Successfully Copied

फूलका अनेक शैली

फुलेको फूलले कसको पो मन जित्दैन । ढकमक्क फुलेको फूलले जुनसुकै वातावरण नै रमणीय तथा मनमोहक बनाउँछ । जुन घरको वरिपरि विभिन्न फूल फुल्छन् त्यो घरमा बस्ने मानिसहरूको जीवन सकारात्मक हुन्छ ।

फुलेको फूलले कसको पो मन जित्दैन । ढकमक्क फुलेको फूलले जुनसुकै वातावरण नै रमणीय तथा मनमोहक बनाउँछ । जुन घरको वरिपरि विभिन्न फूल फुल्छन् त्यो घरमा बस्ने मानिसहरूको जीवन सकारात्मक हुन्छ । यसले मानिसमा एक प्रकारको उमंग पैदा गराउँछ । फूल मानिसको जीवनमा विभिन्न हिसाबले प्रयोगमा आउँछन् । सुख होस् वा दु:ख जुनसुकै समयमा फूलको प्रयोग हुन्छ । माया साटासाट गर्न होस् वा रिसाएका आफन्तीलाई फकाउन यो सशक्त माध्यम बन्छ । त्यसो त अहिले यसको प्रयोग शैली उच्च बनेको छ । हरेक उत्सव फूलबिना अपूरो बन्छ । विवाह होस् वा कुनै कार्यशाला कुनै न कुनै रूपमा फूलको प्रयोग हुन्छ । यसको धार्मिक, आध्यात्मिक, वैज्ञानिक एवं औषधीय महत्व छ । परापूर्वकालदेखि नै विश्वका हरेक देशमा फूलको प्रयोग कुनै न कुनै रूपमा हुँदै आएको छ । भ्यालेन्टाइन डे होस् वा महान् चाड दसंै तथा दीपावली, हरेक पर्व एवं अवसरमा फूलले रौनक ल्याउँछ । कसैको स्वागत, बिदाइ, उपहार आदान–प्रदान, भगवान् खुसी पार्न, सम्बन्ध गाँस्न, घर सजाउन आदि हरेक कार्यमा फूलको उपयोग हुन्छ । 

फूलको सजावट 

हिजोआज घर, अफिस, रेस्टुराँ वा कुनै सेमिनार गृह मौसमअनुसारका फूलले सजाएर राख्ने चलन बढिरहेको छ । फूललाई आफ्नो सुविधाअनुसार कोठा, टेबल, प्रवेशद्वार, डाइनिङ टेबल तथा कफी टेबलमा भासमा राखी सजाउने चलन छ । फूललाई विभिन्न तरिकाले सजाएर राख्न सकिन्छ । अहिले बजारमा विभिन्न प्रकारका कटफ्लावरहरू खरिद गर्न सकिन्छ । घरका विभिन्न कुनामा फूल तथा पात मिलाएर भाँडा, टोकरी वा कुनै बोतलमा फूललाई सजाएर राख्न सकिन्छ । यसले घरलाई प्रकृतिमय बनाउँछ । सुन्दर तथा रंगीचंगी फूल तथा पातहरूले ताजापन, स्वस्थ विचार तथा सकारात्मक भावनाको विकास गराउँछन् । फूलका साथमा हरियो पातले फूल सजावट जीवन्त बनाउँछ । फूल सजावट गर्दा चाँडो नओइलाउने, बलियो डाँठ भएको तथा चाँडै नगल्ने हुनुपर्छ । आफूले कस्तो स्थान तथा समयमा फूलको सजावट गर्न खोजिएको हो पहिले त्यो निक्र्योल गर्नुपर्छ । अहिले ग्लाडियस, कार्नेसन, जर्बेरा, गुलाफ तथा अर्किडलाई फूल सजावटमा प्रयोग गरिन्छ । 

