Successfully Copied

समस्या ज्येष्ठ नागरिकको

आफ्ना सन्तानका लागि जति चिन्ता हुन्छ अभिभावकका लागि कमै हुन्छ । छोराछोरीका लागि आजको पुस्ताले जति खर्च गर्छ त्यति खर्च र लगानी आमाबुवामा कमै गर्छ भन्दा हुन्छ । डाँडामाथिको घाम अस्ताइहाल्न के बेर ? भन्ने सोचले अभिभावकहरू कम प्राथमिकतामा परेको विश्लेषकहरू बताउँछन्

आफ्ना सन्तानका लागि जति चिन्ता हुन्छ अभिभावकका लागि कमै हुन्छ । छोराछोरीका लागि आजको पुस्ताले जति खर्च गर्छ त्यति खर्च र लगानी आमाबुवामा कमै गर्छ भन्दा हुन्छ । डाँडामाथिको घाम अस्ताइहाल्न के बेर ? भन्ने सोचले अभिभावकहरू कम प्राथमिकतामा परेको विश्लेषकहरू बताउँछन् । ज्येष्ठ नागरिक हाम्रा सम्पत्ति र घरमुली हुन् भन्ने भावना कमैमा आउँछ । 

प्रस्तुति : लक्ष्मी भण्डारी थापा 

करुणा कुँवर, मनोविद्

डब्ल्युएचओको शोधले ३५ दशमलव ६ लाख ज्येष्ठ नागरिकमा डिमेन्सिया हुन्छ भनेको छ । मिडिल क्लासमा यस्ता समस्या बढी छन् । मनोरोग सबै रोगसँग मिसिएर आएको हुन्छ । ६० वर्षमै बूढो भयो भनिदिँदा, सेल्फकन्फिडेन्स कम हुँदै जान्छ र विभिन्न रोगले आक्रमण गर्न थाल्छ । ज्येष्ठ नागरिकमा निराशा वा उदासीपनलाई ओभर लुक गरिएको छ । मानसिक स्वास्थ्यको विषय जटिल छ जुन धेरैले बुझेका छैनन् । कतिपय बूढाबूढी छोराछोरीसँग कुराकानी गर्न पाए मात्र पनि फ्रेस हुन्छन्–त्यही हो मानसिक परामर्श । 

सामुदायिक विकास कार्यक्रमभित्र राखेर ज्येष्ठ नागरिकको मानोवैज्ञानिक कुरालाई अघि लानुपर्छ । उनीहरूलाई सुरक्षा र स्वतन्त्रता चाहिन्छ । परिवारबाट मन लागेका कुरामा प्रतिबन्ध हुने हुँदा उनीहरूमा मानसिक विचलन बढ्दै जान्छ । विदेशतिर ४० वर्षपछि सबै किसिमको लाइफ इन्जोय गर्न सकिन्छ भन्ने छ । यतिबेला सेक्स लाइफ पनि सक्रिय भएको पाइन्छ । यहाँ त ५० कटेपछि एउटै ओछ्यानमा सुत्यो भने पनि कुरा काट्ने चलन छ । युवाहरूले बुवा, हजुरबुवाको भावना बुझेका छैनन् जब कि ज्येष्ठ नागरिकलाई प्रेरणा दिन जीवनभर लुकाएर राखिएका खुबीहरू प्रस्फुटन गर्न दिनुपर्छ । 

द्वारिका ढुंगाना, वृद्धा

उमेर जति बित्दै गयो त्यति नै बढी चिन्ताले सताउँदो रहेछ । एक त शरीर गल्दै गएपछि केही काम गर्न सकिँदैन भन्ने चिन्ता अर्को कतिपयका हकमा आफूले इच्छा गरेका काम–कुरा गर्न नपाउँदाको चिन्ता । आफ्ना सन्तानको राम्रो भएको देख्न नपाउँदा त अझ त्यसै मन पोलेर आउँछ । हामी उमेर पुगेकाहरूमा आफ्ना सन्तानले इच्छाहरू बुझिदिऊन्, हामीसँग राम्रोसँग बोलिदिऊन् भन्ने लाग्छ । मुख्यत: आफ्ना सन्तानहरूले थोरै भए पनि समय दिए हुन्थ्यो भन्ने लाग्छ तर अहिलेको पुस्ता अत्यन्त व्यस्त छ । उसलाई आफ्नै काम गर्ने फुर्सद छैन, हामीसँग बसेर कुरा गरिरहन कसले भ्याउँछ र ? त्यसैले पनि पछिल्लो समयमा आएर सन्तान हुँदाहुँदै पनि कतिपय बुवाआमाहरू एक्लो महसुस गरिरहेका छन् । हामीलाई के चाहिन्छ र ? समयमा रुचेजति तातो खानेकुरा, सजिलो सुत्ने ओछ्यान त्यत्ति न हो । हामीलाई न बच्चालाई जस्तै महँगा स्कुल पढाउन परोस् न देश–विदेश घुमाउन लान परोस् । मेरो हकमा म आफूलाई भाग्यमानी आमा मान्छु किनभने मेरा सन्तानले मेरो इच्छा विपरीत गरेका छैनन् । सबैभन्दा ठूलो खुसीको कुरा मेरा सन्तान आ–आफ्नो क्षेत्रमा अब्बल र सफल छन् ।

