सक्रिय वृद्धवृद्धाहरू

सक्रिय वृद्धवृद्धाहरू

सिर्जना दुवाल श्रेष्ठ

श्रावण १०, २०७२

इच्छाशक्ति, जोस, जाँगर एवं शान्ति भयो भने जीवनमा कहिल्यै दु:ख हुँदैन । जन्मिएपछि वृद्ध हुनु स्वाभाविक हो । वृद्ध भएपछि युवावस्थामा जस्तो बल र स्वास्थ्य त पक्कै हुँदैन तथापि निरन्तर सिर्जनात्मक काममा लागिरहने बानी भएकाहरू जीवनको अन्तिम अवस्थासम्म पनि क्रियाशील हुन्छन् भने कतिपय वृद्धवृद्धा खानपान, जीवनशैली एवं स्वास्थ्यका कारण आफूलाई अरूको भरमा सुम्पिएर जीवनलाई बोझका रूपमा बिताइरहेका छन् । वृद्धावस्थामा स्वस्थ रहन बाल्यावस्थादेखि नै मनोवैज्ञानिक रूपमा सबल हुनुपर्ने मनोविद् डा. सचिन आचार्य बताउँछन् । डा. आचार्यका अनुसार वृद्धवृद्धाहरूलाई आसपासको वातावरण एवं मानवीय सोचले कमजोर बनाइरहेको हुन्छ । अब तपाईंले सक्नुहुन्न, हामी छँदैं छौं नि ? यो उमेरमा पनि कति काम गरिरहनुभएको जस्ता कुराले साँच्चै म बूढो भएँ कि भन्ने धारणा विकसित हुन्छ । यस्तो मनस्थितिले मानिसलाई कमजोर बनाउँछ । यसरी चुप लागेर खाँदै बस्न थालेपछि शारीरिक निष्क्रियताका कारण विभिन्न रोग लागी थलासमेत परिन्छ । यसरी धेरैजना उमेरका कारणले भन्दा मनको बाघले खाएका कारण कमजोर एवं रोगी  भैरहेका छन् ।

ललितकला एकेडेमीकी भ्वाइस चान्सलर ७४ वर्षीया कलाकार शारदा चित्रकार हुन् । उनको नियुक्त हुँदा कतिपयले उहाँको उमेर धेरै भैसक्यो अब उहाँले सक्नुहुन्न, यो पद त युवापुस्ताले पाउनुपर्छ भन्ने कुरा उठाएका थिए । यद्यपि शारदालाई त्यो जिम्मेवारी निर्वाह गर्न उमेर बाधक देखिएको छैन । उमेर भैसक्यो भनेर बसेको भए उनी घरमै थन्केर अन्य वृद्धाहरू झैं बस्थिन् होला तर उनी हरेक दिन जाउलाखेलदेखि नक्सालस्थित नाफामा गएर काम गरिरहेकी छिन् । सानैदेखि कला क्षेत्रमा रमाइरहेकी चित्रकार सात दशकपछि पनि उत्तिकै सक्रिय रहेर धेरैको मार्गदर्शक भएकी छिन् । चित्रकारका अनुसार कुनै व्यक्ति सिर्जनात्मक कार्यमा समर्पित छ भने ऊ जीवन रहेसम्म त्यत्तिकै सक्रिय रहन चाहन्छ । त्यसका लागि शारीरिक एवं मानसिक रूपमा उत्तिकै बलियो हुनुपर्छ । सकारात्मक सोच, हेल्दी खाना, ध्यान, योग तथा हिँडडुलले नै वृद्धावस्थामा पनि तन्नेरी जोसका साथ सक्रिय राख्ने उनको अनुभव छ ।

राजनीति, साहित्य, कला तथा समाजसेवामा उत्तिकै सक्रिय भद्रा घले पनि तन्नेरी जोस र मन भएकी वृद्धा हुन् । अविवाहित घले युवावस्थामा जति सक्रिय थिइन्, अहिले ८ दशक नाघिसक्दा पनि त्यत्तिकै सक्रिय छिन् । अहिले उनी भद्रा घले फाउन्डेसनमार्फत विभिन्न क्षेत्रमा काम गरिरहेकी छिन् । बिहान उठेदेखि राति नसुतेसम्म त्यत्तिकै सक्रिय घलेमा कतैबाट कार्यक्रममा निमन्त्रणा आए मात्र पनि पुग्ने स्वभाव छ । उनी साहित्य सिर्जना एवं कलामा पोक्त छिन् । उनका कला एवं साहित्यमा जीवन दर्शन पाइन्छ । मान्छेले भित्री मनैदेखि केही गर्ने सोच्यो भने त्यो पूरा हुन्छ । मानिसहरूले अब मेरो केही गर्ने उमेर छैन, सक्दिन, कमजोर छु भनेको सुन्दा उनलाई चित्त बुझ्दैन । घले भन्छिन्–हामी जति सक्रिय भएर निरन्तर चल्छौं हाम्रो शरीरका अङ्गहरू पनि एक्टिभ भएर लागिरहन्छन् जब हामी बूढो भयौं भनेर चुप लाग्छौं त्यसपछि हाम्रा अङ्गहरू पनि चुप लाग्न थाल्छन् अनि शरीरमा रोगहरूले डेरा जमाउँछन् । उनले भनेजस्तै धेरै मानिस यसरी नै चुप लागेर बसेपछि थला परेका धेरै उदाहरण छन् ।