सजावटका लागि उपयोगी फूलहरू

गुलाफ, कार्नेसन, गोदावरी, लिली, हेलिकोनिया, जर्बेरा, बर्ड अप प्याराडाइज ।

प्रयोग गरिने पातहरू 

पानी अमला, क्रोटोन, होस्टो, फर्न, आइमी, फेनपाय, पाम, रबर, मसुन्डा । 

बुके 

बुके अहिलेको समयमा हरेक कुरा आदान–प्रदान गर्ने सही माध्यम भएको छ । जुनसुकै उत्सव, अवसर तथा कार्यक्रममा बुकेको बढी प्रयोग भएको पाइन्छ । कुनै कार्यक्रममा अतिथिलाई स्वागत होस्, कसैले गरेको कार्यको उत्कृष्ट मूल्यांकन होस् वा कसैलाई खुसी व्यक्त गर्न होस् बुकेको प्रयोग हुने गरेको छ । विभिन्न प्रकारका फूल तथा विभिन्न बिरुवाका पातलाई प्रयोग गरी बनाइएको गुच्छालाई बुके भनिन्छ । बुके निकै आकर्षक हुन्छ । यसमा प्रयोग गरिने रंगीचंगी फूलको निकै ठूलो भूमिका हुन्छ । यो विभिन्न आकार–प्रकारमा निर्माण गर्न सकिन्छ । अहिले विभिन्न बास्केटमा पनि बुके बनाइन्छ । बुके घरमै पनि बनाउन सकिन्छ । बुके एकै रंग तथा विभिन्न रंगका फूलहरूको संयोजनबाट तयार गर्न सकिन्छ । यो आफ्नो रुचिमा भर पर्छ । बुकेलाई राम्रो तथा प्रभावकारी बनाउन यसमा विभिन्न सुगन्धित फूल प्रयोग गर्न सकिन्छ । मौसमअनुसार विविध प्रकारका फूलहरू प्रयोग गरी बुके बनाइन्छ । अवसर तथा व्यक्तिको छवि हेरेर बुके तयार गर्नुपर्छ । बुके तयार गर्दा पनि लामो समयसम्म टिक्ने फूल तथा बिरुवा प्रयोग गर्नुपर्छ । 

बुकेका लागि प्रयोग हुने फूलहरू 

कार्नेसन, गुलाफ, जर्बेरा, सेडी लिली, अर्किड, एन्थोरियम, डायन्थस, गोदावरी, ग्लाडियस, टुलिप, बर्ड अफ प्याराडाइज ।

माला 

माला विभिन्न उत्सवमा आवश्यक पर्छ । विवाह, व्रतबन्ध, सप्ताह, चूडाकर्म, पास्नीजस्ता हरेक उत्सवमा माला चाहिन्छ । त्यसैगरी दसंै–तिहारजस्ता ठूला चाडमा मालाको महत्व आफ्नै छ । विवाहमा दूबोको माला, दसंैमा जमराको माला तथा दीपावलीमा सयपत्रीको मालाको विशेष महत्व छ । त्यो भन्दा पनि भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली मालाको आफ्नै प्राथमिकता तथा महत्व छ । राम्रो माला सुन्दरताको पर्याय पनि मानिन्छ । यसले सुुन्दरता थप्छ । फूलका माला थरीथरीका हुन्छन् । आफ्नो कला तथा सिर्जनाअनुसार विविध माला तयार गर्न सकिन्छ । मालाका लागि लामो डाँठ भएको भन्दा डाँठ नभएको फूल उपयोगी हुन्छ । मालामा प्रयोग गरिने फूल छिट्टै नझर्ने, नओइलाउने तथा नघोच्ने हुनुपर्छ । माला सबै प्रकारका फूलबाट तयार गर्न सकिन्छ । मालाका लागि उपयोगी फूलहरूमा सयपत्री, गोदावरी, मखमली, गुलाफ, चमेली आदिलाई प्राथमिकता दिइन्छ । माला एकै आकारको फूलबाट बनाउँदा अझ राम्रो देखिन्छ । हिजोआज विवाहमा विभिन्न झल्लर बनाएर गाडी तथा मण्डप सजाउन पनि फूलको प्रयोग निकै बढेको छ । अहिले चोकचोक तथा विभिन्न कटफ्लावरका पसलहरूमा माला बिक्रीका लागि राखिएको पाइन्छ ।

ड्राइ फ्लावर 

ड्राइ फ्लावर आधुनिक शैलीको अवधारणा पनि हो । ताजा फूललाई आफूले राख्न चाहेको समयसम्म राख्न सकिँदैन । यो चाँडै ओइलाउँछ । यसलाई पटक–पटक बदल्नुपर्छ । दिनहँु फूल खरिद गर्नु त्यसलाई सदैव मिलाउनु व्यस्त जीवनशैलीका लागि गार्‍हो हुन्छ । यसको विकल्पमा हामी ड्राइ फ्लावर प्रयोगमा ल्याउन सक्छौं । फूललाई विभिन्न प्रकारले ड्राइ बनाएर फ्लावर भासमा सजाउन सकिन्छ । अहिले ड्राइ फ्लावर बजारमा खरिद गर्न सकिन्छ । यसलाई लामो समयसम्म प्रयोगमा ल्याउन सकिन्छ । विभिन्न बिरुवाका पात, सुकेका प्रेस्ड फ्लावर उपयोग गर्न सकिन्छ । यो पनि हेर्दा निकै आकर्षक देखिन्छ । यसलाई स्टिकमा खरिद गर्न सकिन्छ । सजावटका लागि यसमा विभिन्न डन्ठी तथा रंग प्रयोगमा ल्याउन सकिन्छ । 

 Image