Successfully Copied

गुहिणीहरूको लागि आपत्कालीन अवस्थाको पूर्व ज्ञान

घरछेउ नदीनाला भए बाढी आउँछ भन्ने कुरामा सचेत हुनुपर्छ । बाढी आउँदा के गर्ने वा आउन नदिन केही गर्न सकिन्छ कि भनेर उपाय सोच्नुपर्छ, जुन कुरा परिवार, छरछिमेक, वडा, गाउँ, जिल्लासम्म पनि पुर्‍याउनुपर्छ ।

कुशल गृहिणी ? सुन्दर नारी ? वा अन्य कुनै क्षेत्रमा पोख्त महिला ? 

जे भए पनि महिला कुनै पनि घरकी सदस्य हेुन् । एउटा घरको सदस्य भएपछि त्यहाँ उनको पुरुषको भन्दा बढी महत्व हुनु स्वाभाविक हुन्छ । बाहिरबाट हेर्दा महिलाहरू पुरुषको तुलनामा त्यति जिम्मेवार देखिँदैनन् । यद्यपि गहिरिएर हेर्ने हो भने महिलाले धेरैतिर ध्यान पुर्‍याउनुपर्छ । त्यसैले महिलाहरू पुरुषभन्दा धेरै गुणा बढी चलाख हुने विश्वास गरिन्छ । 

यति हुँदाहुँदै पनि महिलाहरू भान्सामा मात्र सीमित छैनन् । आफूलाई सुन्दर राख्न, आम्दानीको स्रोत जुटाउन पनि भान्साको कामभन्दा बाहिर पनि ध्यान दिनुपर्छ । महिलाको काँधमा घर राम्रोसँग संचालन गर्ने जिम्मेवारी पनि छ । जसलाई वैज्ञानिक ढंगले हल गर्नुपर्ने बाध्यता छ । दैवी विपत्ति आइपरे के गर्ने ? आपत्कालीन अवस्थाका लागि के सोच्नु भएको वा के गर्ने विचार गर्नुभएको छ ? छैन भने केही बुँदामा विचार पुर्‍याऔं । 

आफू बस्ने घर कस्तो ठाउँमा छ ? घर भिरालो ठाउँमा छ भने पहिरोबाट जोगाउने हिसाबले बनाउनु वा मर्मत गर्नुपर्छ । 

घरछेउ नदीनाला भए बाढी आउँछ भन्ने कुरामा सचेत हुनुपर्छ । बाढी आउँदा के गर्ने वा आउन नदिन केही गर्न सकिन्छ कि भनेर उपाय सोच्नुपर्छ, जुन कुरा परिवार, छरछिमेक, वडा, गाउँ, जिल्लासम्म पनि पुर्‍याउनुपर्छ । घर हुरी–बतास आउने ठाउँमा छ भने हुरी–बतासले नउडाउने गरी घर बनाउने वा हुरी–बतास आउँदा छाना वा अन्य केही उडाए धनजनको क्षति नहुने उपाय पहिले नै अपनाउने । 

भूकम्पका विषयमा सजग रही, नयाँ घर भूकम्प आउँदा जोगिने हिसाबले निर्माण गर्ने । यस विषयमा घरपरिवारलाई पनि सचेत गराउनुपर्छ । जसका लागि भूकम्प हुँदा खस्न वा ढल्न सक्ने वस्तुहरू राम्रोसँग किल्ला ठोकेर वा काठले अड्याउने व्यवस्था गर्नुपर्छ । घरको कौसीमा गमला वा अरू कुनै खस्ने सामान छन् भने खुल्ला राख्नु हुँदैन । धेरैजसो बस्ने वा सुत्ने ठाउँको भित्रतिर गह्रौं सामान वा तस्बिरू झुन्ड्याउनु हुँदैन । भत्किन लागेका वा भत्किएका दलिन, झ्यालढोका छन् भने फेर्नुपर्छ । ठूला–ठूला सिसाका झ्याल छन् भने त्यसको छेउमा बस्ने ठाउँ बनाउनु हुँदैन । त्यहाँ सिसाहरू छिट्टै फुट्न सक्छन् । कम्पन हुँदा बस्ने सुरक्षित ठाउँ पहिले नै पहिल्याउनुपर्छ । पिल्लरमुनि, ढोकामुनि जहाँ बलियो खापा र दलान हुन्छ । त्यसबाहेक टेबुल वा सोफा घोप्ट्याएर बस्ने सुरक्षित ठाउँहरूको पहिले नै परिवारका सदस्यहरूलाई जानकारी गराउनुपर्छ । भूकम्प जाँदा वा कम्पन हुँदा छोप्ने, ओत लाग्ने र अडिक रहने भूकम्पको मूल मन्त्र अपनाउनुपर्छ । कम्पन सकिएपछि मात्र सुरक्षित स्थानतर्फ लाग्नुपर्छ । लुकेर बस्दा सकेसम्म खुल्ला ठाउँ प्रयोग गर्नुपर्छ । 

आपत्कालीन अवस्थाका लागि आपत्कालीनद्वार एवं भर्‍याङ निर्माण गर्नुपर्छ । भूकम्पको बेला चाहिने टर्च लाईट, सलाई आदि सामग्री पनि सधैं सुरक्षित ठाउँमा राख्नुपर्छ । घरमा आगलागी हुने अवस्थामा पनि विचार पुर्‍याउनुपर्छ । आगो निभाउने पानी, बालुवा, भिजेको माटो, कपडा वा बोराहरू ठीक ठाउँमा व्यवस्थित गर्नुपर्छ । सधै पानीभरि राख्नुपर्छ भन्ने हाम्रो परम्परागत मान्यतालाई सही ठाउँमा प्रयोग गर्नुपर्छ । 

आपत्कालीन अवस्थामा दमकल, छरछिमेक, नातेदार, प्रहरी बिट, अस्पतालहरूको फोन नम्बर सुरक्षित राख्नुपर्छ । मोबाइल फोनमा पनि त्यस्ता सहयोगी एवं आपत्कालीन सम्पर्क नम्बर सुरक्षित राख्नुपर्छ । आपत्कालीन अवस्थामा चिउरा, चाउचाउ, बिस्कुट, चकलेट आदिलाई सुरक्षित राख्नुपर्छ 

यसैगरी औषधि, प्राथमिक उपचारमा प्रयोग हुने सामानहरू पनि एउटा बट्टामा सुरक्षित राख्नुपर्छ । यसलाई पनि खानेकुराहरू जस्तै समय–समयमा बदल्नुपर्छ । त्यस्ता औषधिहरूमा अति आवश्यक र प्रयोग भैरहने वा परिवारका सदस्यलाई आवश्यक पर्ने रोग हेरेर र शिशुहरू वा बूढाबूढीहरूलाई ध्यानमा राखेर सुरक्षित राख्नुपर्छ । त्यसबाहेक दैवी आपत्ति पर्दा चाहिने औषधिहरू पनि त्यसैसाथ सुरक्षित राख्नुपर्छ । 

त्यसैगरी कम्बल, तन्ना आदिलाई पनि घरको तल्लो तल्ला वा घर नजिकैको सानो स्टोरमा सुरक्षित गर्नुपर्छ । 

 Image