लीलादेवी गड्तौला, सह–सचिव, निर्वाचन आयोग 

०५२ सालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐनको डाफ्टिङ हुँदा म पनि ड्राफ्ट कमिटीमा थिएँ । ०४९ भन्दाअघिको छलफलमा रिटार्यमेन्ट उमेर ६० थियो र ०४९ मा ५८ मा झारियो । मुलुकमा पर्याप्त रोजगारी नभएकाले यस्तो गरिएको हो । उक्त निर्णयले युवापुस्तामा फ्रस्टेसन पनि ल्याएको थियो । ज्येष्ठ नागरिकको पहिलो ड्राफ्टमा ६५ वर्ष रिटार्यडमेन्ट उमेर थियो । अहिलेसम्म संवैधानिक निकायका कर्मचारीको उमेर ६५ नै छ । पछि ऐन आउँदा ६० वर्ष नै गरियो । सोसियो कल्चर, रोजगार, डिमान्ड र पूर्ति हेर्छ सरकारले । पहिले वृद्धवृद्धा भत्ता १ सय ५० थियो । ०७१/०७२ सालदेखि ६० वर्ष पूरा भएका कर्णालीका सबै, दलित तथा विधवालाई मासिक ५ सय सामाजिक सुरक्षा भत्ता प्रदान गरिन्छ । अन्यले यो भत्ता लिन ७० वर्ष उमेर पुग्नुपर्छ । सरकारले ‘बहुजन हिताय, बहुजन सुखाय’ को नीतिअनुसार ऐन–कानुन बनाउँछ । तिमीले बाउ–आमा हेर्नुपर्छ, खान दिनुपर्छ भन्ने कुरा ऐनमा उल्लेख छ । देवानी संहिताले आमाबाबु तथा छोराछोरीको सम्बन्ध भन्ने च्याप्टर छ । तिम्रो हैसियतअनुसार बाउ–आमा पाल्नुपर्छ भन्ने ड्राफ्ट बनेको छ । हामी ड्राफ्टिङ कमिटीको एउटै आवाज थियो बूढाबूढीले दु:ख पाए । चाहे पुख्र्यौली सम्पत्ति खाऊ वा नखाऊ, तिमीले अभिभावक पाल्नैपर्छ भनेर ड्राफ्ट गरिरहेका छौं । २०६३ सालदेखि लागू हुने गरी कोर्टले पनि अदालति सजायमा विशेष छुट दिएको छ । ६५ देखि ७० वर्षकालाई २५ प्रतिशत, ७१ देखि ७५ का लागि ५० प्रतिशत, ७६ देखि ७५ प्रतिशत सजाय माफ हुनसक्छ । ७६ भन्दा माथिका अशक्त वृद्धवृद्धालाई हेरचाह केन्द्रमा पठाउने भनिएको छ । मुलुकभरका १३ वटा अस्पतालमा छुट्टै जेरियाटिक वार्ड बनिसकेको छ । औषधिमा छुट दिने नीति पनि बन्दैछ । 

ईश्वरी मरहठ्ठा, पूर्व एक्टिङ  डेपुटी डाइरेक्टर, समाज कल्याण परिषद् 

वृद्धवृद्धाहरूलाई आश्रम लाने वा घरमै राख्ने निक्र्यौल गर्नु जरुरी छ । घरमा राख्दा उनीहरूले मुलीको भूमिका, राम्रो शिक्षकको भूमिका खेल्न सक्छन् । वृद्धवृद्धाहरूलाई नाति–नातिनाहरूसँग पुराना कुरा सेयर गर्ने काममा प्रयोग गर्नुपर्छ । म परिषद्मा हुँदा ज्येष्ठ नागरिकका कुरा कम अनि महिला बालबालिकाका मुद्दा जल्दाबल्दा थिए । यद्यपि पछिल्लो समयमा सरकारले पनि ज्येष्ठ नागरिकलाई गम्भीरताका साथ सम्बोधन गर्न थालेको छ । सामाजिक सुरक्षाको दृष्टिले पनि वृद्धवृद्धाहरूलाई प्राथमिकतामा राख्न थालिएको छ । सरकारले पाल्नैपर्छ भन्ने कानुन त ल्यायो तर कसरी पालेको छ त्यसमा पनि ध्यान पुर्‍याउनुपर्‍यो । ज्येष्ठ नागरिकहरू ओल्डेज होममा लगेर राख्दा पो खुसी हुन्छन् कि ? उनीहरूलाई स्वेच्छामा छोडिदिनुपर्छ । सरकारले ल्याएको ज्येष्ठ नागरिकसम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्छ । 

