

बढी खर्च नगरे पनि घरलाई नयाँ लुक दिन कुसन, सोफा कभर तथा पर्दा बदलिरहनुपर्छ । त्यसका लागि ब्राइट कलरको फेब्रिक छनोट गर्न सकिन्छ । यसबाट डेकोर पनि ब्राइट हुन्छ । रोयल लुकका लागि विड्स, जरदोजी वर्कयुक्त कुसन कभर्स तथा कटनको फेब्रिक प्रयोग गर्नुपर्छ । स्पेशल अवसरका लागि कटनको साटो सिल्क, भेल्भेट, टिस्यु, ओर्गेन्जा आदि फेब्रिक छनोट गर्न सकिन्छ । लिभिङ रुममा मिरर वर्क, ब्रोकेड वा सिक्वेन्ड कुसन कभर प्रयोग गर्नुपर्छ । यसले क्षणभरमै लिभिङ रुम नयाँ देखिन्छ ।

वालपेपर 

सानो घरलाई ठूलो देखाउनु छ भने लाइट कलरको सानो डिजाइनयुक्त वालपेपर छनोट गर्नुपर्छ । भर्टिकल स्ट्रेप्सयुक्त वालपेपर लगाउँदा कोठा अग्लो भएको अनुभव हुन्छ । सिलिङ धेरै हाइटमा छ भने भित्ताको साटो सिलिङमा वालपेपर लगाउनुपर्छ । कोठालाई रोमान्टिक लुक प्रदान गर्न ब्लु, पर्पल, ग्रिन आदि ब्राइट कलर प्रयोग गर्नुपर्छ । वासेबल वालपेपर लगाउँदा भित्ता सुन्दर देखिन्छ । यसलाई साबुन पानी वा भिजेको कपडाले सफा गर्न सकिन्छ ।

ल्याम्प 

सेलियन्डरलाई डाइनिङ टेबल र कोठाको मध्यभागमा लगाउनुपर्छ । एन्टिक फिनिसयुक्त ल्याम्प पनि लोकप्रिय छ । घरलाई परम्परागत लुक दिन एन्टिक ल्याम्पको छनोट उपयुक्त हुन्छ ।

बक्स

सुनीति मुनकर्मी इन्टेरियर डिजाइनर

भित्ता सजाउन

आकर्षक भित्ताले घरको सुन्दरता वृद्धि गर्छ । आफ्नो सपनाको संसारमा नयाँ तरिकाले निखार ल्याउन भित्ताका लागि केही स्मार्ट उपाय अपनाउन सकिन्छ ।

ऐना

भित्तालाई सजाउन मिरर अर्थात् आकर्षक ऐनाभन्दा राम्रो अर्को कुनै विकल्प छैन । ठूलो फ्रेम भएको ऐना वाल डेकोरेसनमा काम आउनुका साथै त्यसको प्रयोगले सानो कोठालाई पनि ठूलो देखाउन सकिन्छ । ठूलो आकारको ऐना छनोट गर्नुपर्छ । ऐनाको प्रयोग विशेषगरी लिभिङ र डाइनिङ रुमको भित्तामा सम्म गर्न सकिन्छ । 

वालपेपर

वालपेपर घरको भित्ता सजाउने सबैभन्दा सहज उपाय हो । थिमअनुसार वालपेपर छनोट गर्नुपर्छ । कोठालाई फ्लोरल थिम दिने चाहना छ भने फूलको डिजाइनयुक्त वालपेपर छनोट गर्नुपर्छ । फर्निचर वा फ्लोरिङसित म्याच हुने वालपेपर प्रयोग गर्नुपर्छ । यसबाट कोठाको सुन्दरता वृद्धिमा सहयोग पुग्छ । 

ह्याङ्गिङ् डेकोर 

भित्तामा भुन्ड्याउन मिल्ने सजावटका वस्तुबाट पनि भित्ता सजाउन सकिन्छ । बजारमा यसका अनेकौं रेन्ज उपलब्ध छन् । ह्याङगिङ क्यान्डल वाल स्ट्यान्डले भित्ता सजाउनुपर्छ । यसले घरको सुन्दरतामा निखार ल्याउनुका साथै घरमा उज्यालो छर्ने काम पनि गर्छ । पूजाघरको भित्ताका लागि भगवान्को प्रतिमा वा स्वस्तिक, ओमजस्ता शुभ प्रतीक उपयुक्त हुन्छन् ।

पेन्टिङ्स

पेन्टिङ्सको माध्यमबाट पनि वाल डेकोर गर्न सकिन्छ । यसले घरलाई आर्टिस्टिक लुक प्रदान गर्छ । लाइट सेडको भित्तामा डार्क सेड वा डार्क सेडको भित्तामा लाइट सेडको पेन्टिङ लगाउनुपर्छ । यसबाट कोठालाई आकर्षक लुक प्राप्त हुन्छ । कोठाको एउटा भित्तामा पेन्टिङ झुन्डाउनुपर्छ । यसबाट सबैको ध्यान उक्त भित्तामा जान्छ । 

भित्ते घडी

कोठाको भित्ता सजाउन भित्ते घडी पनि राम्रो विकल्प हो । कोठालाई स्टाइलिस लुक दिन चाहने हो भने ठूलो साइजको वाल क्लक छनोट गर्नुपर्छ । एन्टिक लुकका लागि बेलयुक्त ठूलो भित्ते घडी प्रयोग गर्न सकिन्छ ।

फोटो फ्रेम

जीवनका विशेष क्षणलाई सुन्दर तथा आकर्षक फ्रेममा कैद गरेर पनि भित्ता सजाउन सकिन्छ । बेडरुमको भित्तालाई व्यक्तिगत तस्बिरहरूले सजाउन सकिन्छ भने लिभिङ रुमका लागि फेमिली फोटोग्राफ्स छनोट गर्नु उपयुक्त हुन्छ ।

 Image