Successfully Copied

स्वस्थ जीवन शैली : स्वस्थ मुटु

ह्दय रोग वा मुटु रोग विश्वमै मानव मृत्युको एउटा प्रमुख कारक बनिसकेको छ । विश्व मुटु संघका अनुसार सन् २००५ मा ह्दय रोगले १ करोड ७५ लाख मानिसको ज्यान लियो भने सन् २०१५ मा यो संख्या बढेर २ करोडसम्म पुग्ने अनुमान गरिएको छ

ह्दय रोग वा मुटु रोग विश्वमै मानव मृत्युको एउटा प्रमुख कारक बनिसकेको छ । विश्व मुटु संघका अनुसार सन् २००५ मा ह्दय रोगले १ करोड ७५ लाख मानिसको ज्यान लियो भने सन् २०१५ मा यो संख्या बढेर २ करोडसम्म पुग्ने अनुमान गरिएको छ । बदलिँदो जीवन शैलीसँगै मुटु रोगीको संख्या नेपालमा पनि वृद्धि हुँदैछ । मुटु रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्न सकिन्छ कि भन्ने हेतुले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भारत रावतले ‘स्वस्थ जीवन शैली : स्वस्थ मुटु’ शीर्षकको पुस्तक बजारमा ल्याएका छन् । उक्त पुस्तक ह्दय रोगीहरूका लागि लाभदायक हुनुका साथै अन्य सर्वसाधारणका लागि पनि उत्तिकै उपयोगी छ । यसमा मुटु रोग लाग्दा के गर्ने, स्वस्थ जीवनयापनका लागि के–कस्ता खानेकुरा खाने, स्वस्थ हुन अवलम्बन गर्नुपर्ने उपाय, मधुमेह आदिका बारेमा जानकारी दिइएको छ । यसैगरी पुस्तकमा मुटु रोगीले डा. रावतको उपचारबाट पुनर्जीवन पाएपछिको अनुभव पनि समेटिएको छ । उक्त पुस्तकबाट पाठकलाई स्वस्थ जीवन बिताउन र परिवारमा आइपर्ने आकस्मिक दु:खद् घटनाबाट जोगिन मद्दत पुर्‍याउने डा. रावतले उल्लेख गरेका छन् ।

स्वास्थ्यका लागि खुर्सानी 

उफ् खुर्सानी । खुर्सानी खाँदा आँखा, नाक सबैबाट पानी बग्न थाल्छ तर खानामा उचित मात्रामा खुर्सानी प्रयोग गरे फाइदा पनि हुन्छ । एक शोधअनुसार थोरै खुर्सानीको सेवनले मुटु रोग तथा मधुमेहबाट बचाउँछ । अस्ट्ेरलियाको तस्मानिया युनिभर्सिटीमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । शोधअनुसार खुर्सानीमा मधुमेह तथा मुटु रोग रोक्ने क्षमता हुन्छ । खुर्सानीमा क्याप्साइन र डिहाइड्रोक्याप्सिन नामक तत्वमा रगत सुगर वा ग्लुकोज कम गर्ने, इन्सुलिनको स्तर सामान्य राख्ने तथा धमनीको भित्तामा जम्ने बोसो घटाउने क्षमता हुन्छ । मीठा–मीठा खानेकुरा मात्र नखाएर स्वस्थ रहनका लागि पिरो पनि खाने हो कि ?

बढी खानु हानिकारक

आवश्यकताभन्दा बढी खाना खाए उच्च रक्तचाप, मधुमेहजस्ता डरलाग्दा रोग लाग्न सक्छन् । एक अध्ययनका अनुसार आवश्यकताभन्दा बढी खाए स्मरणशक्ति कमजोर, डिमेन्सिया तथा अल्जाइमरजस्ता समस्या उत्पन्न हुन सक्छन् । अध्ययनमा शोधकर्ताले उमेरसँगै बढ्दो समस्याका बारेमा अध्ययन गरेका थिए । शरीरलाई चाहिने भन्दा बढी खाए बढ्दो उमेरका मानिसमा बिर्सने रोग लाग्ने सम्भावना बढी रहेको अध्ययनबाट पत्ता लागेको छ । अध्ययनमा ७० देखि ८९ वर्षका करिब १ हजार ३ सय मानिसलाई लिइएको थियो । उनीहरूलाई पहिले डिमेन्सिया थिएन ।  

आठ सेकेन्डमै स्तन क्यान्सरको जाँच

अब महिलाका लागि स्तन क्यान्सरको जाँच धेरै सजिलो भएको छ । बेलायतस्थित ब्रेस्टल युनिभर्सिटीका वैज्ञानिकहरूका अनुसार स्तन क्यान्सरको जाँच गराउने एमआरआइए नामक नयाँ उपकरण परम्परागत म्यामोग्राफ एक्सरेभन्दा बढी सुविधाजनक छ । यसको उत्पादन तीन वर्षपछि सुरु हुन्छ । क्यान्सरका बिरामीका लागि भारतीय वैज्ञानिकले क्यान्सर प्रभावित कोशिका बाहिर निकाल्ने तरिका पत्ता लगाइरहेका छन् । बेलायतस्थित नाटिंघम युनिभर्सिटीका डा. श्रीनिवासन मधुसूदन तथा उनको समूहले कोशिकामा भएको आनुवंशिक पदार्थको दुरुस्त बनाउने एन्जाइमलाई बन्द गरेर दोषी क्यान्सर कोशिका नष्ट गर्न सक्षम भएको छ । वैज्ञानिकहरूका अनुसार यसबाट प्यांक्रियाज तथा स्तन क्यान्सरको उपचार सफलतापूर्वक गर्न सकिन्छ । 

अपचबाट बच्न 

अपचबाट मुक्त हुन खाने बानीमा सुधार ल्याउनुपर्छ । 

–खाना खाएको बेला पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घन्टाअघि र खाएको एक घन्टापछि मात्र पानी पिउनुपर्छ । 

–खाना टन्न खानु हुँदैन र भोक नलागेसम्म नखानु नै वेश हुन्छ । 

–रातिको खाना खानेबित्तिकै सुत्नु हुँदैन । यसो गर्दा अपच हुनुका साथै छाती पनि पोल्छ । रातिको खाना खाएको तीन घन्टापछि सुत्नु वेश हुन्छ । 

–खाना खाएको १०मिनेट बज्रासनमा बस्नु फाइदाजनक हुन्छ । 

–खाना खाइसकेपछि बाँबरी (पुदिना) र तुलसीका पात पिसी पानीमा घोलेर पिउँदा फाइदा पुग्छ । काँचो बन्दा, प्याज, लसुन, अदुवा एवं गोलभेडालाई सलादका रूपमा दैनिक सेवन गर्नुपर्छ । 

–अपचमा मुला एवं धनियाँ पनि लाभदायक हुन्छ । 

–महको सेवन पनि अपचका लागि राम्रो मानिन्छ ।  

–तारेका, मसलेदार खानाको सेवन सकभर कम गर्नुपर्छ ।

साभार: एक सय एक रोग एक से एक उपचार

 

 Image