Successfully Copied

एयर होस्टेजमा करियर

एयर होस्टेज भन्नेबित्तिकै प्रायः मानिसको दिमागमा सुन्दर र आकर्षक युवतीहरू मीठो मुस्कानसहित उडान सेवामा खटिएको तस्बिर अघि आउँछ ।

एयर होस्टेज भन्नेबित्तिकै प्रायः मानिसको दिमागमा सुन्दर र आकर्षक युवतीहरू मीठो मुस्कानसहित उडान सेवामा खटिएको तस्बिर अघि आउँछ । हो पनि, हरेक एयर होस्टेजलाई हेर्दा यस्तै पाइन्छ । हवाई यात्रा गर्दा लामबद्ध भएर भित्र प्रवेश गर्ने क्रममा हँसिलो मुहारमा आकर्षक र मृदुभाषी युवतीहरूले स्वागत गर्छन् । यात्रा सकिएर बाहिरिँदा पनि उसैगरी एयर होस्टेजले यात्रुहरूलाई मीठो मुस्कान र यात्राका लागि कृतज्ञता प्रकट गर्दै बिदाइ गर्छन् । एयर होस्टेजको पेसा नै यही हो । समय प्रतिकूल भए पनि काममा हुँदा उनीहरू मीठो मुस्कानका साथ निरन्तर सेवामा खटिनुपर्छ । यात्रुहरूको सेवामा तल्लीन हुनु एयर होस्टेजको काम र कर्तव्य हो । आकर्षक शारीरिक बनावट भएका, स्लिम तथा उच्च कदका सुन्दर युवतीको शैक्षिक योग्यता प्लस टु पूरा छ भने एयर होस्टेजमा जागिर पाइने सम्भावना प्रबल हुन्छ । अझ अंग्रेजीलगायत अन्य भाषामा दख्खल छ भने त सुनमा सुगन्ध हुन्छ । शारीरिक सुन्दरता एवं मिजासिलो स्वभाव भएका युवतीहरू एयर होस्टेजका लागि योग्य ठहरिन्छन् ।  

नयाँबानेश्वरस्थित एयर होस्टेज टे्रनिङ सेन्टरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सयौं नेपाली एयर होस्टेज उत्पादन गरिसकेको छ । एयर होस्टेजको कमाइबाट परिवार पाल्न सकिने भएकाले पनि एयर होस्टेजको भविष्य उज्ज्वल देख्छिन् बाह्र वर्षदेखि एयर होस्टेज उत्पादन गर्दै आएकी  इन्स्िटच्युटकी निर्देशक कमलेश पाण्डे । उत्कृष्ट तलब, विशेष जीवनशैली, विभिन्न देशको भ्रमण गर्ने अवसर, बहुभाषा, संस्कृति एवं पहिचान भएका मानिसहरूसँग भेटघाट हुनु नै यो पेसाका मुख्य आकर्षण हुन् । आन्तरिक उडानहरूमा अहिले न्यूनतम ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म तलब छ । यसका अतिरिक्त अन्य भत्तासमेत उल्लेख्य हुन्छ । यसैगरी अन्तर्राष्ट्रिय उडानमा कार्यरत नेपाली एयर होस्टेजले महिनाको ३ लाखसम्म कमाउन सक्छन् । 

नेपाली एयर होस्टेजहरू अहिले अन्तर्राष्ट्रिय उडानसमेत भर्न सक्षम भएका कारण आन्तरिक तथा बाह्य दुवै उडानमा एयर होस्टेज करियर उज्ज्वल हुँदै गएको निर्देशक पाण्डेले जानकारी दिइन् । 

एयर होस्टेज आकर्षक पेसा भए पनि विगतमा एयर होस्टेज पेसाप्रति सीमित युवती मात्र आकषिर्त थिए । अझ भनौं सहरिया एवं आधुनिक जीवनशैलीमा हुर्किएका युवतीहरू मात्र एयर होस्टेज बन्ने टे्रन्ड थियो । विकट बस्तीका युवतीहरूमा एयर होस्टेज कसरी बन्न सकिन्छ भन्ने कुराको खासै ज्ञान पनि थिएन । समय परिवर्तनसँगै एयर होस्टेज बन्ने युवतीहरूको संख्या पनि बढेको छ । 

धनगढीकी १८ वषर्ीया रोशनी मल्लमा एयर होस्टेज बन्ने सपना छ । विज्ञानमा प्लस टु  पूरा गरेकी मल्ल अहिले बानेश्वरस्थित एयर होस्टेज टे्रनिङ सेन्टरमा तालिम लिइरहेकी छिन् । तीन महिनाको तालिमपछि उनी एयर होस्टेजको आवेदनका लागि आफू तयार हुने बताउँछिन् । कुनै पनि विषयमा प्लस टु पूरा गरेका युवतीले तीन महिनाको तालिम पूरा गरेपछि मात्र एयर होस्टेजका लागि आवेदन भर्न पाउने प्रावधान छ । अग्लो कद र हँसिलो मुहार भएकी मल्ल ग्रुमिङ र यात्रुलाई कसरी सर्भिस दिने भन्ने विषयमा तालिम लिइरहेकी छिन् । एयर होस्टेज बन्न कम्तीमा ५ फिट २ इन्च अग्ली हुनुपर्छ ।  यस्तै आकर्षक उचाइ तथा सुन्दर रूपकी धनी सनिमा तुसुजु श्रेष्ठ पनि एयर होस्टेज बन्न तालिम लिइरहेकी छिन् । सामाजिक काम गर्ने तीव्र इच्छा बोकेकी काभ्रे धुलिखेलकी तुसुजु एयर होस्टेजमार्फत आफ्नो इच्छा पूरा गर्न चाहन्छिन् । यो पेसामा कमाइ पनि आकर्षक र जीवन शैली पनी सोचेजस्तै हुने कुरा बुझेकी तुसुजु एयर होस्टेजमा आफ्नो भविष्य उज्ज्वल हुने बताउँछिन् । 

एयर होस्टेज बन्ने सपना बोकेर सर्लाहीबाट काठमाडौं आएकी रशना कार्कीले जसरी पनि एयर होस्टेज नबनी नछाड्ने अठोट गरेकी छिन् ।  विमानस्थलको इतिहास र उडान  सेवाका बारेमा राम्रो ज्ञान भएकी कार्की आफ्नो परिवारको सपना पूरा गर्न आफूले एयर होस्टेजको तालिम लिइरहेको बताउँछिन्  । गोर्खा मानबुकी छुनु कार्कीका लागि एयर होस्टेज बन्नु नै जीवनको मुख्य लक्ष्य हो । व्यवस्थापनमा स्नातक तेस्रो तहको परीक्षा दिएर बसेकी छुनुका लागि आकाशमा उड्ने काम चुनौतीपूर्ण भए पनि अलग खालको जीवन यापन गर्न पाइने भएकाले यो रोज्जाको पेसा हो । पछिल्लो समय एयर होस्टेज नेपालका धेरै युवतीका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । 

 

 Image