डा. विशाल ढकाल, चिकित्सक तथा संस्थापक हेल्थ एट होम

उमेर बढ्दै जाँदा क्रनिक डिजिज बढी भएको पाइन्छ । ज्येष्ठ नागरिकहरूमा कुँजो हुने, हाड–जोर्नीको पीडा, हार्ट डिजिज, किड्नी, सुगरजस्ता समस्या बढी देखिन्छन् । वृद्धावस्थामा स्मरणशक्ति हराउनु आम समस्या हो । हामीकहाँ ६० वर्ष काटेपछि वृद्ध भनिन्छ तर ८० वर्ष नाघेपछि दीर्घरोग भए त्यो ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या हो । ज्येष्ठ नागरिकको हकमा हाम्रो पोलिसी रिभाइज हुनु जरुरी छ । हामीकहाँ ज्येष्ठ नागरिक भनेर कानुनले डिफाइन गर्ने एउटा अन्डरस्ट्यान्डिङ छ, सामाजिक बुझाइ अर्को छ । ज्येष्ठ नागरिक त्यतिबेला जोखिममा हुन्छन् जतिबेला सरकारले उनीहरूको संरक्षण गर्दैन । वृद्धवृद्धाहरूले व्यायाम गर्ने, वार्षिक चेकजाँच गर्ने आदि कामलाई नियमितता दिनुपर्छ । वृद्ध महिलाले स्त्रीरोग विशेषज्ञकहाँ वार्षिक चेकअप गराउनुपर्छ । पच्न सक्ने पोषिला खानेकुरा खानुपर्छ । उमेर भयो भन्दैमा यो खान हुँदैन त्यो खान हुँदैन भनेर प्रतिबन्ध लगाउनु हँुदैन । स्वास्थ्यले साथ दिँदासम्म मात्रा मिलाएर जे पनि खान सकिन्छ ।

दीपा देवान, सञ्चालक, द होप हर्मिटेज सिनियर सिटिजन्स होम, लाजिम्पाट 

एकल परिवार तथा बसाइ सराइका कारण ज्येष्ठ नागरिकहरूको समस्या बढ्दैको छ । चट्याङ मास्टरका अनुसार दोस्रो विश्वयुद्धअघि लडाइँका लागि चाहिने बन्दुक, बिस्कुट, कपडा बन्न थाले । युद्ध सकिएपछि सैनिकहरू घर गएपछि बालबच्चा बढी जन्मिए । हिजो बन्दुक बनाउनेले बच्चाका लागि कपडा बनाउन थाले, हिजो बिस्कुट र आर्मीका पहिरन बनाउनेले कपडा बनाउन थाले । आज बूढाबूढीका डाइपर बजारमा छ्यासछ्यास्ती पाइन थालेका छन् । हामी बुवाआमाको केयरका लागि परिवारका मानिसहरूलाई फोन गरेर बोलाउँछौं । हामी पढ्न दिने, टिभी देखाउने, योग–व्यायाम गराउने आदि काम गर्छाैं, जसले जे जानेको छ उक्त क्षमता प्रस्फुटन गराउने खालका क्रियाकलापमा सहभागी गराउँछौं  । गीत गाउन लगाउँछौं, नचाउँछौं र कविता वाचन गर्न लगाउँछौं । मन्दिरमा मात्र होइन चिडियाखाना पनि घुमाउन लान्छौं । अहिले सिनियर सिटिजन होम भन्नेबित्तिकै आमाबुवालाई वृद्धाश्रममा लगेर राख्यो भन्ने मान्यता छ । यस्तो धारणामा परिवर्तन ल्याउन जरुरी छ । आमाबुवाका लागि अत्याधुनिक सुविधासम्पन्न आवास खुल्नुपर्छ जहाँ उनीहरूले घरमा भन्दा बढी खुसी, सुरक्षा र हेरचाह पाऊन् । 

जानकी शाह, समाजसेवी तथा संस्थापक समपर्ण सेवा केन्द्र  

एनजिओहरू पनि इस्युबेस्ड मात्र भए । संस्थाहरू पनि महिला तथा बालबालिकामा बढी केन्द्रित छन् । वृद्धवृद्धाहरू ओझेलमा परेका छन् । वृद्धवृद्धाहरूमा पहिले–पहिले घरमा बस्ने हो सन्तानले पाल्छन् भन्ने थियो । वृद्धवृद्धालाई आत्मविश्वासी भएर बस्न सक्ने सरकारी नीति आवश्यक देख्छु म । डे केयर सेन्टर तथा ओल्डेज होमको अवधारणा मानिसहरूले बुझ्नुपर्‍यो । यो आमाबुवालाई हेला गर्ने सन्तानले लगेर फालिदिने ठाउँ होइन, यहाँ त जसले आमाबुवाको वास्तवमा चिन्ता गर्छ उसले उनीहरूलाई खुसी राख्न लाने ठाउँ हो । मिडियाले वृद्धवृद्धाका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्छ । सञ्चारमाध्यमहरूले यसमा वकालत गरिदिनुपर्छ । समग्रमा हाम्रो सोच बदल्नु आवश्यक छ । 

 Image