कलानिधि इन्दिरा संगीत महाविद्यालयकी अध्यक्ष इन्दिरा श्रेष्ठ पनि उत्तिकै सक्रिय वृद्धा हुन् । उमेरले ८० लागे पनि संगीतप्रतिको उनको माया उत्तिकै छ । समय–समयमा पुल्चोकस्थित कलानिधिमा त्यहाँ अवस्था र वातावरण बुझ्न पुग्ने इन्दिरा तानपुरा बजाएर गाउने काम मात्र गर्दिनन् भक्ति संगीत सुनेर आफूलाई तन्दुरुस्त पनि राख्छिन् । उनको सक्रियता र जोस हेर्दा अरू पनि उत्साहित भएर काममा लाग्न बाध्य हुन्छन् । कामलाई उमेरले केही गर्दैन भन्ने इन्दिरा वृद्ध भएँ भन्ने सोच कमजोर मानसिकता मात्र भएको दाबी गर्छिन् । इन्दिरा भन्छिन्–म कमजोर छैन अझ गर्न सक्छु भन्ने सोचलाई बलियो बनाउन सक्नुपर्छ ।

मन सफा छ र कामप्रति इमान्दारिता छ भने वृद्ध हुँदैमा जोकोही निष्क्रिय हुँदैन । संस्कृतिविद् सत्यमोहन जोशी ९६ वर्षका हुँदा पनि त्यत्तिकै सक्रिय छन् । कतै कार्यक्रममा जाने क्रममा हिँड्दै गन्तव्यसम्म पुग्ने उनको बानी अझै जस्ताको तस्तै छ । रोगले च्यापेर गत वर्ष बिरामी भएर घर फर्कंदा पनि उनमा लोभलाग्दो उत्साह देखिन्थ्यो जसले हरेकलाई सक्रिय हुन झकझक्याउँछ ।

डा. अरुणा उप्रेतीका अनुसार जसले सरकारी जागिरमा काम गरेर ६० वर्षको उमेरमा रिटायरमेन्ट लिन्छन् उनीहरूमा आफू बूढो भएँ भन्ने मानसिकता बढी पाइन्छ । अब म रिटायर भएँ, मरिमेटेर काम गर्ने दिन छोरा, नातिको । अब म आनन्दले सुतेर खान्छु भन्ने सोचले नै गर्दा वृद्धावस्थामा मानसिक एवं शारीरिक रूपमा कमजोर भएर धेरै रोगसँग लड्नुपरेको हो । कुनै मेसिन धेरै दिनसम्म नचलाई थन्काएर राख्यो भने बिग्रन्छ, खिया पर्छ । मानिसको शरीरको अङ्ग पनि त्यस्तै हो, जे काम गर्दै आएको हो, वृद्ध भएँ भनेर त्यो कामलाई चटक्कै छोडेर सुतेर खान थालियो भने चलायमान अङ्गहरू पनि निष्क्रिय हुन्छन् । त्यसैले सरकारी जागिरे हो भने रिटायर भएपछि पनि फेरि त्यही कामसँग सम्बन्धित कुनै काम गर्न सकिन्छ । नयाँ काम नयाँ जोसका साथ गर्दा शरीर मेन्टेन भएर बुढ्यौली महसुस हुँदैन र त्यत्तिकै क्रियाशील भइन्छ ।

लगनखेलकी मिरा श्रेष्ठ बैंकबाट रिटायर्ड भएपछि चुप लागेर बसिनन् । उनले आफ्ना रिटायर साथीहरूसँग मिलेर सहकारी खोलिन् । बैंकबाट रिटायर भए पनि शून्यबाट फेरि नयाँ काम थाल्दा त्यत्तिकै जोस, जाँगरका साथ सक्रिय हुनु जरुरी थियो त्यसैले सहकारीलाई राम्रो बनाउन उनी तन, मन र धनले लागिपरिन् । रिटायर नभै पुन: काममा लाग्दा आफ्नो उमेरको समेत पत्तो नभएको श्रेष्ठले बताइन् । मिरा धेरै ठाउँमा हिँडेरै पुग्छिन् । मानिसहरूको भीडमा रमाउने श्रेष्ठ कुराकानीमा व्यस्त रहन्छिन् जसले गर्दा उनले मनमा कुरा खेल्ने, तनाब लिने अवसरै पाइनन् ।

ठमेलकी कल्पना ढकाल चार जना छोराछोरीकी आमा हुन् । समाजसेवामा रुचि राख्ने ढकालले श्रीमान्सँग मिलेर वृद्धाश्रम खोलेकी छिन् । उनका सबै छोराछोरी राम्रा ठाउँमा छन्, आनन्दले बस्नुहोस् न अब त भन्छन् तर उनको मन मान्दैन । त्यसैले ढकाल कुनै न कुनै काममा व्यस्त रहन्छिन् । उनी शोभा भगवती मन्दिर समितीकी कोषाध्यक्ष समेत हुन् ।वृद्धाश्रम हेर्ने, कतै केही सहयोग गर्नुपर्‍यो भने मन खोलेरै लाग्ने ढकाल छोरी बाहिर हुँदा छोरीको बुटिकमा समेत ग्राहक, मास्टर तथा कामदारहरूसँग डिल गर्न पुग्छिन् । उमेरले कामलाई छेक्दैन त्यो त मनको चाहना हो भन्ने ढकाल कुनै पनि काम सानो–ठूलो नहुने र आफूले जे गर्न सकिन्छ त्यही गरेर जीवनलाई सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गर्छिन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>